नेपाल समाचारपत्रको समाचार प्रभाव

भारत भ्रमणअघि राजदूत शर्मालाई फिर्ता बोलाउँदा त्रुटि भएको प्रधानमन्त्री प्रचण्डको स्वीकारोक्ति



 काठमाडौँ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणअघि भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मालाई फिर्ता बोलाउँदा आवश्यक ध्यान नपुगेको बताएका छन्  ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आइतबार सम्पन्न शपथ ग्रहण समारोहमा सहभागी भई आज स्वदेश फर्किएका  प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै भारतको राजदूतलाई भारत भ्रमणपछि मात्रै फिर्ता बोलाए हुनेमा ध्यान नपु¥याउन नसकिएको भन्दै त्रुटि भएको स्वीकार गरे।

उनको भ्रमणअघि शनिवार नेपाल समाचारपत्रको अनलाईन पोर्टल डब्लुडब्लुडब्लु न्युजअफ नेपाल डट कम र आइतबार नेपाल समाचारपत्रले प्रधानमन्त्रीको भारत भ्रमणअघि नेपाली दूतावासलाई राजदूतविहीन बनाउँदा संशय पैदा भएको भन्ने विषयमा समाचार सम्प्रेसन गरेको थियो ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणलाई ध्यानमा राखेर राजदूत फिर्ताको निर्णय केही ढिला गर्न सकिने भए पनि त्यसतर्फ आफ्नो ध्यान नपुगेको स्वीकार गर्दै भने– ‘उहाँ मेरो स्वागतमा आउनु पनि भएको थियो र सबै कार्यक्रममा राजदूतको हैसियतले उहाँले सक्रिय भूमिका पनि खेल्नुभयो । मैले धन्यवाद पनि भनेर आएको छु । यो त्यहि बेला पर्नु संयोग हो । त्यो कुरामा त्यति ध्यान नपुगेर क्याबिनेटमा यो विषय प्रस्तुत भयो । दुई दिन रोक्न पनि सकिन्थ्यो, ध्यान नगएकै हो ।’

गत बिहीबार बसेको मन्त्री परिषद्को बैठकले राजदूत शर्मासहित ११ राजदूतलाई फिर्ता बोलाउने र प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुने दुवै निर्णय एकसाथ गरेको थियो ।

भारतमा रहँदा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदीलगायतसँग भेट गरेका थिए।  उनको भ्रमण दलमा उनकी छोरी गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्च पदस्थ सरकारी अधिकारीहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्