कश्यपप्रसाद पौडेलद्वारा लिखित दोस्रो कथा सङ्ग्रह ‘आरनको आगो’ पाठकमाझ आएको छ । पौडेलको पहिलो कथा सङ्ग्रह ‘डायनकी छोरी’ले चर्चा कमाएसँगै हालै मात्र प्रकाशित आरनको आगोमा २१ वटा कथा समेटिएका छन् । कथाका पाठक तथा पारखीहरुका लागि यी कथाहरु पठनीय त छँदै छन्, अधिकांश कथाले ग्रामीण परिवेशलाई छर्लंग पारेका छन्। कथा पढ्न शुरु गरेपछि नसकिउन्जेल छोड्न मन लाग्दैन । वास्तवमा कथाकार पौडेलको लेखनले समाजका समग्र वस्तुस्थितिलालाई यथासक्य चित्रण गर्ने प्रयास गरेको छ ।
विकृति विसंगतिविरुद्ध कडा प्रहारसँगै लोप हुन लागेका परम्पराबारे वर्तमान तथा भावी पुस्तालाई पनि जानकारीमूलक रहोस् भन्ने ध्येयले कथाको रचना आफैं महत्वपूर्ण कृतिका रुपमा रहनेछ । अझ भनौं पाठकहरुलाई कथामा उल्लेख गरिएका स्थानहरु आफैं भ्रमण गरिरहेको पो छु कि भन्ने महसुस गराउन लेखक सफल भएका छन्। ‘पराले झुप्रोकी रुपा’ कथाले वादी समुदायको दिनचर्या, पीडा र बाँच्नका लागि शरीर बेच्नुपर्ने बाध्यताको चित्रण गरेको छ भने ‘झड्केली छोरी’ ले जीवनको उत्तरार्द्धमा पुगेका वृद्ध बाबुआमालाई आफ्नै छोराहरुले नहेरेका बेला त्यही झड्केली छोरीको सहारा मिलेको कारुणिक अवस्थाको त्रिचण गरेको छ ।
मीतबा कथाले बालापनको स्मरण गराउँछ, अझ मीतबाको घर गएकै बेला महादेउपोखरीको जात्रामा साथ छुट्दा अलपत्र परेको क्षणले धेरैको बाल्यकालका यादहरुलाई ताजा बनाइदिन्छ । कुलतमा फसेको बाबुले आमालाई चिर्पटले हिर्काएर घाइते पारी आफूहरुलाई बेसहारा बनाई घर छोडेर हिँडेको र उसले नहेरे पनि फुपूको सहयोगमा धर्मपिताका रुपमा पाटनका गुर्जुबाको साथ पाएकी निर्मलाको पठनपाठन र बिहेवारीसम्मको कथा गुर्जबाले समेटेको छ । रुढिवादी परम्पराअनुसार जन्मदाको साइतसँग जोडेर मूल नक्षत्र परेकी र यसले पिर्छे भनेर आमाबुबाको काख छुटाएर मावली पठाइएको तथा गाउँघर/शहर प्रायः सबैतिर पहिलेदेखि नै चल्दै आएको पेवा दिने चलन, यसले उत्पन्न गर्ने झगडा, मेलमिलापलगायत पर्याप्त जानकारीमूलक कथा ‘आमाको पेवा’ पनि त्यत्तिकै पठनीय छ।
महादेउथानको जात्रा जानुअघि चिटिक्क पर्न खोज्दा इस्टकोट मुसाले काटिदिएको, राति जात्रामा बेखर्ची हुँदा सुन्तला खान मन लागेपछि साथीहरु मिलेर व्यापारीको डोको ढालेको, छरिएका सुन्तला चोरेर भागेको कथा पनि त्यत्तिकै रोचक छ। सिठीनखःको वासाले साथ छुटेका बले काका कसरी वकिल बने र जयराम भतिज किन पुरेत्याइँ गर्न थाले भन्ने कथाले पनि नेपाली गाउँ परिवेश, बाबुआमाको माया तथा संरक्षणसँग जोडिएका प्रसंगहरुको सकारात्मक तथा नकारात्मक पाटोको वास्तविक चित्रण गरेको छ।
त्यसै गरी विदेश जाने सपनाका कारण विभिन्न कन्सल्टेन्सी, दूतावास र दलालको चक्करमा परेर ठगिँदै बाउन्न घुस्सा त्रिपन्न ठक्कर खाएका कमल अस्ट्रेलियाको भिसा लागेकी युवतीसँग बिहेपछि श्रीमतीको डिपेन्डेन्टमा विदेश पुगेपछि मात्रै आफ्नो बिहे त नक्कली पो रहेछ भनेर छाँगाबाट खसेजस्तो भएको कथाले पनि अहिलेको स्वार्थी प्रवृत्तिलाई दर्शाएको छ। मनको तृष्णा, छोराको बिहेले उब्जाएको जाँगर, लैनु पाडीको रहरले डो¥याएकी बालिकाको टिठलाग्दो कथाले पनि वास्तविकता पस्किएको झल्को दिन्छ।
