काठमाडाैं ।
सदियौंदेखि खेलकुदले राजनीति, भूगोल, जात, धर्म, भाषा इत्यादिबाट विभाजन हुँदै आएको समाजलाई एक सूत्रमा बाँध्ने काम गर्दै आएको छ ।
कुनै पनि खेलअघि मैदानमा बज्ने धुनमा एउटै झन्डामुनि गोलबद्ध लाखौँ मानिसले एक स्वरले राष्ट्रगान गाउँदा जुनसुकै राष्ट्रको भावना एकै लयमा गुञ्जायमान हुन्छ । खेलकुदको यो बृहत् प्रभावलाई सामाजिक सञ्जालको उदयले झन् विस्तारित गरेको छ । विशेष गरी टिकटकजस्ता प्लेटफर्महरूको आगमनले यस घटनामा नयाँ आयाम थपेको छ ।
छोटो, आकर्षक अनि कलात्मक भिडियोहरूमा केन्द्रित टिकटक सबैखाले खेलकुदका उपलब्धिहरू मनाउने एक साझा थलो बनेको छ । टिकटकले थुप्रै नयाँ प्रतिभाहरूका लागि ठूलो संख्याको दर्शक र प्रतिभा प्रस्फुटनको फराकिलो मञ्च प्रदान गर्दै आएको छ । अभिनय र नृत्य गर्नेहरू, गायक, गायिका, चित्रकला र शिल्पकलामा पोख्त कलाकारहरू यसैबाट झन् धेरै परिचित हुँदै आएका छन् ।
पुराना र ओझेल परेका गीत–संगीतले फेरि दर्शकको ध्यान खिच्नु, पुराना कलाकर्मीले फेरि चिनिने मौका पाउनु, यी सबै कुरामा टिकटकको मञ्च उपयोगी भएको छ । यस्तो माहोलमा खेलकुदचाहिँ किन पछाडि पथ्र्यो र ? खेलका विभिन्न क्षणहरू, भावुक अवसरहरू टिकटकमा यसरी छाउँछन् कि ती दृश्यहरूले दर्शकहरूको हृदय स्पर्श गर्छन् ।
‘ताली बजाइदेऊ नेपाली, नेपाली’ भन्ने गीतको टुक्रामा गाँसिएका नेपाली खेलाडीहरूले जीतको खुशी मनाएका भिडियोहरूले धेरै दर्शकलाई भावुक बनाउँदै छन् । सन् २०१४ को आईसीसी टी–ट्वेन्टी क्रिकेट विश्वकपमा शक्ति गौचनले विकेट लिएपछि कुदेर गरेको सेलिब्रेसन होस् या कुनै खेलको अन्तिम ओभरमा पारस खड्काले रनआउट गरेर खेल जिताएको क्षण होस्, यी दृश्यहरूले धेरै नेपालीलाई हरेक पटक तिनै अविष्मरणीय क्षणहरूमा फेरि जिउन सघाउँदै छन् । अरू त अरू, नेपाली दर्शकहरूले झमझम पानी परेको बेलामा पनि धैर्य गरेर आफ्ना खेलाडीलाई हौसला प्रदान गर्न छाता ओढेरै टियु मैदानमा उभिएको क्षण होस् कि कुनै आधारभूत पूर्वाधार पनि नभएको मैदानमा रुखको हाँगा–हाँगामा बसेर खेल हेरेको दृश्य होस्, यसले विश्वभरका दर्शकहरूको तारिफ र सम्मान नेपालको खेल क्षेत्रले पाएको छ ।
हामी अब टेलिभिजनका पर्दामा प्रसिद्ध खेलहरूका अन्तर्राष्ट्रिय सुपरस्टारहरू हेर्नमा मात्र सीमित छैनौं । आफ्नो उच्चस्तरीय खेलकौशलबाट दर्शकको नजरमा परेका हाम्रै स्थानीय खेलाडी र कम चर्चामा पाउने लिगहरूबाट उदाएका नायकरूले विश्वव्यापी दर्शकहरूको ध्यान आफूतिर तान्दै छन् । एकै ओभरमा छ छक्का हान्ने र कम बलमा अर्धशतक हान्ने क्रिकेटर दीपेन्द्रसिंह ऐरीलाई आज विश्वले चासो राख्दै छ ।
यो नयाँ पहिचानले राष्ट्रिय गौरवको भावनालाई बेग्लै तरिकाले उत्प्रेरित गर्दै छ, जुन परम्परागत खेलकुदमा हुँदै आएको अभिजात वर्गको दबदबाभन्दा पर छ । हाम्रा लागि अब रोनाल्डो र मेस्सी मात्र नायक हैनन्, सावित्री भण्डारी साम्बा र प्रीति राईहरू हाम्रा आइकन बन्दै छन् ।
