बजेट कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्ने अध्यक्ष ओलीको सुझाव



काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ ।

एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको दोस्रो जिल्ला अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले बजेटको प्रभावकारी कार्यान्वयनका लागि नमिलेका र सच्च्याउने कतिपय विषयमा सरकारसँग छलफल भइरहेको बताउनुभयो । “मुलुकमा उद्यमशीलतालाई प्रोत्साहन गर्न कच्चा पदार्थको आयात सहज हुनुपर्ने र करका दर कम हुनुपर्नेमा ध्यान जान सकेन, यस विषयमा सरकारको ध्यानाकर्षण गराइसकेको छु । बजेटलाई प्रभावकारी कार्यान्वयनका लागि अरु के–के विषय सच्च्याउनुपर्दछ भन्ने सन्दर्भमा पनि कुरा भइरहेको छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले अब हामी आफैँले पुँजी र प्रविधि विकासका गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो पँुजी र प्रविधिले पुगेन भने बाहिरबाट ल्याउनुपर्दछ तर मुख्यतः हामी आफैँले उत्पादन तथा पुँजीको सिर्जना र विकासमा ध्यान दिन आवश्यक छ ।”

उहाँले मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याए पनि फाइदा लिन नसकिएको भन्दै अब रोजगारीका अवसर सिर्जना हुनेगरी लगानीको उपयोग हुन जरुरी रहेको धारणा राख्नुभयो । देशलाई औद्योगिकीकरण र रोजगारीको अवसर सिर्जना गर्ने खालका लगानी भित्र्याउनुपर्नेमा उहाँको जोड थियो ।

अध्यक्ष ओलीले उद्योगमा प्रविधिको प्रयोगले औद्योगिकीकरणको भविष्य निर्धारण गर्ने भन्दै कृषिको आधुनिकीकरण र औद्योगिकीकरण गर्न नसके देशको अवस्था नबदलिने बताउनुभयो ।

पार्टीका पोलिटब्यूरो सदस्य सुजिता शाक्यले मुलुकमा उद्योग स्थापना गरेर रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्