सगरमाथा आरोहणमा जर्ज मेलोरीको अन्तरकथा



आज ८ जुन उनको १०० औ स्मृति दिवस  बेलायतका जर्ज मेलोरी जो सगरमाथा चढ्दाचढ्दै त्यही देह त्याग गर्न पुगे  । उनी तीन-तीनपटक   सगरमाथा चढ्दा हरेक पटक विश्वको सबै भन्दा उच्च स्थानमा पनि पुगे । तर, विडम्बना चुचुरो चुमेको प्रमाणिक हुन नसकेको सम्भावित  पहिलो सगरमाथा आरोही पनि भए ।उनी सफल सगरमाथा आरोही हुन सकेनन् र उनी  त्यही सगरमाथाको काखमा हराए । इतिहास जित्नेहरुको बखान हुन्छ तर , हार्नेहरुको त प्रयास र मेहनत समेत गुमनाम हुन्छ । उनी  हराएको दिन त्यो ८ जुन १९२४ र आजको ८ जुन २०२४ को हिसाबले  उनी सगरमाथाको शिरमा हराएको आज ठ्याक्कै १०० वर्ष पुगेको छ। उनको १००औं स्मृति दिवसको अवसरमा उनै हारेका जर्ज मेलोरीको सम्झनामा  उनको अन्तरकथा संक्षिप्त रुपमा लेख्ने जमर्को गर्दछु ।

 सन् १८५२ मा आएर सगरमाथालाई विश्वको सर्वोच्च शिखर रहेको घोषणा गरिएको थियो । सुरुमा  २९००२ फिट (८८४० मि) नापिएकोमा पछि २९०२८ फिट (८८४८ मि) हुँदै हाल २९०३१.६९ फिट (८८४८.८६ मि) यसको उचाई पुष्टि भइसकेको छ । त्यस समयमा र अहिले पनि सगरमाथालाई तिब्बतीहरुले चोमोलोङ्गमा नेपालीहरुले झ्यामोलोङ्गमा भन्छन् भने सगरमाथा मापन गर्दा “पिक फिप्टिन“ अर्थात पन्ध्रौं चुली भनियो । सर्भे अफ इन्डिया (भारतको नापी विभाग) हिमाल मापन टोलीका सदस्य राधानाथ सिकन्दर(वंगाली) ले सगरमाथा विश्वको सबैभन्दा अग्लो भनेर सर्वप्रथम उनले भनेका थिए भने उनैका हाकिम भारतको नापी विभागका सर्भेयर जनरल जर्ज एभरेस्टको नामबाट सन १८६५(वि स १९२१) मा यस चुचुरोको नाम एभरेस्ट नामाकरण गरियो । पछि सन १९५६ (वि स २०१२)मा इतिहास शिरोमणि बाबुराम आचार्यले नेपालीमा सगरमाथा राखे ।

सगरमाथा सबैभन्दा अग्लो चुचुरो पुष्टि भएसंगै यसको चुचुरोमा पुग्न सकिने/ नसकिने बारे अनुसन्धान हुन थाले । बेलायतीहरुले यसको मापन र नामाङ्कन गरेपछि उनीहरु नै यो पहिलो पटक चढ्ने मिसनमा पनि लागे । बेलायत कै एल्पिनिस्ट एवं चिकित्सक क्लिन्टन थोमस डेन्टले सन १८८५ मा “एबभ द स्नोलाइट“ नामक पुस्तक मार्फत एभरेस्टमा मानव पुग्न सक्ने सम्भव छ  भनेको सोचलाई सन १९१६ मा  ए एम केल्लासको अध्ययनले थप पुष्टि गरे।

 यही  सोच र अध्ययनलाई आधार मनेर बेलायतीहरु नै संसारकै सर्वाधिक अग्लो चुचुरो पहिलो पटक आफूहरु नै पुग्ने लक्ष्य लिएर तात्कालिक समयमा लगातार तिनै पटकको टोलीमा एक मात्र सदस्य जर्ज मेलोरी  सहभागी भएको टिम अगाडि बढ्यो । तर, सफलता हासिल हुन सकेन ठूलो जन–धन को क्षति हुन पुग्यो।

को हुन मेलोरी ? 

