सहयोगी भावना



सिंगापुर रेडक्रसको टोली नेपालमा आई स्वयंसेवीरुपमा काभ्रेको तिमाल गाउँपालिका–७ स्थित श्री राधाकृष्ण माध्यमिक विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावकका माझ पोषण, व्यक्तिगत सरसफाइ, उच्च रक्तचापको परीक्षण, स्वच्छ पिउने पानीका लागि प्रयोगात्मक अभ्याससँगै आवश्यक सहयोग गर्‍यो।

बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता रहेको यस पालिकामा तामाङ समुदायको बाहुल्यता छ । बाहुन, क्षत्री, नेवार, माझीलगायतका जातजातिहरुको समेत यहाँ बसोबास रहेको छ। भौगोलिक विषमता र प्राकृतिक सम्पदायुक्त यस स्थानका बासिन्दाहरुले कृषि, पशुपालन, पर्यटन एवं धार्मिक महत्व बोकेको बोधी चित्तमालाको खेती र व्यापार व्यवसायलाई मुख्य पेसा बनाएका छन्। तर यस स्थानको माथिल्लो भागमा बासोबास गर्ने बासिन्दाहरुका लागि पिउने पानीको समस्या रहेको छ । यो समस्याको न्यूनीकरणका लागि योजनाबद्ध तरिकाबाट लाग्नुपर्ने आवश्यकता देखिन्छ ।

सुनकोशीबाट लिफ्ट गरी बस्तीभन्दा माथि डाँडामा पानी जम्मा गरेर हप्तामा एक–दुई दिन वितरण गर्ने गरिएको छ तर विद्यालयमा पर्याप्त पानी छैन। भएको पानी पनि शुद्ध नभएको अध्ययन प्रारम्भ नेपाल नामक सामाजिक संस्थाले पुष्टि गरेको छ । त्यसैले पानी शुद्धीकरणका लागि सिंगापुर रेडक्रसलाई अनुरोध गरेर सिंगापुरबाट पानी शुद्धीकरण गर्ने फिल्टर झिकाई विद्यालय, स्वास्थ्य चौकी र वडा कार्यालयमा जडान गरिएको छ।

यसरी नेपाल सरकारका योजना एक्लैले पूरा हुने अवस्था नभएको बेला स्थानीय संघसंस्थाले अन्तर्राष्ट्रिय निकायको सहयोग जुटाई राहत पुर्‍याउनु प्रशंसनीय कार्य हो। यो कामका लागि नेपाल आएका सिंगापुरका स्वयंसेवक र प्रारम्भ नामक सामाजिक संस्था विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक, अभिभावक, स्थानीय बासिन्दाका लागि राम्रो सहयोगी दाता बने । यस्तो चासो अरुले पनि दिने हो भने नेपाल र नेपालीहरुका समस्या समाधान भएन भनेर सरकारको मात्र मुख ताक्नुपर्ने बाध्यतामा कमी आउने थियो।

तिमालमा पिउने पानीका साथै पानीको अभावमा सरसफाइको पनि उत्तिकै समस्या छ। सरसफाइको कमीका कारण यहाँका बासिन्दामा एलर्जी, झाडापखाला, सरुवारोगको व्यापकता रहेको छ। यति मात्र होइन, यहाँ कृषि पेसा नै प्रमुख भएकाले घरेलु हतियारको प्रयोगका क्रममा हात, गोडा, टाउकोमा चोट लाग्ने बिरामीको संख्या अत्यधिक रहेको छ।

ज्ञान र पानीको अभावले दाँत माझ्ने सही तरिका, हात धुने तरिका, व्यक्तिगत सरसफाइ र समय–समयमा उच्च रक्तचापको परीक्षण गर्नुपर्छ भन्ने बारेमा सिकाउनै पर्ने देखियो। यद्यपि सिंगापुर रेडक्रसले सिंगापुरबाटै उच्च गुणस्तरको फिल्टर ल्याई विद्यालयमा जडान गरिदिएकाले अबका दिनमा बालबालिकाले शुद्ध पानी भने पिउन पाउँनेछन्।

नेपालमा स्वयंसेवी रुपबाट सघाउन आएका सिंगापुरका टोलीप्रमुख मुसिन म्याक ह्यान्डसमले सिंगापुर रेडक्रसलाई यो अवसर जुटाइदिने प्रारम्भ नेपाल र स्थानीय निकायलाई धन्यवाद दिनुभएको छ। साथै उहाँले यो नै अन्तिम सहयोग नभई आगामी दिनमा पनि निरन्तर रहने आश्वासन दिनुभयो। यसले थप आशा जगाएको छ।

विद्यालयमा पुस्तकालयका लागि पुस्तक, चापाखोरी स्वास्थ्य चौकीका लागि रक्तचाप नाप्ने पाँचवटा डिजिटल मेसिन यपलब्ध गराउनुका साथै अभिभावक, शिक्षक, कर्मचारीलाई उच्च रक्तचाप, मधुमेहलगायतका दीर्घरोग र यसबाट हुने जोखिमबारे जानकारी दिइएको थियो। अभिभावकलाई सातुलगायतका पोषण सामग्रीसमेत सहयोग गरिएको थियो।

विद्यालय र वडा कार्यालयको लागि एक–एकवटा र स्वास्थ्यचौकीको लागि एकवटा गरी झन्डै ८ लाखबराबरको फिल्टर उपलब्ध गराई सहयोग गरिएको थियो। यी संस्थाले पनौती १० स्थित श्रीराम माध्यमिक विद्यालय र नगर अस्पताललाई पनि यस्तै सामग्रीसहित यसरी नै सहयोग गरेका थिए । यस्ता मानवकल्याणका काम गर्ने संघसंस्थाको सरकारले मूल्यांकन गरी थप सहयोग जुटाउन आवश्यक पहलकदमी गरोस् ।

प्रतिक्रिया दिनुहोस्