अरुणा शाही, प्रतिभा माली र उषा भण्डारीजस्ता भलिबल खेलाडीहरू हाम्रा घरघरमा परिचित हुँदै छन् । कृतिका मरासिनीलाई अब टिकटकमा मात्र हैन खेल मैदानमा विकेट लिँदै गरेको देख्न पाइन्छ । रवीन्द्र ढाँटको फाइट, गौरिका सिंहको पौडी होस् या रुपेश जयसवालले चेसमा पाएको उपलब्धि होस्, टिकटकले कसलाई बेवास्ता गर्छ र ? अझै आसिफ शेखले आयरल्यान्डका खेलाडीलाई खेल भावना कायम राख्न रनआउट नगर्दा एउटा नेपालीको असल पहिचानले पाएको सम्मान त्यही भिडियोको कमेन्टमा पढ्दा नै थाहा हुन्छ ।
त्यसैले त हरेक खेलका लाइभ स्ट्रिमिङ होस् या प्रत्यक्ष मैदानमा होस्, दर्शकहरूको माया टनाटन हुने गर्छ आजकल ।
परम्परागत प्रसारणहरूमा पहुँच नहुनेहरूका लागि टिकटकले खेलकुदको संसारमा वास्तविक समयको आँखीझ्याल प्रदान गर्दछ । हाइलाइटका क्लिप्स, भावुक कमेन्ट्रीहरू र महत्त्वपूर्ण खेल हेर्न हुने जमघटहरूले सबैमा भावनात्मक एकता बढाउँदै सबैलाई राष्ट्रिय छलफलको हिस्सा बन्न सहयोग गर्दछ । यो यस्तो भर्चुअल स्टेडियम हो, जहाँ सबैको लागि आ–आफ्नो सिट हुन्छ र हर्षोल्लासको माहोलमा सबै एकै स्वरमा हुटिङ गर्दै एकजुट हुन्छन् ।
यो नयाँ प्रविधि र मञ्चले साझा अनुभवको शक्तिशाली भावना सिर्जना गर्दछ । कल्पना गर्नुहोस् त, विभिन्न पृष्ठभूमिका लाखौँ मानिसहरूले राष्ट्रिय टोलीको गोलमा सामूहिकरूपमा हर्षोल्लास मनाएको क्षण । सम्झना गर्नुहोस् त, भर्खरै शुरु भएको क्रिकेट विश्वकपमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेलेको दिन । नेपालले आफ्नो पक्षमा जीत निकाल्न नसके पनि आफ्नो टिमको समर्थनमा विश्वभरका नेपाली एकसाथ उभिए ।
मध्यरातको समयमा टुँडिखेलमा ठूलो पर्दामा एकसाथ क्रिकेट हेरिरहेका दर्शक र अमेरिकाले ड्यालसको ग्रान्ड प्रेरी रंगशालामा प्रत्यक्ष हेरिरहेका दर्शक हुन् या आ–आफ्ना घरमा बसेका सबै नेपाली गुलशन झाले हानेको छक्कामा एकसाथ खुशीले उफ्रिए । यस्तो क्षणमा कोही पनि भूगोल, जात, सम्प्रदायमा बाँडिएनन्, सबैजना नेपाली बनेर एकसाथ जुरुक्क उठे ।
टिकटकजस्ता सामाजिक सञ्जालले यो राष्ट्रिय गौरवको सिम्फनीलाई जीवन्तता दिने कन्डक्टरको रूपमा काम गर्दछ । यो लाखौँ मानिसका स्वरहरूले एकसाथ गाएको एउटा गीत हो, खेलको उमंग र जोशले पैदा गरेको उत्साह र एकताको कोरस हो । यो लाखौँ मानिसले एकसाथ भावना एकाकार गर्ने थलो हो ।
अमेरिकामा खुशीले झुमेको दर्शकलाई हेरेर यता चितवनको दर्शकले त्यहाँ आफूलाई पाउँछ । संसद् भवनमा नेपालको जर्सी लगाएर जाने सांसदहरूले आफ्ना खेलाडीप्रति देखाएको सम्मानले कुनै अर्कै देशमा बसेको मानिसलाई द्रविभूत बनाउँछ । यो खेल मैदानबाहिरको त्यस्तो मैदान हो, जहाँ दर्शकहरू पनि हाम्रा नायकहरूसँगै खेल्छन् र हरेक पटक जिती नै रहन्छन् ।
प्रतिक्रिया