कांग्रेसलाई सरकारमा जान हतार छैन : नेता कोइराला



काठमाडौँ।

नेपाली कांग्रेका नेता डा शेखर कोइरालाले देशको राजनीति अत्यन्त तरल अवस्थामा रहेकाले कांग्रेस तत्काल सरकारमा नजाने बताएका छन् ।

नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, नेपाल बैंक लिमिटेडको दशौँ केन्द्रीय अधिवेशनको आज यहाँ उद्घाटन गर्दै नेता कोइरालाले राजनीतिक तरलताका कारण गएको डेढ वर्षमा केन्द्र र प्रदेशमा पटक पटक सरकार परिवर्तन भएका बताए । नेता कोइरालाले भने, “राजनीति वा सरकारको स्थिरता नभई आर्थिक स्थिरता र सुशासनसँगै समृद्धि हाँसिल गर्न सकिदैन ।”

मुलुकमा सुशासन र स्थायित्व कायम गर्न भ्रष्टाचार न्यूनीकरण, स्थायी सरकार र नीति आवश्यक पर्ने नेता कोइरालाको भनाइ थियो । राजनीतिक दल विभाजन गर्ने र नेतालाई दुःख दिने नियतले आपराधिक किसिमका कार्य भइरहेकाले राजनीतिक दलले यस विषयमा गम्भिर छलफल गर्नुपर्ने आवश्यकतामा उनले जोड दिए । नेता कोइरालाले भने, “कांग्रेस अहिले विपक्षमा रहेकाले प्रमुख प्रतिपक्षको भूमिका खेलिरहेको छ । सरकारमा जान हामीलाई कुनै हतार छैन ।”

सुशासन, पारदर्शीता र भ्रष्टाचारका विषयमा छिनोफानो नभई देश विकास र समृद्धितर्फ जान नसक्ने उल्लेख गर्दै नेता कोइरालाले राजनीतिक स्थिरताका लागि अहिले अभ्यासमा रहेको निर्वाचन प्रणालीबारे समेत पुनःविचार गर्न आवश्यक रहेको धारणा राखे । उनले सरकारी र निजी क्षेत्रको स्वमित्वको अवधारणामा रहेर सञ्चालित, युवापुस्ता र महिला कर्मचारीको उदाहरणीय उपस्थिति रहेको देशको सबैभन्दा पुरानो नेपाल बैंक लिमिटेडको भविष्य उज्ज्वल रहेको बताए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले केही वर्षअघिसम्म पुरानो ढर्राबाट सञ्चालित नेपाल बैँक लिमिटेडले पछिलो समय अत्याधुनिक र समयसापेक्ष प्रविधिसहित सेवा प्रवाहलाई चुस्त र दुरुस्त तुल्याउन सफल भएको प्रतिक्रिया दिए ।

सांसद सरिता प्रसाईंले मुलुकको लोकतन्त्र स्थापनामा वित्तीय सङ्घ-संस्थालगायत क्षेत्रमा कार्यरत कर्मचारीको योगदान रहेका घटना सुनाउँदै बैंकमा पुरानाको अनुभव र नयाँको उत्साहलाई संयोजन गरी सेवाप्रवाहलाई सरल, सहज र सुलभ तुल्याउन आवश्यक रहेको बताए ।

नेपाल वैँक लिमिटेडका महाप्रबन्धक तिलकराज पाण्डेले जनविश्वासका कारण बैंकको पूँजी १८ अर्ब रहेको, निक्षेप सङ्कलन रु दुई सय ७० अर्ब पुगेको तथा रु दुई तीन अर्ब लगानी पुगेको जानकारी दिए ।

आयोजक संस्था नेपाल वित्तीय संस्था कर्मचारी सङ्घका अध्यक्ष जीवराज ढकाल, महासचिव सुरेन्द्र विष्टलगायत विभिन्न ट्रेड युनियनका प्रमुख एवं पदाधिकारीले राष्ट्रिय पूँजी निर्माण गर्न र बैंकको संरक्षण गर्न युनियनले प्रतिपक्षकारुपमा खबरदारी गरिरहेको बताए । बैंकको निक्षेप बढेपनि लगानीको अवस्था कमजोर रहेको बताउँदै उनीहरुले स्थिरता र समृद्धिका लागि राजनीति नभई अर्थनीति पनि सुदृढ हुन आवश्यक रहेको धारणा राखे । अधिवेशनले तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्