यसरी गरिन्छ नेपालबाट मानव तस्करी



  • १९ देशका ९ क्षेत्रमा तस्करी
  • ५० देखि ८५ लाखसम्म असुल

काठमाडौं ।

मानव बेचखिनमा संलग्न गिरोहले विभिन्न देशमा फरकफरक कामको प्रलोभन देखाएर मानव ओसारपसार गर्ने गरेको तथ्य फेला परेको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोले तयार गरेको तथ्याङ्कअनुसार हालसम्म १९ देशमा विभिन्न कामको प्रलोभन देखाएर मानव बेचबिखन गर्ने गरेको छ ।

गिरोहले विभिन्न नौ क्षेत्रमा फरक देशअनुसार ५० देखि ८५ लाख रुपियाँसम्म लिएर बेचबिखन गर्ने गरेको खुलेको छ। ब्युरोका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक ओमबहादुर रानाले फरक देशमा लाखौं रुपियाँ असुलेर गिरोहले मानव तस्कर गर्ने गरेको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो–गिरोहले फरक देशमा फरकफरक रोजगारीको प्रलोभन देखाएर ठगी गर्न थालेका छन्। गिरोहले भिजिट, डिपेन्डेन्ट, एजुकेसन, सांस्कृतिक, सिजनल भिसामा विदेश लैजाने गरेका छन् । त्यस्तै, रसियन सेना, म्यारिज ब्युरो, आइबर दासत्व, किड्नी ट्रान्सप्लान्ट र सामाजिक सञ्जालमार्फत् वेश्यावृत्ति गराउन विदेश लैजान प्रलोभन देखाउने गरेका छन् ।

नेपालबाट तेस्रो मुलुक जान भारतको दिल्ली, मुम्बई, गोवा, कलकत्तालगायत सहर हुँदै अन्य मुलुकमा बेचबिखनमा पर्ने गरेका छन् । अन्य मुलुकमा भन्दा भारतमा नेपालीहरू धेरै बेचबिखनमा पर्ने गरेका छन् । वैदेशिक रोजगारमा जाँदा प्रक्रिया पूरा गर्न भारत जानुपर्ने बाध्यता भएकाले पनि भारतबाटै मानव तस्कर हुने गरेको ब्युरोको ठहर छ ।

भारतका विभिन्न सहरको डान्सबार, रेस्टुरेन्ट, मसाज पार्लरलगायतका व्यावसायिक क्षेत्रमा श्रमजीवीका रूपमा गएर मानव बेचबिखनमा पर्ने गरेको छ । बेरोजगारी, गरिबी तथा अशिक्षाका कारण प्रलोभनमा परी भारत जाँदा बेचबिखनमा पर्न सक्ने जोखिम बढेको जानकारी गराउँदै ब्युरो प्रमुख एसएसपी रानाले भारतमा रोजगारीमा जाँदा ध्यान दिनुपर्छ भन्नुभयो ।

वैदेशिक रोजगारीमा प्रलोभनमा पारेर भिजिट भिसामा यूएईको दुबई ट्रान्जिट बनाई ओमन, कतार, कुवेत, इराक, साउदी अरेबियालगायतका मुलुकमा घरेलु काममा लगाउने, कम्प्युटरसम्बन्धी काम पाइने भन्दै भिजिट र बिजनेस भिसामा थाइल्यान्ड हुँदै लाओसमा अनलाइन स्क्याम र साइबर दासत्वको काममा लगाउने खुलेको छ।

गिरोहले नेपालका किशोरीहरूलाई कानुनी रूपमा विवाह दर्ता गरी चीन तथा दक्षिण कोरिया लैजाने गरेको घटनासमेत फेला परेको छ । ब्युरो प्रमुख रानाले कानुनी रूपमा विवाह दर्ता गर्दा गिरोहको फान्दामा पर्नबाट जोगिनुपर्ने बताउनुभयो । गिरोहले ओमान, भारत, थाइल्यान्ड, चीन, लाओस, रुस, इराक, कुवेत, दुबई, मलेसिया, कोरिया, युगान्डा, साउदी अरेबियालगायत मुलुकमा बेचबिखन गर्ने गरेका छन् ।

त्यस्तै, एजेन्टले साधारण लेखपढ, आर्थिक अवस्था कमजोर भएका महिलालाई दुबई पठाउने भन्दै विभिन्न प्रलोभनमा पारेर भारतको दिल्ली हँुदै ओमन, कुवेत इराकलगायत मुलुकमा तस्कर गर्ने गरेका छन्। फ्रि भिसा, फ्रि टिकटको आसमा युवतीलाई घरेलु काममा लगाउने भन्दै सो कामविपरीत यौनशोषणमा लगाएर शारीरिक तथा मानसिक यातना दिएर बन्धक बनाउने काम गरेको पाइएको ब्युरो प्रमुख एसएसपी रानाले बताउनुभयो।

मुख्यतया अवैध मार्ग प्रयोग गरी दलालले नेपालीलाई अमेरिका लैजाने सपना देखाएर तस्कर गर्ने, रसियन सेनामा भर्ना हुने, स्थायी बसोबास अनुमति प्राप्त गर्ने पूर्वसेना, प्रहरी र युवालाई तस्कर गर्ने, कामदार र विद्यार्थीलाई सेन्जेन भिसामा विदेश लैजान एजुकेसन कन्सल्टेन्सीको प्रयोग बढेको पाइएको छ। प्रहरीले विशेष गरी रसियन र युक्रेनयुद्ध भइरहेको अवस्थामा रसियन सेनामा भर्ती गराउन मानव तस्कर हुने गरेको ठम्याएको छ।

ब्युरोका अनुसार तस्करले एजेन्ट खटाएर पीडितलाई बसबाट भारत लैजाने र भारतबाट अन्य मुलुकमा लैजाने प्रवृत्ति बढेको छ। त्यस्तै, होल्ड भएको राहदानी र राहदानी बुझाउने व्यक्तिहरूको राहदानीलाई पुनः नयाँ राहदानी बनाएर तस्कर गर्ने गरेको पाइएको छ।

ब्युरो प्रमुख एसएसपी रानाले मानव बेचबिखनको स्वरूपमा परिवर्तन भएसँगै मावन बेचबिखनको घटना बढेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘विगतमा मानव बेचबिखन भन्नाले चेलीबेटी बेचबिखनलाई मात्र बुझिन्थ्यो, हाल विभिन्न आवरणमा पुरुषहरूसमेत पीडित भएको देखिन्छ। उनीहरू वैदेशिक रोजगारीका नाममा रुसी सेनामा भर्ती हुने भनेर मानव तस्कर गरेको घटनाले पनि पुष्टि गरेको छ।

तस्करले अवैध बाटोबाट अमेरिका लैजान ५० लाखदेखि ८५ लाख रुपियाँसम्म बुझाएको ब्युरोको भनाइ छ। जनचेतनाको कमी हो वा विदेश जाने हुटहुटीका कारण नेपालीहरू लाखौं रुपियाँमा तस्कर हुने गरेको एसएसपी रानाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्