नेपाललाई एक अंक



काठमाडौं ।

अमेरिका र वेस्ट इन्डिजमा जारी क्रिकेट टी २० विश्वकपमा नेपालले एक अंक जोडेको छ। समूह डी अन्तर्गत नेपाल र श्रीलंकाविचको खेल वर्षाको कारण रद्द भएपछि दुबै टोलीले एक–एक अंक बाँड्न बाध्य भए। नेपालले दुई खेलबाट एक अंक जोड्दा श्रीलंकाको ३ खेलमा एक अंक भएको छ। श्रीलंकाको सुपर ८ को संभावना लगभग अन्त्य भएको छ।

उक्त खेल रद्द भएपछि यस समूहको शीर्ष टोली दक्षिण अफ्रिका सुपर ८ मा पुगेको छ। दक्षिण अफ्रिकाले तीन खेल जितेको छ। अब, यस समूहबाट एक टोली मात्रै सुपर ८ मा पुग्न सक्नेछ । जसको लागि नेपाल, बंगलादेश र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हृुनेछ।

नेपालले सुपर ८ मा पुग्न दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेल जित्नुपर्छ । तर, यो अवस्थामा नेदरल्यान्ड्सले खेल जित्नु भएन । यदि २ अंकको नेदरल्यान्ड्सले बचेको दुबै खेल जितेमा भने नेपालले दुबै खेल जितेपनि सुपर ८ मा पुग्न सक्दैन ।

अस्ट्रेलिया सुपर ८ मा

उपाधिको दावेदारी अस्ट्रेलियाली टोली जारी टी २० विश्वकपको सुपर ८ मा पुगेको छ । बुधबार भएको खेलमा नामिबियालाई ९ विकेटले हराउँदै अस्ट्रेलिया सुपर ८ मा पुगेको हो । पहिले ब्याटिङ गरेको नामिबियाले दिएको मात्र ७२ रनको लक्ष्य अस्टे«लियाले मात्र ५.४ ओभरमा एक विकेटको क्षतिमा हासिल गरेको थियो ।

जारी विश्वकपमा अस्ट्रेलियाबाहेक अन्य टोलीले ५/६ ओभरमै ७० रन बनाउन सकेको छैन। अस्ट्रेलियाका लागि ट्राभिस हेडले १७ बलमै ३४ रन बनाए भने मिचेल मार्शले ९ बलमा १८ रन जोडेका थिए । यस्तै, डेभिड वार्नरले ८ बलमा २० रनको योगदान दिए।

यसअघि अस्ट्रेलियाका लेगस्पिनर एडाम जाम्पाले टी २० अन्तर्राष्ट्रियमा एक सय विकेट लिन सफल भए । उनले नामिबियाविरुद्ध १२ रन खर्चेर ४ विकेट लिएका थिए । जोश हेजरवुड र मार्कुस स्टोइनिसले २—२ विकेट हासिल गरेका थिए ।

इंग्ल्यान्ड बाहिरिने संभावना

समूह बी मा अस्ट्रेलिया ६ अंकसहित शीर्ष स्थानमा छ भने स्कटल्यान्डको ५ अंक छ। डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डको भने एक अंक मात्रै छ। इंग्ल्यान्डले ओमान र नामिबियाविरुद्ध जित हासिल गर्नुपर्नेछ । तर, दुबै खेलमा जित हासिल गरेपनि इंग्ल्यान्ड बाहिरिने संभावना छ। यदि स्कटल्यान्डले जित वा पानी परेर एक अंक बनाएमा इंग्ल्यान्ड समूह चरणबाटै बाहिरिनेछ।

प्रतिक्रिया दिनुहोस्