विभिन्न देशहरुमा पटाइदिन्छु भन्दै करिब १५ करोड  ठगी गर्ने तीनजना पक्राउ



काठमाडौँ। 

कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशहरुमा पटाइदिन्छु भनी ३ सय जना भन्दा बढी मानिसहरूबाट करिब १५ करोड रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-१८ घर भई हाल काठमाडौँ टोखा नगरपालिका बस्ने २८ वर्षीय राज कुमार भट्ट, कास्की माछापुच्छ्रे गाउँपालिका-८ घर भई पोखरा महानगरपालिका-९ पृथ्वीचोक बस्ने २२ वर्षीय नवीन विक र कास्की पोखरा महानगरपालिका-८ घर भई चितवन भरतपुर महानगरपालिका-८ बस्ने २३ वर्षीय पवन पन्त रहेका छन् ।

फेसबुक, म्यासेन्जर, ह्‍वाट्सएप लगायतका सामाजिक संजालमा फेक आइडी प्रयोग गरी वैदेशिक रोजगारीमा कम्बोडिया,  न्युजिल्याण्ड, फ्रान्स लगायतका देशहरूमा पठाइदिने भनी आकर्षक तलब, भत्ता सहितको विज्ञापन सार्वजनिक गरी सम्पर्कमा आएका व्यक्तिहरूलाई ठगी गर्ने गरेको भन्ने उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

घर, व्यापार, व्यवसायको कारोबार गर्ने कार्यालयमा मासिक ३० देखि ४० हजार रुपैयाँसम्म तलब हुने एकाउन्टेन्टको जागिर दिएका व्यक्तिहरूको बैंक खातामा विदेश जान सम्पर्कमा आएका मानिसहरूबाट रकम जम्मा गर्न लगाई उक्त रकमहरू चेकबाट निकाल्न लगाई राज कुमार लगायतलाई भेटेर नगदै तथा विभिन्न खाताहरूमा ट्रान्जेक्सन गर्न लगाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरूले भिसा प्रोसेसिङ भइरहेको भन्दै भिसा, वर्क पर्मिट, होटल बुकिङ, पुलिस रिपोर्ट लगायतका फेक कागजातहरू देखाई टिकट र डलर साट्ने भन्दै प्रति व्यक्ति ५ लाख देखि १० लाखका दरले रकम उठाएर सम्पर्क विहीन हुने गरेको र विगत ३/४ वर्ष देखि हालसम्म १५ करोड भन्दा बढी रकम ठगी गरेको खुल्न आएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्