राजनीतिको आडमा ठगी धन्दा, फिल्मी शैलीमा प्रहरीलाई छक्याएर भागे खड्का



काठमाडौं ।

राजनीतिको आवरणमा ठगी धन्दा चलाउँदै आएका एक ठगले फिल्मी शैलीमा प्रहरीलाई छक्याएर भाग्न सफल भएका छन्। एक समय कागेश्वरी मनहरामा एकछत्र राज चलाउँदै आएका उद्धव खड्का धन, दौलतको रवाफ देखाएर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुँदै आएका थिए। उनै खड्का प्रहरीले पक्राउ गर्न जाँदा श्रीमतीको सहारा लिएर भाग्न सफल भएका छन्।

काठमाडौं निर्वाचन क्षेत्रनम्बर २ को (ख) को क्षेत्रीय सभापति रहेका खड्काले आइतबार प्रहरीलाई छक्याएर भाग्न सफल भएका हुन् । कमल अधिकारीको जाहेरीमा जिल्ला अदालत काठमाडौंले खड्काविरुद्ध ४४ लाख जरिवाना र कैदको फैसला गरेको थियो। २०७९ कार्तिक ४ गते खड्काविरुद्ध अदालतले उक्त फैसला गरेपछि उनी राजनीतिको आडमा प्रहरी प्रशासनबाट जोगिँदै आएका थिए। पछिल्लो समय सरकार परिवर्तन भएपछि खड्कालाई खोज्न प्रहरी परिचालित थियो ।

प्रहरीले अदालतको फैसला कार्यान्वयनअन्तर्गत खड्काको खोजीलाई तीव्र बनाएको थियो। आइतबार उपत्यका अपराध अनुसन्धान शाखाबाट कागेश्वरी मनहरा नगरपालिका–७ मा रहेको घरमा पुगेको टोलीलाई छक्याएर भाग्न सफल भएको सो घटनाको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले नेपाल समाचारपत्रलाई जानकारी दिए ।

प्रहरीको टोली खड्काका घरमा पुग्दासम्म उनी घरमा नै रहेका थिए। प्रहरीले आफूहरू उपत्यका अपराध अनुसन्धान शाखाबाट आएको बताउनासाथ खड्काकी श्रीमतीले श्रीमान्लाई कोठाभित्र तानेर चुकुल लगादिइन्। प्रहरीले पटकपटक खड्का दम्पतीलाई ढोका खेल्न आग्रह गर्‍यो तर ढोका खुलेन । प्रहरीले पछि ढोका खेलेर हेर्दा पछाडिको बाटोबाट खड्का भाग्न सफल भएको ती अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए ।

खड्काले कमल अधिकारीलाई मात्र होइन एकाघरका दाजुभाइलाई पनि नराम्रोसँग फसाएको स्थानीय बताउँछन्। विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणपछि उनले सञ्चालन गर्दै आएको व्यवसाय धराशयी भएपछि एकपछि अर्को ठगी धन्दा चलाउँदै आएका खड्काले आफ्ना इष्टमित्र मात्र होइन साथीभाइलाई पनि ठगी गर्न छाडेनन् ।

खड्काबाट पीडितहरू अहिले दिनहुँ उपत्यका अपराध अनुसन्धान महाशाखा धाउन थालेका छन्। कहिले के कहिले के बहाना बनाएर ठगी धन्दा चलाउँदै आएका खड्काले आफन्तलाई समेत ठगी गरेको देखेपछि प्रहरी पनि छक्क परेको छ। बाहिरी आवरणमा राजनीति देखाउने गरेका खड्काले ठगी गर्न प्रयोग गर्ने गरेको शैली देखेर प्रहरी पनि हैरान भएको छ।

आफन्तलाई समेत ठगी गरेका खड्काले साथीहरूलाई कसैलाई प्रभावमा पारेर कसैलाई दबाबमा पारेर ठगी गर्दै आएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्