उत्तरी इजरायलमा हिजबुल्लाहद्वारा रकेट प्रहार



काठमाडौँ ।

हिजबुल्लाहले उत्तरी इजरायलमा रकेट प्रहार गरेपछि धेरै ठाउँमा आगो लागेको छ ।  हिजबुल्लाहले उत्तरी इजरायलमा लेबनानबाट दर्जनौं रकेट प्रहार गरेको जनाएको छ।

हिजबुल्लाहले इजरायली हवाई आक्रमणमा आफ्ना एक वरिष्ठ कमाण्डरको मृत्युको प्रतिक्रियास्वरूप यो हमला गरेको जनाएको हो । इजरायली हवाई आक्रमणमा हिजबुल्लाह कमाण्डर तालेब अब्दुल्लाहसहित चार जनाको मृत्यु भएको थियो ।

इजरायल र हिजबुल्लाहबीचको आठ महिना लामो भिडन्तमा मारिएका अब्दुल्लाह हिजबुल्लाहका सबैभन्दा वरिष्ठ कमाण्डर हुन् । हिजबुल्लाहका अनुसार यी रकेटहरू इजरायली सैन्य अड्डाहरू र सैन्य कारखानाहरूलाई लक्षित गरी प्रहार गरिएको छ ।

उही समयमा, इजरायली सेनाले लेबनानी पक्षबाट करिब ९० रकेट प्रहार गरिएको जनाएको छ । इजरायलले अधिकांश रकेट हावामा खसालेको दाबी गरेको छ ।

इजरायलका अनुसार विभिन्न ठाउँमा धेरै रकेट खसेकाले धेरै ठाउँमा आगो लागेको छ । गाजामा इजरायल र हमासबीच युद्ध चलिरहेको बेला बेला बेलामा हिजबुल्लाहले युद्ध सुरु भएदेखि नै लेबनानबाट इजरायलको उत्तरी सीमामा आक्रमण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्