काभ्रेको महाभारत गाउँपालिकामा पहिलो पटक पूर्ण विद्युत्तिकरण

३४ सय १७ घर धुरीमा बल्यो बत्ती 



काभ्रे। 

जिल्लाको विकट महाभारत गाउँपालिकामा पहिलो पटक बिजुली बत्ती पुगेको छ । गाउँपालिकाका ३ हजार ४ सय १७ घर धुरीले बिहीबारबाट बिजुली बत्तीको उपभोग गर्न पाएका छन् । जिल्लाको खानिखोला गाउँपालिका अझै पूर्ण विद्युत्तिकरणबाट वञ्चित छ । एकै पटक दुवै पालिकामा सुरु भएको आयोजना बजेट अभाव, कोरोना महामारी तथा विकटताका कारण समयमै सम्पन्न हुन नसकेको हो ।

ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेत र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले संयुक्त रुपमा उक्त सेवाको प्रारम्भ गरे । कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले सरकारले नेपालका सबै नागरिकहरुको घरमा सहज रुपमा बिजुली बत्ती पु¥याउने योजना सफल हुँदै गएको बताए ।

 कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा उत्पादित बिजुली निर्यात गर्न लागेको बताउँदै बिजुलीको उपभोग बढाउन, लागत कम गर्न र निर्यात मार्फत मुलुक समृद्धि बनाउन प्रयत्न जारी रहेको बताए । विकटतामा पनि अति विकट मानिएको महाभारत गाउँपालिका विद्युत्तको केन्द्रीय प्रसारण लाईनसँग जोडिएर उज्यालोमा बस्न पाउँदा हर्षित भएको अध्यक्ष जिम्बाले बताए । ‘सामान्य भन्दा सामान्य आवश्यकताका लागि पनि बत्तीको आवश्यकता थियो, विकासको नयाँ युगमा प्रवेश गर्दा समेत गाउँपालिकाका नागरिकहरु अन्धकारमा बस्न बाध्य थिए’–अध्यक्ष जिम्बाले भने–‘संघीयताले विकासको नयाँ मुहार फेर्न सफल भएको छ । तीन तहका सरकार निर्माण पछि सुरु भएको महाभारत उज्यालो यात्राको क्रमले सफलता पाएको छ ।’

महाभारत गाउँपालिकाका ३४ सय १७ घर धुरी पहिलो पटक पूर्ण रुपमा विद्युत्तिकरण भएका छन् । पहिलो चरणमा १ अर्ब ५६ करोड बजेट विनियोजन भएकोमा ८३ करोड रुपैया महाभारत र खानीखोलाका लागि ठेक्का सम्झौता भएको थियो । पछिल्लो ठेक्कामा ४३ करोडमा सम्झौता भएको थियो ।

महाभारतमा मात्रै ५० करोड भन्दा धेरै खर्च पूर्ण विद्युत्तिकरणमा खर्च भएको आयोजनाले जानकारी दिएको छ । ‘२०७४ सालमा स्थानीय तहमा जनप्रतिनिधी निर्वाचित भए लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपाबाट निर्वाचित जिल्लाका सांसदहरु गंगाबहादुर दोङ्ग, गोकुलप्रसाद बास्कोटा, रत्न ढकाल, चन्द्र लामा, गोमा भुर्तेल लगायतलाई महाभारत पु¥याएर डाँडापारीका समस्या लिपिबद्ध गरेर बुझायौँ’ – गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले भने – ‘महाभारत र खानिखोलाबासीलाई बत्तीको अध्यारोबाट मुक्त गरी उज्यालोमा बस्न पाउने अधिकारको प्रत्याभूति गर्ने प्रतिबद्धता तत्कालै प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारले ग¥यो । नेपाल सरकारले १ अर्ब ५६ करोड रकम विनियोजन गरी कार्य प्रारम्भ ग¥यो ।’ रकम अपुग भएका कारण अधुरो रहेका आयोजना समापन गर्न पुनः ३० करोड रकम विनियोजन भयो । तर पनि कोरोना महामारी तथा विविध कारण कार्य सम्पन्न हुन सकेको थिएन । जेठ ३१ गते बिहीबारबाट महाभारतका पुरै वडाका सबै घरधुरीमा पहिलो पटक मिटर जडान गरी विद्युत् उपलब्ध गराइएको छ ।

‘गाउँपालिकाले घरमा जडान गर्ने मिटर खरिदका लागि एक हजार अनुदान उपलब्ध गराएको थियो’ – गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भने – ‘बाँकी रकम स्वयं घरधनीले बेहोर्ने गरी हरेक घरधुरीमा मिटर जडान गरी वायरिङको कार्य सकियो । नियमित परीक्षण पनि सकिए पछि उद्घाटन गरिएको हो ।’


केन्द्रीय प्रसारण लाइन नभएका कारण महाभारतमा उद्योग कलकारखाना सञ्चालन हुन सकेका थिएनन । लघु जलविद्युत्त, सोलार तथा अन्य बैकल्पिक उपायबाट रातको समयमा उज्यालो देखिने गरेको थियो । भूकम्प पछि सोलारको प्रयोग बढेको थियो । त्यस अघि लघुजलविद्युत्त आयोजना सञ्चालन भए पनि दिगो रुपमा सञ्चालन हुन सकेका थिएनन् । मोबाइल टाओरका लागि पनि सोलारका कारण असहज भएको थियो । घाम नलागेको समयमा मोबाइल नेटवर्क हुँदैन थियो भने स्थानीयहरुलाई अन्य कार्यका लागि बत्ती नहुँदा असहज हुँदै आएको स्थानीयहरुले बताए । राजमार्ग निर्माण, पुल तथा अन्य पूर्वाधार निर्माणले विस्तारै फड्को मार्दै गएको महाभारतका नागरिकहरुले उत्पादन सहज रुपमा बजार पु¥याउन सक्दा आर्थिक रुपले समेत सम्पन्न हुँदै जाने सहभागीहरूले बताए ।

सबै घरमा बिजुली, खानेपानी तथा स्वास्थ्य, शिक्षा र सडक सहितका पूर्वाधार पु¥याउने गरी कार्य भइरहेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत हरिसिं विष्टले बताए । विकट भएका कारण धेरै कुराको अभाव भएकाले स्थानीय सरकार निर्वाचित भए पछि विकासका आधारभूत आवश्यकता पुरा हुन थालेको विष्टले बताए । निरन्तरको सक्रियताका कारण गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा सहितको स्थानीय सरकार, स्थानीय नागरिक तथा नेपालका सरकारका विभिन्न तहका जिम्मेवारी ब्यक्तिहरु, जिल्लाका जनप्रतिनिधीहरुले महाभारतलाई उज्यालो बनाउने अभियानमा साथ दिएकोमा अध्यक्ष जिम्बाले धन्यवाद दिए । उनी दोस्रो पटक पनि गाउँपालिकाको अध्यक्ष पदमा विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्