कायरहरु भुक्छन्, बहादुरहरु संघर्षमै होमिन्छन्



वि.सं. २०३८/०३९ मा नेपाल राष्ट्रिय शिक्षक संगठनले चलाएको देशव्यापी शिक्षक संघर्षका बेलाको एउटा घटना सन्दर्भवश यहाँ उल्लेख गर्न चाहन्छु।
त्यति बेलाको गण्डकी अञ्चलअन्तर्गतको एउटा जिल्लामा शिक्षक संघर्षका क्रममा आयोजित एउटा आमसभामा एकजना काङ्ग्रेसी शिक्षकले सभाको एकछेउमा उभिएर चर्को आवाजमा राष्ट्रिय शिक्षक संगठनका विरुद्ध विविध आरोप लगाए।

आरोप सर्वथा गलत थियो र उपस्थित शिक्षकहरुले ती शिक्षकलाई विक्षिप्तजस्तै ठानेर बेवास्ता गरिरहेका थिए । यसै बीच सभाका मञ्चमा सम्मान पाएर बसेमध्येका त्यसै जिल्लाका हट्टकट्टा खाइलाग्दा व्यक्तित्वका एक शिक्षक कुर्सीबाट जुरुक्क उठेर पाखुरा सुर्कंदै के–के न गर्छु जसरी कराउन थाले– ‘साथी हो, यस पागललाई म ठाउँका ठाउँ ठीक पार्छु। संगठनमाथिको यो यस्तो आरोप म सहन सक्दिन । मेरो शरीर जाज्वल्यमान भयो। अब म त्यसलाई समातेर पछार्छु । लातका लात भकुर्छु । साथी हो, मलाई समात । समात साथी हो ! मलाई समातेनौ भने यहाँ अनर्थ हुन सक्छ । मलाई समात !’

मञ्चमा बसेका सबै प्रतिष्ठित शिक्षकहरु र सम्मानित अतिथिसमेतले ती पाखुरा सुर्केर कराउँदै गरेका शिक्षकलाई मुसुमुसु हाँस्दै हेरे । कोही अघि सरेर समातेनन्। २–३ मिनट कराएपछि शून्य सहनशीलताका ती आक्रामक शिक्षक कालो–नीलो अनुहार पारेर अघि बसेको कुर्सीमा गएर थपक्क बसे । सभा पुनः आफ्नो गतिमा सञ्चालन भयो । त्यति बेला यस घटनाले राष्ट्रिय चर्चा पाएको थियो । उत्ताउलो र हुतिहारा हाँक कतै कसैको सुनियो भने शिक्षकहरु त्यो दृष्टान्त दिन्थे र भन्थे– ‘कायरहरु भुक्छन्, बहादुरले तत्काल कठालो समात्छ ।’

अहिलेको यो खोल्द्यूँ खोल्द्यूँ प्रसंग लगभग त्यस्तै हो । तर पनि आजको राजनीतिक तथा कर्मचारी वृत्तमा यसैबाट आतंकित हुनेहरु पनि छन् । ‘लौ न के गर्ने ? त्यो त्यहाँ पुगेको नयाँ मान्छेले त खोल्द्यूँ भन्छ ! खोलुँ–खोलुँजस्तो पनि गर्छ । फ्यास्स खोल्दिन के बेर ! खोलेपछि त खोलिहाल्यो नि !’ ‘हैन, कसको के खोल्ने ? उसको खोल्ने कि हाम्रो खोल्ने ? महाभारतमा राजसभाका बीच दुःशासनले रानी द्रौपदीको सारी खोल्याथ्यो हैन ?’ ‘अँ खोल्याथ्यो । अनि के भो त ?’

‘अनि के भो ? त्यो पनि सोध्ने कुरा हो ? दुनियाँका अगाडि निर्वस्त्र भएपछि अनि के भो ? मुख देखाएर हिँड्न नहुने भो । अरु के भो ?’