त्यसै गरी पहिलो प्रेम किशोरावस्थामा धेरै किशोरकिशोरीकोे अनुभवलाई प्रतिनिधित्व गरेको छ भने ‘आरनको आगो’ त शीर्ष कथा नै भइहाल्यो। भिनाजुको घर, माइत जाने रहर, घर्तीगाउँको बुधे, नाताकी माइजू, शान्ति काकी, हली दाइ, साँझको बटुवा र सिप्पाई दाइजस्ता कथाले गाउँघरका गतिविधि, घटना, परम्परा र जीवनशैली उतार्ने प्रयास गरेका छन्। वास्तवमा कथाकारले जुन–जुन समुदायको कथा लेखेका छन् तिनीहरुमा सम्बन्धित संस्कृति, रहनसहन, भाषा र शैलीलाई उतार्ने प्रयास गरेकाले कथा रोचक बनेका छन्। अझ कथाका पात्रहरुको मनोविज्ञानको पक्ष पनि त्यत्तिकै प्रासंगिक छ। बालक, युवक, महिला, बालिकाजस्ता विविध भूमिकामा लेखकले आफूलाई उभ्याउन सक्नु नै कला रहेछ भन्ने कुरालाई कथा सङ्ग्रहले पुष्टि गरेको छ।
नेपाली समाजमा चलिआएका मान्यता र त्यहाँभित्रको जीवनको प्रस्तुति हो आरनको आगो। अझ यसलाई ठेट नेपालीको सानो भण्डार पनि भन्न सकिन्छ। कश्यपप्रसाद पौडेलको आँखा सङ्ग्रहभित्र डुल्दा मौलिक नेपाली समाजको एउटा टुक्रो भेटियो। सरसर्ती हेर्दा कथाको मूल शीर्षक नै मौलिक नेपालीको प्राविधिक शब्दबाट निर्मित भएको छ। कथासङ्ग्रहको विषय सूचीको २१ वटा कथाहरू कथाकारका भाषामा भन्दा ‘कथारुपी २१ थुङ्गा जोडेर उनेको रङ्गीन माला’ छोडेपछि बाइसौँ थुङ्गो पनि भेटियो । कथाले हराउँदै जान थालेका गाउँघरतिरका परम्परागत कुराहरूमा सञ्जीवनी छर्कँदै वर्तमान पुस्तालाई हस्तान्तरण गर्ने प्रयास गरेको छ ।
पौडेलले कथामा प्रयुक्त ठेट नेपाली शब्दका साथमा र अरु भाषाका प्राविधिक शब्दहरू सङ्कलन गरेर तिनको अर्थ दिएका छन् । पौडेलले उद्देश्य नै ‘पुरानो नेपाली समाज चिनाउने’ लिएकाले होला नेपालीका मौलिक शब्दहरूलाई व्यापक प्रयोग मात्र गरेका छैनन्, तिनको अर्थसहितै चिन्न सजिलो बनाएर राखिदिएका छन्। लेखक पौडेलले प्रयोग गरेका शब्दहरू हेर्दा पुरानो नेपाली गाउँले समाजको सामाजिक झझल्को सजिलै आउँछ । किनभने उनका शब्दहरूमा हाम्रा परम्परागत कार्यहरू समेटिएका छन्, हाम्रो सामाजिक इतिहास समेटिएका छन्। संस्कृत भाषाको ‘परकर्म’ भन्ने शब्दबाट तद्भव शब्दका रूपमा निर्माण भएको ‘पर्म’ खेतीपातीसँग सम्बन्धित शब्द हो। नेपाली गाउँले समाज विशेष गरी पहाडे जनजीवनमा खेतीपाती गर्दा खेताला लगाउन पैसा लाग्ने र आयस्रोत नहुने, अनि सबैले खेती गर्नै पर्ने अवस्थामा निर्माण भएको ‘पर्म’ शब्दको अर्थ बुझ्न त्यहीँको जनजीवनसँग परिचित हुनुपर्ने रहेछ। खेती अनिवार्य गर्नै पर्ने र ‘तिम्रो म मेरो तँ, मिलेर काम गरौँ’ भन्ने हाम्रो समाजमा चलिआएको ‘पर्म’ शब्दलाई पूर्वी पहाडतिर ‘पर्मा’ भन्ने गरेको पनि पाइन्छ।
