ठूलो मात्रामा लागु औषधसहित बाराका दुई युवक भारतमा पक्राउ

294
Shares

रौतहट । 

बाराका दुईजना युवकलाई ठूलो परिमाणमा लागूऔषध सहित भारतीय सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरेको छ।

भारत बिहार मोतीहारी जिल्ला एसएसबी क्याम्प जमुनियाका गस्ती टोलीले पिठवा गाउँ छेउ ३५७ नम्बर पिल्लर (सीमा स्तम्भ) नजिकै बाट लागूऔषध सहित एकजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका ८ ककोर्वाका महमद वसिर खानको छोरा २५ बर्षीय ईरफान खान रहेको एसएसविले जनाएको छ।\

भारत घोडासहन बजारबाट भारु ४८ हजार रुपैयाको बिभिन्न किसिमका लागुऔषध इंजेक्शन, ट्याब्लेट र सिरप मोटरसाईकलमा राखेर ककोर्वा गाउँ तर्फ जानेक्रममा ईरफानलाई एसएसबीको टोलीले पक्राउ गरेको थियो। घोडासाहन बजार बाट लगेर सिम्रौनगढ नगरपालिका बाँसवरीया गाउँमा मिठु राय यादवको छोरा राजु यादव र उनको भाई कञ्चन यादवको घरमा स्टक गरेर बिस्तारै कलैया, नीजगढ, हेटौंडा देखि काठमाण्डौसम्म पुर्याउने गरेको इरफानले बताएको एसएसबीले जनाएको छ।

ईरफान लाई बरामद लागुऔषध र मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि झरौखर थानामा बुझाईएको एसएसबी क्याम्प जमुनियाले जनाएको छ। यसैबीच ईरफानको बयानको आधारमा घोडासहनबाट आफ्नो घर बारा सिरौनगढ बाँसवरीया तर्फ जाँदै गरेको राजु यादव लाई झरौखर थानाको टोलीले नियन्त्रणमा लिएको मोतीहारी जिल्लाका एस्पी कान्तेश कुमार मिश्रले पुष्टि गरेका छन्।

लागुऔषध कारोवारी दुवैजना आरोपी जिल्ला प्रहरी कार्यालय मोतीहारी को नियन्त्रणमा रहेको तथा थप अनुसन्धान भइरहेको एस्पी मिश्रले जानकारी दिएका छन्।

मोतीहारी जिल्लाको प्रहरी प्रमुखको रूपमा आईपिएस अफिसर एस्पी कान्तेश मिश्रले कमाण्ड सम्हाले देखि आपराधिक क्रियाकलापमा कमी आएको स्थानीयले बताएका छन।

एसपी मिश्रको नेतृत्वमा गतसाता मितीहारी जिल्लामा लोकसभाको निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको थियो ।

-सञ्जय मिश्रा