जीवनको एउटा संयोग नै भन्नुपर्ला, मित्र महेशराज खरेलजी र म एउटै विवाहका निम्तालु हुँदा हाम्रो भेट हुन पुग्छ। करिब चार दशकअघिदेखिको हाम्रो आपसी चिनजानको सूत्रले वैवाहिक कार्यक्रम चल्दाचल्दै हामीलाई बाँध्न पुग्छ। एक–अर्काले पुस्तक प्रकाशन गरेका सूचनाहरु पहिले नै आदानप्रदान भएका हुन्छन्। तथापि, लामो समयदेखि हाम्रो साक्षात्कार भने हुन सकेको हुँदैन।
यो भेटघाटले एकैपटक हामीलाई पुस्तक आदानप्रदान गर्ने भावनामा पुर्याउँछ। दुवै जनासँग त्यसताका पुस्तकका थोरै प्रति मात्र उपलब्ध हुँदा त्यहाँ जम्मा भएका सबैलाई पुस्तक नपुग्ने भएकोले हामीबीच मात्र आदानप्रदान गर्ने निष्कर्शमा पुग्छौँ। विवाहको कार्यक्रमबाट बिदा भएर फर्कंदादेखि नै उनले दिएको ‘यात्रा जिन्दगीको’ पुस्तकको पाना पल्टाउन शुरु गर्छु। विषय सूची नराखी विभिन्न उपशीर्षकमा विभाजित भएको पुस्तकले मलाई थोरै असन्तुष्टि जन्माउँछ। रोजेको विषय खोजेको पृष्ठमा छानेर पढ्न नपाइने भएकाले । खै किन सर्जकले त्यो पुस्तकमा विषय सूची राख्न आवश्यक ठानेनन्, उनै जानून् । यो एउटा प्राविधिक पक्ष हो। विषय सूचीले लेखनको स्तरीयता, विचारको स्पष्टता तथा प्रस्तुतिको कौशलताको मापन गर्ने त होइन । त्यसका लागि पुस्तक नै आद्योपान्त अध्ययन गर्नुपर्ने हुन्छ।
पुस्तक प्राप्त भएको दुई–तीन दिनभित्रको फुर्सदको समयमा पुस्तकका विषयवस्तु र भावलाई क्रमशः छाम्ने कोशिश गर्छु। म साहित्यको अनुरागी मात्र भएको तर विद्यार्थी नभएको हुनाले साहित्यको कोणबाट पुस्तकको परख गर्ने योग्यता मसँग छैन।
खेरेलजीलाई म राजनीतिक चेतनाको सुझबुझ भएको व्यक्ति, नेपालको ट्रेड युनियन आन्दोलनको एउटा चिनिएको नाम र राष्ट्रिय वाणिज्य बैंकको जागिरदारको रुपमा मात्र उनको पहिचानलाई मेरो मानसपटलमा समावेश गरेको हुन्छु । उनका केही साहित्यिक सिर्जनाहरु यसअघि नै प्रकाशित भइसकेकोे तथ्य पनि यो पुस्तकको अध्ययनबाट मात्रै जानकारी हुन आयो । नेपालको पूर्वी पहाड ताप्लेजुङ (मेरो जन्मभूमि पनि), इलाम र झापाको त्यस बेलाको सामाजिक परिवेश, सांस्कृतिक शृङ्खलाहरु, त्यस बेलाको आर्थिक अवस्था, मानिसहरुको मनोविज्ञान र पछौटेपनका परिदृश्यका थुँगाहरु उनेर गाँसिएको रंगीन मालाजस्तै रहेछ ‘यात्रा जिन्दगीको’ ।
पुस्तकको सबैभन्दा बलियो पक्षको बारेमा समकालीन नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व प्रा.डा. श्री गोविन्दराज भट्टराईका शब्दोपहारलाई यहाँ उद्धरण गर्नुपर्दा भूमिकाको शीर्षकमा नै प्रयुक्त शब्दहरु ‘अमर कृति’ले नै पुस्तकको महत्वलाई झल्काएको लाग्छ। यसै गरी ‘तत्कालीन समाजको मानवशास्त्रीय (एन्थ्रोपोलोजिकल) अध्ययन गर्न यतिको सङ्लो कृति पाइँदैन’ भन्ने प्रा.डा. भट्टराईको उक्ति त्यसै भूमिकामा परेको छैन । वास्तवमा यस पुस्तकको केन्द्रीय विषयवस्तु नै समाजशास्त्र र मानवशास्त्रका विविध पहलुहरुको समष्टिगत प्रस्तुति रहेको अनुभूति हुन्छ।