‘मुख देखाएर हिँड्न नहुने भए जे खोल्यो त्यही देखाएर हिँड्ने नि ! भ्रष्ट भइसकिएपछि अब केको लाज ? रह्यो सभाको कुरो । यहाँ सभा पनि छैन, द्रौपदी पनि छैनन् । दुःशासनले यहाँ कसको के खोल्छ ? आफ्नै कन्धनी छिन्ला–छिन्लाजस्तो छ । त्यस्ताले कसको के खोल्छ । जे खोल्छ आफ्नै खोल्छ । कन्धनी नै चुँडिएपछि सबै छरपस्ट । जे खुल्छ अब दुःशासनकै पनि खुल्छ ।’

‘फेरि पनि खोल्द्यूँ ? खोल्द्यूँ ? भन्यो । आज पनि भेट्नेबित्तिकै भन्यो । कति मात्तिएको होला ? लौ न के गर्ने ?’
‘के खोल्द्यूँ भन्यो ?’

‘फाइल खोल्द्यूँ ? भन्यो ।’
‘फाइल भनेको त्यसको बाउको लगौँटी हो ? कि त्यसकै लगौँटी हो ?’
‘फाइल भनेको हाम्रो पनि लगाँैटी हो । प्रत्यक्ष र प्रतिपक्षमा रहेका हामी सब भ्रष्टहरुको लँगौटी हो ।’
‘त्यसो भए मुलुकका ठूलाबडाजति आज फाइलकै लगाँैटी लगाएर बस्या छन् ?’
‘खै के हो, के हो ? फाइलले ठूलाबडाको लँगौटी लाएको हो कि, ठूलाबडाले फाइलको लँगौटी लगाएको हो । हिजोआज जहाँ जे कुरामा झगडा परे पनि एकले अर्काको फाइल खोल्द्यूँ भन्छ ।’

यी आज समाजमा यत्रतत्र सुनिने संवादहरु हुन् । ‘बिचराहरु कति दीनहीन र दुःखी छन् । फाइल खुल्ला कि भन्ने डरले रातरातभरि निदाउँदैनन् । निदाउने तालसुर मिल्ला कि भनेर कहिले दिल्ली, कहिले टोकियो र कहिले वासिङ्गटन पनि पुगेका छन् । जसरी पनि कमाउने दुव्र्यसनले सिट्ठन भएका बिचरा निशाचर–निशाचरीहरु बल्लतल्ल आँखा लाग्दा सपनामा पनि झस्कन्छन् र खोल्यो–खोल्यो भन्दै जुरुक्क उठ्छन् ।’

‘यिनका तमाम करतुतहरुको फाइल त खोल्नै पर्ने हो । तर एउटा सिसाघरेले अर्को सिसाघरेलाई ढुङ्गा हान्न सक्छ र भन्या ? आफू सिसाघरे नरहेको भए र निर्दोष एवम् निर्भीक मुटुको देशभक्त नेपाली रहन सकेको भए ठाउँमा पुगेकै दिनबाट एक–एक बदमासहरुको फाइल खोल्थ्यो । खोल्द्यूँ–खोल्द्यूँ भनिरहँदैनथ्यो ।’

जनताबीच यस्ता टिप्पणीहरु पनि सुनिन्छन् । आजका नेपाली जनता हिजोका जस्ता छैनन् । हरेक दृष्टिले सचेत बनिसकेका छन् ।
‘भुक्ने कुकुर टोक्दैन, टोक्ने कुक्कुर भुक्दैन । कायर बढी कराउँछ । शूरवीर बढी बोल्दैन । शूराको त काम बोल्छ ।’ यो आम नेपालीको परम्परागत अनुभवको अभिव्यक्ति हो ।

‘अब यो फाइलकाजीले फेरि पनि खोल्द्यूँ ? भन्यो भने र भ्रष्ट बडाकाजीहरुले ल खोल्दे । अहिल्यै यत्ति बेलै खोल्दे भनेर नाइटो देखाइदिए भने ? कुइँ–कुइँ गर्दै टाङमुनि पुच्छर लुकाएर भाग्ने त हैन ?’

