टी-२० विश्वकप

सन्दीप लामिछानेले दक्षिण अफ्रिका र बङ्गलादेशविरुद्धको खेल खेल्ने



काठमाडौं ।

क्रिकेटर सन्दीप लामिछानेले आइसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इन्डिजमा हुने दुई खेल खेल्ने भएका छन्। नेपालले वेस्ट इन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशसँग प्रतिस्पर्धा गर्ने तालिका छ।

दुवै खेलमा सन्दीपले सहभागिता जनाउने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। (क्यान)ले सोमबार बिहान विज्ञप्ति जारी गर्दै सन्दीपलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश गरिएको जनाएको छ।

पूर्वघोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीपलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेस गरेको क्यानले विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ।

विश्वकप क्रिकेट २०२४ का खेल अमेरिका र वेष्टइण्डिजमा भइरहेका छन् । अमेरिकाले भिसा नदिएपछि क्रिकेटर लामिछाने विश्वकप खेल्न जान पाएका थिएनन्।

अमेरिकामा भएको नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा पराजित भएको नेपालले आफ्नो दोस्रो खेल यही जेठ ३० गते अमेरिकामै श्रीलङ्कासँग खेल्नेछ । उक्त खेल खेलेपछि नेपाली टोली वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा पुग्नेछ । त्यहाँ नेपालले दक्षिण अफ्रिका र बङ्गलादेशसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्