राष्ट्रिय ललितकला प्रदर्शनीको आकर्षण

98
Shares

काठमाडौं ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा प्रतिष्ठान परिसरमा राष्ट्रिय ललितकला प्रदर्शनी २०८१ चलिरहेको छ। गणतन्त्र दिवसको अवसर पारेर केही समयअघि सामाजिक रुपान्तरण : ललितकलाको अभियान भावमा गरिएको प्रदर्शनीमा चार सय ८२ कलाकारका करिब ६ सय कलाकृति राखिएको छ।

प्रदर्शनीमा नेपालमा प्रचलित लोककला, हस्तकला–शिल्पकला, परम्परागत चित्र/मूर्तिकला, समसामयिक चित्रकला तथा मूर्तिकला, वास्तुकला, अन्य सिर्जनात्मक (बहुआयामिक) कलाअन्तर्गत कला फोटोग्राफी, भिडियो आर्ट, कार्टुन, क्यारिकेचर, प्रतिस्थापन कला, भावभङ्गीमा कलालगायत प्रदर्शन गरिएको छ।

प्रतिष्ठानले देशका सातै प्रदेशमा प्रादेशिक ललितकला प्रदर्शनी २०८० गरी राजधानीमा राष्ट्रिय ललितकला प्रदर्शनी २०८१ आयोजना गरेको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले जानकारी गराउँदै नेपाली ललितकलाको सुगन्धको झल्को प्रदर्शनीमा देखिएको दाबी गरे। ‘नेपाली कलालाई स्थानीयस्तरबाट केन्द्र हुँदै अन्तर्राष्ट्रियकरण गर्न यो प्रदर्शनीले मार्ग तय गरेको छ। यसलाई अझ जनस्तरसम्म लगेर नेपाली समाजमा विकसित कलालाई सामाजिकीकरण गर्दै अर्थतन्त्रमा जोड्नुपर्दछ,’ उनको भनाइ छ। कुलपति हार्तम्छालीले प्रदर्शनीले नेपाली समाजमा प्रचलित विविध कलाको रैथाने स्वादलाई पस्केको दाबी गरे।

प्रदर्शनीमा सात प्रदेशका विविध कलाका आयाम र विधा समेटिएको प्रतिष्ठानका उपकुलपति तथा प्रदर्शनीका कार्यकारी संयोजक लालकाजी लामाले बताए। उनले सामाजिक रूपान्तरण : ललितकलाको अभियान भन्ने भावमा रहेर प्रतिष्ठानले नेपालीपनको बोधलाई उठान गरेको दाबी गर्दै लोपोन्मुख रैथाने कलालाई अगाडि बढाउने गरी काम गरिरहेको दाबीसमेत गरे।

‘नेपाली कला विविध कारणले लोपोन्मुख र हराउने क्रममा रहेकाले तिनको पहिचान गरी कलाकारलाई समेत जागृत गराई सामाजिक रूपान्तरणको अभियानमा जोड्दै पुनर्जागरण गर्ने ध्येय प्रतिष्ठानले राखेको छ। यस अभियानमा कलाकारको उत्साहजनक सहभागिता र चासो रहेको पाएका छौ“,’ उपकुलपति लामाले भने।

प्रतिष्ठानले यस वर्षदेखि प्रादेशिक प्रदर्शनीको थालनी गरी नेपाली ललितकलालाई पुनर्जागरणको चरणमा लगेको सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले बताए। उनले नेपाली समाजमा विकास भएका विविध शैली, चिन्तन र आयामका कलाको पहिचान गरी कलाकारको पहुँचलाई विस्तार गर्ने उद्देश्यका साथ प्रदर्शनी गरिएको बताए।

गतजेठ १५ गतेदेखि शुरू भएको प्रदर्शनीमा ललितकला क्षेत्रका सरोकारीका साथै राजनीतिक, कूटनीतिक, प्रशासनिक, आर्थिक, सामाजिक, शैक्षिक, कानुनी क्षेत्रका व्यक्तित्वले व्यक्तिगत तथा संस्थागततर्फरूपमा प्रदर्शनीको अवलोकन गरेको प्रतिष्ठानले जानकारी गराएको छ।

प्रतिष्ठानका कुलपति हार्तम्छालीले दूरदराजमा रहेका नेपाली ललितकलालाई उजागर र ललितकलाकर्मीलाई उत्साह, हौसला जागृत गर्न पुरस्कारमा विशेष परिवर्तन गरिएको बताए। उनका अनुसार यस वर्ष सर्वोत्कृष्ट राष्ट्रिय, विधागत रूपमा राष्ट्रिय, प्रादेशिक उत्कृष्ट, विधागत प्रादेशिक एवं विद्यार्थी विधामा पुरस्कार प्रदान गरिएको छ।