 बेलायतको चेशायर स्थित मोवर्ली गाउँमा  एक पादरी परिवारमा जन्मेका मेलोरी अर्थात जर्ज मेलोरीको पूरा नाम जर्ज हर्वर्ट ली मेलोरी हो । हेर्दा पनि सुन्दर, लरक्क  र आकर्षक देखिने उनी  चुनौतीपूर्ण काम गर्न रुचाउने सबैका प्रिय समेत थिए ।

कलेज सकेपछि केही  समय शिक्षक भए तर लगत्तै सेनामा भर्ति भएर पहिलो विश्वयुद्धमा लेफ्टिनेन्ट पदबाट सहभागी भएर युद्ध लडे । पर्वतारोहण क्षेत्रमा चासो दिँदादिँदै त्यो पुस्ताका एक अनुभवी पर्वतारोही कहलिएका थिए । सन १९२४  मा सगरमाथामा हराउदासम्म मात्र उनी  ३७ वर्षका थिए । थोरै उमेरमा तात्कालिक समयमा उनले पर्वतारोहण क्षेत्रमा खेलेको भूमिका साँच्चै मनन योग्य छ।

उनको आरोहण अभियान:   
सन १९१९ मा पर्वतारोहणको पहिलो संगठन “अल्पाइन क्लब“ र ज्योग्राफिकल सोसाइटीको समन्वयमा एभरेस्ट आरोहणका लागि सम्भाव्यता अध्ययन टोली गठन गरियो । ९ सदस्य उक्त टोलीमा जर्ज मेलोरी  पनि सदस्य थिए । उक्त टोलीले नेपालमा विदेशीका लागि खुला नभएकाले  दलाई लामाबाट तिब्बत प्रवेशको अनुमति लिएर सिक्किम हुँदै  एभरेस्ट आरोहणको सम्भाव्यता अध्ययन सहित पूर्वावलोकन र नक्साङ्कन गरेको थियो । सोही आधारमा सन १९२१ मे १८ मा पहिलो पटक दार्जिलिङबाट “ब्रिटिस माउन्ट एभरेस्ट रिकोनोडेन्स एक्सिपिडिसन “ सुरु भो र २३ सेप्टेम्बरका दिन जर्ज मेलोरीको टिम नर्थकोलको २३०३० फिट (७०१९ मिटर) सम्म पुगेर बाटो पत्ता लगाउने, अनुभव र साहस बटुलेर फर्कियो । सन १९२२ मा उनी समेत सहभागी भएर “ब्रिटिस माउन्ट एभरेस्ट एक्सिपिडिसन“ टिम आरम्भ भो।

यसपटक चुचुरो चुम्ने मिसनमा रहेको टोली २६८०० फिट (८१६८ मिटर) पुगेपछि दुर्भाग्य ७ जना भरियाहरु हिम पहिरोमा परेर म्रुत्युवरण हुन पुगे र आरोहण अभियान स्थगन हुन पुग्यो । सन १९२३ मा भने कार्यक्रम  स्थगित नै भयो। तर, तयारी चाहिँ  भै नै रहयो।  १९२४ मा “ब्रिटिस माउन्ट एभरेस्ट एक्सिपिडिसन“ कै नामबाट  लगातार आरोहणमा संलग्न एक मात्र सदस्य जर्ज मेलोरीको टिममा उनकै साथी  अक्सिजन विज्ञ एवं इन्जिनियर इरवाइनको साथ समेत थियो । अघिल्लो २ पटक अक्सिजन नभएको यस पटक अक्सिजनसहित विज्ञ समेत संलग्न हुँदा  पनि लामो प्रयास गर्दागर्दै ८ जुनका दिन २८१२६ फिट(८५७२ मिटर) सम्म पुगेको कुरा ८३०० मिटर स्थित सातौं क्याम्पमा रहेका अर्का आरोहि एड्वार्ड नोइनले देखेका थिए भने सन १९९९ मा उनको लास नै २६७६० फिट(८१५६ मिटर) मा फेला परेको थियो । मौसम अत्यन्तै खराब भएको कारण मेलोरी र इरवाइन हराएपछि उनी हरुको मृत्यु भएको एकिनसहित दुःखद पिडा बोकेर अन्य आरोहीहरु फर्किए तर झिनो आस रहेका ती  २ जना भने कहिल्यै फर्किएनन् ।