आफैँले, घर–गाउँलेले, छिमेकीले र नातागोताका मानिसले भोगेका, देखेका विषयवस्तुहरुको कुशल संयोजनले नै तत्कालीन समाजका सूचनाका अपार स्रोतहरु पस्किन सफल भएको छ यो पुस्तक।लेखनमा निष्पक्षता, निर्भिकता र तटस्थता पनि गाँस्न सकेको देखिन्छ । यो पुस्तक पढ्दा खुसाउने र रिसाउने पात्रहरु धेरै हुन सक्छन्, खुसाएको कुरा त राम्रो हो तर रिसाउने कुराप्रति पनि संकोच नमानी कलम चलाउन सक्नु उपन्यासकार खरेलजीको वैशिष्ट्य गुण मान्नुपर्छ । खरेलजीको पारिवारिक वृत्तभित्र रहेका विषयवस्तु भए पनि हाम्रो समाजकै प्रतिविम्ब बनेको महसुस हुन्छ पुस्तक पढ्दा ।
स्रष्टा खरेल गाउँको परिवेशमा डुबेका छन्। दुःख, पीडा, धोकाका मूच्र्छना छरेका छन्। निरन्तर साहस र कठोर परिश्रमका पहाड चढेका छन्। रोदनलाई लुकाएर मुस्कराउने प्रयास गरेका छन्। उनी यस सिर्जनाभित्र गरिबी, अभावका कहरहरुका खुट्किला चढी सफलताको शिखरमा सतिसाल भएर उभिएका छन्।
दुःखको सहन गर्न, धैर्यता धारण गर्न उत्प्रेणाका कोसेलीहरु पस्केका छन्। यो नै यस कृतिको सफलता हो भन्ने लागेको छ। मेले केही समयअघि प्रा. कृष्ण खनालकृत ‘विश्वेश्वर प्रसाद कोइराला– चेतना चिन्तन र राजनीति’ पुस्तक पढ्दा त्यो पुस्तकमा न लेखकको तस्वीर, न उनको परिचय, न पदीय ओहदाहरुको सूची केही पनि समावेश नभएको सादगी, शालीन र सौम्यताको परिचय लेखकले दिन खोजेको होला भन्ने ठानेको थिएँ । त्यो पुस्तकको छुट्टै समीक्षा गरेको छु । समयान्तरमा त्यो प्रकाशनमा पनि आउला नै।
मैले यो प्रसंग किन कोट्याएको भने, परिचय आवश्यक नै नपर्ने स्वनामधन्य सर्जकहरुले आफ्नो तस्वीर र परिचय अनि ओहदाका पंक्तिहरु पस्कनै नपर्ने रहेछ । मैले पनि आफू सुपरिचित व्यक्ति हुन नसक्दा पुस्तकमा आफ्नो तस्वीर र परिचय अनि ओहदाको प्रदर्शन गरेको छु । मित्र खरेलजीले पनि मेरैजस्तो गल्ती (मेरो ठम्याइमा) गरेछन् भन्ने लाग्यो ।
धेरै पुस्तकहरु यसो पाना पल्टाएर हेर्दा त्यसभन्दा उता पानै नपल्टाऊँजस्ता लाग्ने पनि हुन्छन् तर खरेलजीको यो पुस्तकले मलाई एकपछि अर्को गर्दै तानिरह्यो र पुस्तक पूरै छिचोल्न बाध्य बनायो। भाव संयोजनका साथमा शब्द संयोजन पनि मिलेको कारणले पुस्तक अभिरुचि जगाउन सफल छ। प्रा.डा. यादव प्रसाद लामिछाने मसँग परिचित व्यक्तित्व हुनुहुन्न, उहाँले आफ्नो भूमिकामा गहिरो विश्लेषणात्मक प्रस्तुति दिएर पुस्तकको परिचयलाई परख गर्नुभएको छ ।
ब्रेन स्ट्रोकजस्तो घातक आक्रमणमा परेर पक्षघात व्यहोर्न पुगेका जगदीश घिमिरेले साहस बटुलेर ‘अन्तर्मनको यात्रा’ लेखेजस्तै खरेलजीले पनि साहस बटुलेर यो पुस्तकको संयोजन गर्नु चानचुने कुरा होइन । मलाई लाग्छ, मित्र खरेलजीको सिर्जनाको भोक अझै मरिसकेको छैन । उनको भावी साहित्यिक यात्रा अझ परिष्कृत हुँदै जाओस्, यस पुस्तकले लोकप्रियता छर्दै जाओस् भन्ने शुभेच्छा अर्पण गर्दै म विश्राम चाहन्छु ।
(लेखक वरिष्ठ अधिवक्ता हुनुहुन्छ ।)
प्रतिक्रिया