मोदीको सपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड सहभागी हुँदै

राजदूतविहिन बनाइदा संशय



काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रिपूर्ण निमन्त्रणामा भाेलि भारतको औपचारिक भ्रमणमा जानुहुने भएको छ ।

मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले आइतबार नयाँदिल्लीमा हुने भारतीय प्रधानमन्त्री मोदीको तेस्रो कार्यकालको शपथ ग्रहणका लागि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गरेको हो । सोही बैठकले भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मालाई पनि फिर्ता बोलाउने निर्णय गरेपछि सरकार नियतमाथि संशय खडा भएको छ ।

भइरहको राजदूतलाई फिर्ता बोलाएर राजदूत विहिन अवस्था बनाएर प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई कुटनीतिक बृत्तमा खासै राम्रो मानिएको छैन । परराष्ट्र मामिलाका जानकार एवं पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले भारतको राजदूत फिर्ता बोलाउने निर्णय गलत समयमा गरिएको टिप्पणी गर्दै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘एक त सरकार परिवर्तन हुने वितिकै अघिल्लो सरकारले नियुक्त गरेका राजदूतहरुलाई फिर्ता बोलाउने प्रचलन नै गलत छ, त्यसमाथि अहिले प्रधानमन्त्रीको भारत भ्रमणअघि राजदूत फिर्ता बोलाउनु झनै गलत भयो ।

यसबाट प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीको बीचमा हुने गोप्य कुराकानी विपक्षी कांग्रेसलाई थाह नहोस् भन्ने प्रधानमन्त्रीको चाहना हो की भन्ने शंका उत्पन्न भएको छ ।’ राजदूत शर्मालाई यतिबेला फिर्ता बोलाउँदा कुटनीतिक समुदायमा नराम्रो सन्देश गएको टिप्पणी गर्दै अर्का परराष्ट्रवीद् डा. दिनेश भट्टराईले भन्नुभयो– ‘भारतको राजदूत नियुक्त गर्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा उहाँको पार्टी नै सरकारमा थियो । त्यस्तो असहमति हुनुपर्ने त केही देखिन्दैन ।

त्यसमाथि भारत भ्रमणकै मुखमा भारतका राजदूतलाई फिर्ता बोलाउनुले अन्तर्राष्ट्रिय कुटनीतिक समुदायमा राम्रो सन्देश जाँदैन । फर्केपछि फिर्ता बोलाउँदा सन्देश पनि राम्रै जान्थ्यो ।’ उहाँले भन्नुभयो– ‘हाम्रो परराष्ट्र सम्बन्ध कुनै विचारधारासँग आधारित छैन र हुनुहुँदैन । तर देउवा नेतृत्वकै सरकारले नियुक्त गरेको चीन र रुसको राजदुत चाहिं नबोलाउनु र बाँकीलाई फिर्ता बोलाएर के सन्देश खोज्नुभएको हो ? गठबन्धनको सहयात्री दलको दबाब भन्दैमा उहाँले यस्तो गलत सन्देश जाने काम गर्नुहुन्न थियो ।’

शुक्रबार तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त हुनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भाेलि साँझ सपथ ग्रहणको भब्य समारोह आयोजना हुँदैछ । सोही समारोहमा सहभागी हुन भाेलि भारततर्फ जान लाग्नुभएका प्रधानमन्त्री प्रचण्डको शपथ ग्रहणपछि मोदीसँग संक्षिप्त भेटवार्ता तय भएको दिल्लीस्थित नेपाली दूताबास स्रोतले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्डसँगै उहाँकी छोरी गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी तथा उच्चपदस्थ सरकारी कर्मचारी पनि सपथ ग्रहण समारोहमा सहभागी हुनुहुनेछ । उहाँ सोमबार स्वदेश फर्कने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डले यसअघि गत जेठमा भारतको औपचारिक भ्रमण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्