पुतलीबजारको पूर्वाधार आयोजनामा विश्व बैंकको लगानी



स्याङ्जा। 

पुतलीबजार नगरपालिकाको आर्थिक बर्ष २०८०-०८१ को गौरवको आयोजना अन्तर्गत २ जिल्ला जोड्ने छोटो दुरीको सडक निमार्ण शुरु भएको छ । स्याङ्जा सदरमुकामवाट तनहुँको खैरेनीटार जोड्ने सडकको स्तरोन्नती गर्दै निर्माण सुरु हुने भएको हो । विश्व वैंकको ऋण सहयोग तथा नेपाल सरकारको अनुदानमा नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तर्गत रणनीतिक सडक निर्माण हुन लागेको नगरपालिकाले जनाएको छ ।

पुतलीबजार नगरपालिका स्थित प्रगतीनगरवाट सुरु हुने आयोजना अन्तर्गत ७.६ किलोमिटर सडक पूर्वाधार निर्माण हुने पुतलीबजार नगरपालिकाले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । कुल ४० करोड ८ लाख ८५ हजार ३ सय ७६ रुपैया लागतमा निर्माण सम्झौता भएको आयोजना सम्झौताको १५ महिनामा निर्माण सम्पन्न हुनुपर्ने छ । आयोजना निर्माणको जिम्मा लामा कन्ट्रक्सन प्रा.लि काठमाण्डौले लिएको छ । गत चैत्र २६ मा सम्झौता गरेको निर्माण कम्पनीले दुई महिनाको अवधीमा ४ प्रतिशत भौतिक प्रगती गरिसकेको नगर प्रमुख तुलसीराम रेग्मीले जानकारी दिए । आयोजनाको काम २०८२ असार २५ गते सम्पन्न गरिसक्नुपर्ने गरी सम्झौता भएको नगर प्रमुख रेग्मीले पत्रकार सम्मेलनमा बताए ।

आयोजना निर्माणका लागि पुतलीबजार नगरपालिकाले स्थानीय नदीजन्य वस्तुको उत्खनन गर्न दिने भएको छ । नगरपालिकाले नगरको गौरवको आयोजना छोटो समयमा निर्माण गरिसक्नुपर्ने र निर्धारित समयमा सम्पन्न हुन नसकेमा आयोजनाको पूर्ण दायित्व नगरपालिकालाई पर्ने भएकाले नदीजन्य वस्तु उत्खनन र संकलनका लागि मेसिन उपकरण प्रयोग गर्न दिने गरी नगर कार्यपालिकावाट निर्णय गरिएको नगर प्रमुख रेग्मीले बताए । नगर प्रमुख रेग्मीका अनुसार नगरपालिकाले स्थानीय आँधीखोलावाट नदीजन्य वस्तु उत्खननका लागि वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन अनुसार वाड नं १, १४, १० र १३ वाट आँधीखोलाको छिडी र खल्लुवोटवाट ५५ सय घन मिटर नदीजन्य वस्तु उत्खनन गर्न अनुमती दिने निर्णय गरेको जानकारी दिए ।

आयोजनाका लागि वाड नं १४ मा नदीबाट ३० मिटर बाहिर अस्थायी क्रसर राख्न समेत अनुमती दिने निर्णय भएको नगर प्रमुख रेग्मीले पत्रकार सम्मेलनमा जानकारी दिए । नगर तथा जिल्लाकै गौरवको आयोजना भएका कारण जिल्ला स्थित सरकारी निकाय, संघ संस्था सबैलाई सहयोग गर्न रेग्मीले पत्रकार सम्मेलन मार्फत आग्रह समेत गरे । दुई जिल्ला जोड्ने रणनैतिक सडक अन्तर्गतको यो सडक तनहुँको खैरेनीटार सम्म झन्डै २५ किलोमिटर दुरीमा पुग्न सकिनेछ ।

जुन सडक निर्माण भएपछि खैरेनीटार हुँदै दमौली, मुङलिङ हुँदै पूर्व तर्फका यात्राका लागि निकै सहज वन्ने नगर उपप्रमुख देवी अर्यालले जानकारी दिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी पौडेलका अनुसार आयोजना अन्तर्गत सडक निर्माणको काम यस नगरपालिकाको ३, ८ र ९ नम्बर वडामा हुने जानकारी दिए । अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप निर्माण हुने सडक ५.५ मिटर चौडाईको अस्पाल्ट, २ मिटर चौडाईको सोल्डर र १ मिटर चौडाईको ड्रेन सहित सुरक्षा पर्खाल निर्माण हुनेछ । यो सडक निर्माण भएपछि स्याङ्जावासीलाई सहज हुने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्