‘बेठीबाजा’ पौडेलले पञ्चेबाजाको धुनलाई बेठीबाजा भनेका छन् भने शब्दकोशले रोपाइँमा गरिने बाजासहितको उत्सवलाई बेठीबाजा भनेर चिनाएको छ। अर्थमा सामान्य फरक देखिए पनि दुवै अर्थ रोपाइँ र बाजासँग भने सम्बन्धित छन् । ‘फिरफिरे’ शब्दका अर्थ दुवै एकै खाले छन् पौडेलले लिंगोलाई जनाएका छन् भने शब्दकोशले पुतली भन्ने अर्थ दिएको छ । हामीले जानेको नेपालीमा ‘फिरफिरे’ शब्दले कागजबाट बनेको फूल सिन्कामा उनेर हावामा राख्ता फिरिरिरी घुम्ने वस्तु भन्ने मात्र बुझेका थियौँ । यस कथासङ्ग्रहको ‘फिरफिरे’ शब्दले त्योभन्दा अर्को धान बालीसँग सम्बन्धित नेपाली समाजमा चलिआएको प्रथालाई देखाएको छ ।
‘दंगेरा’, ‘सिप्लाई’ शब्द शब्दकोशमा नै पाइँदैन । त्यस्तै ‘गुहारे जानु’, ‘बिटा लगाउने’ पदावलीले शब्दकोशमा प्रविष्टि पाएको छैन । शब्दकोशमा पाइने ‘बिटा’ शब्दले लेखकले दिएको अर्थ नजिकैको अर्थ नबोकेर अलि परको अर्थ बोकेको छ । त्यस्तै ‘थारो हाल्ने’ पदावलीको प्रविष्टि शब्दकोशमा भएको छैन । ‘बाउसे’ पनि खेतीपातीको काममा प्रयोग हुन आउने प्राविधिक शब्द हो ।
लेखकले घिउ बनाउने कामसँग सम्बन्धित शब्दहरु हर्पे, नेती, मदानी, नेत्रिका आदिको प्रयोग गरेको पाइन्छ । पेसासँग सम्बन्धित शब्दहरु पनि प्रचुर मात्रामा प्रयोग भएको पाइन्छ । यसका उदाहरणका रुपमा खलाती, होत्रो, रेती, लिही, घन, हतौडा आदिलाई लिन सकिन्छ । पौडेलले एउटा शब्द (आरन) दिएका छन् र त्यसभित्र अनेक नेपालीका मौलिक प्राविधिक शब्दहरू गुजुल्टो परेर आएका छन् । संस्कृत भाषाको ‘आयस’ शब्दमा ‘अरन’ प्रत्यय लागेर बनेको ‘आरन’ शब्द हामीसम्मका नेपालीले त बालगीत ‘टपटप टोपी लेतका दाना, परबाट आए कुम्बै राना, सिँगिनी बागिनी ऐरा गई छ, ऐराबाट मुसो मारी ल्याइछ, मुसो मैले आरनमा राखेँ भन्दा आरन शब्द सुन्यौँ तर, त्यसको अर्थ भने पूर्णरूपमा बुझेनौँ । अझ आधुनिक अनि बोर्डिङ स्कुलका उपजहरूले यो शब्द र आरनको काम सम्पन्न गर्ने चाहिने ती प्राविधिक शब्दहरूमा खलाँती, होत्रो, लिही आदि जस्ता शब्दहरू कसरी बुझ्छन् । यी शब्दहरू आधुनिक नेपालीमा सायद कतै प्रयोग हुँदैनन् ।
दर्जीको जात भनेर काभ्रे क्षेत्रमा बुझिने ‘कटुवाल’ शब्दको अर्थ नेपाली सहरिया समाजमा ‘थर विशेष’ मात्र बुझाउँछ । आधुनिक र सहरिया समाजमा मात्र हैन ‘कटुवाल’ शब्दको अर्थ धेरैले त्यही नै बुझ्ने गरेको पाइन्छ । ‘रहनी’ शब्द उभ्रेको, बचेको भन्ने अर्थमा रहेको शब्दबाट निर्मित शब्द रहेछ । ‘ठहर’ सालको पातबाट बन्ने वा बनाइने टपरीलाई भनिदो रहेछ र ‘खाङ्ग्रो’ भनिने डोको पनि हुँदो रहेछ ।
त्यसै गरी सामाजिक कार्यमा प्रयोग हुने शब्दावलीलाई पनि पौडेलले भरपूर मात्रामा प्रयोग गरेका छन् । हाम्रो समाजमा चलनचल्तीमा रहेको ‘फूल–माला गर्ने’, ‘टीकोटालो गर्ने’, ‘कुरा छिन्ने’, ‘जनै सुपारी गर्ने’ आदि पदावलीहरूले पौडेलको समाजमा चलिआएको ‘दही–दूबो समाउने’ अर्थ बोकेका छन् । समाजमा बिहे गर्नुअगाडि पहिले–पहिलेको समयमा केटाका बाबु र केटीका बाबुबीच हुने यो सम्झौता बिस्तारै केटा राखेर केटी नराखी अनि अहिले केटा र केटी दुवै राखेर गर्ने चलन छ। नेपाली समाजमा चली आएको यो प्रथा विश्वबन्धुत्वको परिणामपश्चात् केटा र केटीले आपसमा गर्ने चलन पनि बढ्दो छ । तर, पौडेलको समाजमा त्यही कार्यलाई चिनाउने शब्दका रूपमा ‘दही–दूबो समाउने’ प्रयोग हुने रहेछ ।
प्रतिक्रिया