सिंहदरबारभित्रैबाट ४ बालश्रमिकको उद्धार



काठमाडौं ।

विश्व बालश्रमविरुद्धको दिवसका दिन काठमाडौं महानगरपालिकाले संघीय प्रशासनिक सचिवालय रहेको स्थान सिंहदरबारभित्रका क्यान्टिनहरूबाट ४ जना बालश्रमिकलाई उद्धार गरेको छ।

उद्धार गरिएका चारै जना १८ वर्षमुनिका रहेका छन् । उनीहरूमध्ये २ बालिकालाई सेन्ट्रल क्यान्टिनका रूपमा सञ्चालन भएको स्थानबाट र १ बालकलाई उद्योग मन्त्रालयको क्यान्टिनबाट तथा अर्को १ बालकलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको क्यान्टिनबाट उद्धार गरिएको बाल कल्याण अधिकारी शान्ता पहाडीले जानकारी दिनुभयो।

महानगरपालिकाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको समन्वय खोजतलास सेवा (१०४), नेपाल प्रहरी, महानगर प्रहरी, वडा कार्यालयका प्रतिनिधि, राष्ट्रिय बाल कल्याण परिषद्का प्रतिनिधिसहित सरोकारवालासहितको टोली बनाएर जोखिममा रहेका, शोषण तथा दुव्र्यवहार भोगिरहेका बालबालिकालाई उद्धार गर्ने गरेको छ।

यसअघि १९ जना बालिका र १८ जना बालक गरी ३७ जना बालबालिकाको उद्धार गरेर अस्थायी संरक्षण गृहमा संरक्षित गरिएको छ। महानगर बालअधिकार समितिका सदस्य धीरज जोशीका अनुसार उद्धारपछि उनीहरूले श्रममा भोग्नुपरेका समस्याहरू सुन्ने, मनोपरामर्श प्रदान गर्ने, स्वास्थ्य उपचार गर्ने र आवश्यक परेमा कानुनी सहायता दिने व्यवस्था मिलाइएको छ।

जोखिममा रहेका बालबालिकाहरूको अवस्थालाई रातो, पहेँलो र हरियो रङ्ग संकेतका आधारमा वर्गीकृत गर्ने गरिएको समितिका अर्का सदस्य प्रवीण सिलवालले बताउनुभयो। १२ वर्षभन्दा कम उमेर भएका, दैनिक ७ घण्टाभन्दा धेरै काम गर्नुपर्ने, यौन हिंसा तथा दुव्र्यवहारको सामना गरेका वा गरिरहेका बालबालिकालाई रातो रङ्ग संकेत भएको वर्गमा राखिन्छ । दैनिक २ देखि ५ घण्टासम्म काम गर्नुपर्ने, कुटपिट र गाली गलौज गर्ने गरिएको, पेटभरि खान नदिएको, निन्द्रा पुग्ने गरी सुत्न नदिएका बालबालिकालाई पहेँलो रङ्ग संकेत भएको वर्गमा राखिन्छ।

यस्तै, मायालु व्यवहार र बोलीवचन पाएका, पर्याप्त मात्रामा शैक्षिक सामग्री उपलब्ध गराइएका, घरपरिवारसँग नियमित सम्पर्क गर्न पाएका, समान खाना पाएका र सुत्नका लागि खाट र कोठा पाएका बालबालिकालाई हरियो रङ्ग संकेत भएको वर्गमा राखिएको छ। यीमध्ये रातो रङ्ग संकेत वर्गमा रहेका बालबालिकालाई उद्धार तथा जोखिम व्यवस्थापन गर्ने गरिएको छ।

प्रतिक्रिया दिनुहोस्