राष्ट्रपति पौडेल जेनेभा प्रस्थान



काठमाडौँ।

राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन् । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल मंगलबार साँझ जेनेभा प्रस्थान गरेका हुन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री रघुवीर महासेठ, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायत नेपाल सरकार र संवैधानिक अंगका प्रमुखले बिदाइ गरे ।

उनले यही जेठ ३१ गते सो अवसरमा उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा उनले जेठ ३० गते स्वीस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

भ्रमणकै क्रममा राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट सङ्घीय गणतन्त्र जर्मनीको बर्लिन जानेछन् । राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टीनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन् । उनले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्नेछन् ।

राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी सविता पौडेल रहनेछन् । प्रतिनिधिमण्डलका अन्य सदस्यहरूमा राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरू, स्वीट्जरल्याण्ड र जर्मनीका लागि नेपाली राजदूतहरू तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू छन्।

राष्ट्रपति पौडेल ५ असारमा स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्