‘भागेन भने ? खोलेर तिनका टाउकामा पिसाब गरिदियो भने ? अथवा तिनका टाउकोमा टुक्रुक्क बसेर अजीर्ण छेरी नै दियो भने । त्यो बीभत्स रस कुन नाकले थाम्ने ?’ कति भ्रष्टहरु डराएका पनि छन् ।

त्यसरी भ्रष्ट बडाकाजीहरुकोे टाउकाकै दोहोलो काढ्न त सगरमाथाजत्तिकै उच्च नैतिक बल हुनुपर्छ । दाह्री भएर पुग्दैन, इमानदारी हुनुपर्छ, समझदारी हुनुपर्छ, बफादारी हुनुपर्छ, बहादुरी पनि हुनुपर्छ ।

आफ्ना लाजमर्नु करतुतका फाइल लुकाउन अरुका फाइल खोल्द्यूँ ? खोल्द्यूँ ? भन्नेले के खोल्छ ? बित्यास पर्दा शौचालयको खापा पनि खोल्न सक्दैन भन्नेहरु पनि छन् । यसले जति चुरीफुरी गरे पनि फाइल समाती बस्ने हातहरु आफ्नै मान्छेका छन् । तिनीहरु स्वयम् भ्रष्ट हुन् र तिनले ज्यान गए पनि फाइल खुल्न दिँदैनन् भनेर ढुक्क हुने भ्रष्ट बडाकाजीहरु धेरै छन् । देश जनताको नियति अझै यतैतिर अल्झिएको छ कि जस्तो पनि लाग्छ ।

‘चोरलाई जुनकिरीको पिलपिलसित पनि डर लाग्छ । घट्टमा सुतेकालाई डाँडापारि मेघ गर्जंदा पनि डर लाग्छ । पत्करलाई मामुली हावाको कुरा सुन्दा पनि डर लाग्छ । सुकेको खरलाई सलाईको काँटीसँग डर लाग्छ । झुलोलाई चकमकसँग डर लाग्छ । अझ मुटु कमजोर बनिसकेका मनुवालाई त कसैले एउटा खाली बोतल उठाएर बिर्को खोल्द्यूँ भन्यो भने पनि डर लाग्छ । यस्तो यो स्वाभाविकताको पक्ष पनि छ ।’

हो, गल्ती गरिआएकाहरुलाई डर लाग्छ । जो गल्ती गरिआएको छैन र यथार्थ द्रष्टा पनि छ, उसलाई डर लाग्दैन । उसले त अगाडिको दृश्य हेर्छ । नाटक हो कि यथार्थ हो, त्यो हेर्छ । नियालेर हेर्नेले देख्छ– खाली बोतल लिएर खोल्द्यूँ भन्नेकै हातमा पो छ बिर्को ? अहिले जसले खोल्द्यूँ–खोल्द्यूँ भनिरहेको छ, ऊ स्वयम् एक खाली बोतल त होइन ? गम्भीर अवलोकनले देखाउँछ, जसले चुरीफुरीका साथ खोल्द्यूँ–खोल्द्यूँको अभिनय गरिरहेको छ ऊ स्वयम् एक खाली बोतल हो, सन्जोगवश अहिले ऊ आफैँ उखानतुक्काका हातमा परेको छ । बोतललाई रित्तो र निरर्थक देखाइदिन र आफ्नो वर्चश्व बढाउन उखानतुक्काले दह्रो किसिमले सामनीति प्रयोग गरेको छ । उखानतुक्कामा लामो अनुभव छ । दूरदर्र्शिता छ। चाहिनेभन्दा बढी चलाखी पनि छ । धीर गम्भीर खेलाडी मानसिकता लिएर बोतलसँग खेलिरहेको छ उखानतुक्का । बिचरो बोतल आफैँ निरीह छ। प्रतिक्षण ऊ आफैँ निरर्थकतामा खुल्दै र छ्याङ्ग हुँदै आएको छ। आफैँ अर्काका हातमा परेको बिचरो बोतलले कसको के खोल्छ ? सर्पका मुखमा परेको भानुभक्तको भ्यागुतोले अगाडि आकाशमा उडिरहेको डाँस समातेर खान खोजेजस्तै विरह लाग्दो विडम्बना पनि हो यो । जो यो खोल्दे सिमसिम नाटकमा सम्मिलित छन् ती त अभिनेता हुन् । अभिनयमै तल्लीन छन् । बुझेर नबुझेर, जानेर नजानेर अभिनयमै तल्लीन छन् । कहाँ के हुँदै छ, त्यसको थाहा समेट्ने त दर्शकहरुले हो ।
हाम्रा दर्शकहरु अलि भावुक बढी छन् । भावुकता पुराण–श्रोताहरुलाई काम लाग्ला, वर्तमानका द्रष्टाहरुलाई त विवेकशीलता काम लाग्छ । आजको विकसित परिवेशमा जाबो एक्सरे मेसिनले जति पनि काम गर्न नसक्ने आँखा के आँखा ?

कति मानिसहरु आज तथ्यबोधको साधनामा पनि छन्। ‘सिरोहियाजस्तो बहुआयामिक शक्ति जुक्तिको खतरनाक मकरमत्स्यलाई यति फितलो आरोपको चयन किन ? आरोप चयनमै पनि उखानतुक्काको करामत त छैन ? नचिनेका भ्रष्ट बडाकाजी त होइनन् नि । हुन् र ?’ यसरी प्रश्न गर्नेहरु पनि छन् नेपाली समाजमा ।

राजनीतिक व्यवहारका दृष्टिले हेर्दा बिर्सन नहुने खाँटी कुरा के पनि छ भने, ‘यं विनिन्दन्ति राजानः यं विनिन्दन्ति तस्कराः । बान्धक्याः यं विनिन्दन्ति स पार्थ पुरुषोत्तमः ।’ अर्थात् सत्ता राजनीति गर्नेहरु, तस्करहरु, मोल पाएपछि जसको पनि हुन सक्ने बिकाउ चरित्रका व्यक्तिहरु, जसको जमेर निन्दा गर्छन् ती असल मान्छे प्रायः असल नै हुन्छन् । –महाभारत अनुशासनपर्व ।

नेपालमा नेपाली काङ्ग्रेसले जसको विरोध गर्छ, त्यो असल मान्छे हुनुपर्छ । जसको काङ्ग्रेसले प्रशंसा गर्छ, समर्थन गर्छ, त्यो खराब मान्छे हुनुपर्छ । खराब मान्छेको काङ्ग्रेसले विरोध गर्दैन, समर्थन गर्छ । इतिहाससिद्ध यस कोणबाट हेर्दा आज चर्चामा आएकामध्ये को–कति के हो दूधको दूध पानीको पानी छुट्टिएको हेर्न अझ केही दिन पर्खनुपर्ला कि ?

हुन त ‘खोल्द्यूँ–खोल्द्यूँ’ र ‘खोल्ला कि ?’ ‘खोल्ला कि ?’ दुवै एउटै विषवृक्षका विभिन्न हाँगाहरु हुन् । भूमिका नाटकीय हो र निर्देशकको सोचअनुसार आवश्यकता देखिए यूँ परिवर्तन हुन पनि सक्छ । सबै हाँगाहरु सत्ता प्राप्ति र भोगचलनका पक्षधरहरु हुन् । देश जनताका लागि यिनमा फुल्ने, फल्ने ‘बिखै’ हो । आजका दिनमा जनताका लागि त अवस्था परवर्तनको भूलभुलैया होइन, व्यवस्था परिवर्तनको आवश्यकता हो । टड्कारो आवश्यकता हो । यसैले– ‘विषवृक्षोपि सम्वध्र्य स्वयम् छेत्तुमसाम्प्रतम् । अर्थात् बिखकै बोट पनि उमारेर हुर्काएपछि आपैmँले उखेल्नु–ढाल्नु मनासिब हुँदैन ।’

देश जनता खाइपचाइ आएका सत्तासीनहरुले परम्परागत शोषण, दमनको यथास्थिति कायम राख्नकै निमित्त जनताबीच फिँजाउँदै आएको निक्खरा अन्धविश्वास हो यो। अब हामी नेपाली जनताले यस्ता अन्धविश्वासहरुविरुद्ध हातहातमा बन्चरो लिएर ज¥याकजुरुक उठ्नुपर्छ र शुभ कार्यमा प्रवृत्त हुनुपर्छ । बेला भइसकेको छ । जतिखेर ब्यूँझिइयो, त्यतिखेर बिहानी ।

प्रतिक्रिया दिनुहोस्