 उनी सगरमाथा चुचुरो पुगेको आधार: 

मेलोरीले सगरमाथा चढ्न देखाएको दृढ इच्छाशक्ति र आत्मविश्वास नै सबै भन्दा ठूलो थियो जसले गर्दा चुचुरो नपुग्दासम्म निरन्तरता दिई रहे । अघिल्लो दुई पटक अक्सिजन थिएन तर यस पटक अक्सिजनसहित विज्ञ साथी पनि थिए । चुचुरोको नजिक उत्तरी मोहडाको सेकेन्डस्टेप पुगेको त ८ जुन बिहानसम्म अर्का साथी  ओडेलले नै देखेका थिए जहाँबाट चुचुरो पुग्न धेरै समय लाग्ने थिएन । लास भेटिदा उनको चस्मा पकेटमा भेटिनुले चुचुरो चढेपछि फर्किदा रात परेर पकेटमा हालेको हुन सक्ने अनुमान गरिन्छ । सबै भन्दा महत्त्वपूर्ण  उनले श्रीमती साथीभाइ जसलाई पनि चुचुरोमा पुगेपछि मैले यो फोटो(आफू  र श्रीमती भएको तस्बिर)चढाउने छु भनेका र सधैँ उक्त फोटो साथको पकेटमा हुने गरेको तर लास भेटिदा उक्त फोटो उनको साथमा भेटिएन । उनको पकेटमा सधैँ क्यामेरा हुने गरेको तर शव भेटिदा त्यो पनि भेटिएन तर चुचुरो चुम्दा फोटो खिच्न इरवाइनलाई दिएको हुन सक्ने अनुमान समेत गरिन्छ जसको शव आजसम्म भेटिएको छैन ।

 उनको मृत्यु र शवको खोजी:  

८ जुनका दिन बिहानसम्म क्याप–७ (करिब ८३००मि.)मा आराम गरिरहेका उनकै साथी  ओडेलले केही  पर उनीहरु  एकपछि अर्को गर्दै चुचुरो तिर उक्लिदै गरेको देखेका थिए । सोही समय तिर अचानक मौसम खराब भो र उनीहरु देखिन छोडे।

 केही  दिन समय त उनिहरु सोही क्याम्पमा कुरेर बस्छन् तर मौसम झन् झन् खराब हुँदै गएको तर साथीहरु फर्किएर नआएकोले उनीहरु अब जिउँदो रहेको आस मारेर मृत्यु भएको टुङ्गोमा पुग्छन् र आफूहरु फर्किन्छन् । उनीहरु फर्किएपछि मेलोरी र इर्वाइनको मृत्युको खबर संसार भर फैलियो । यति ठुलो समाचार बन्यो कि सारा बेलायत नै स्तब्ध भयो र सार्वजनिक रुपमै शोक मनायो ।  बेलायती राजा स्वयंले परिवारलाई समवेदना दिएका थिए । यो घटना पछि लामो समय ९ वर्षसम्म आरोहण अभियान नै हुन सकेन ।

 सन १९३३ बाट बल्ल आरोहण प्रयास हुन थाले भने बेलायत लगायत कतिपय देशका  टिमले आरोहणसंगसंगै मेलोरी र इर्वाइनको खोजविन गर्न थाले । यस्तै खोजविनको चरणमा ७५ वर्षपछि सन १९९९ मा सगरमाथाको काख ८१२६ मिटरमा मेलोरीको शव फेला पर्‍यो । फेरि आश्चर्यचकित हुँदै  जर्ज मेलोरीका बारेमा संसार भर प्रमुख समाचार बन्यो  । तर जति प्रयास गर्दा पनि इर्वाइन को भने आजसम्म शव फेला पर्न सकेको छैन।

उनको लास सगरमाथाको गर्भ मै हराई रहेको छ । उनीहरु सगरमाथा चुचुरो पुगेको हुन सक्ने प्रमाण भेटिन सक्ने झिनो आस अझै सगरमाथा कै गर्भमा लुकेको छ ।

शवसँगै भेटिएका सामानहरु:

लामो खोज अनुसन्धान पछि भेटिएको जर्ज मेलोरीको शवसँगै केही  सामानहरु त भेटिए तर उनको क्यामेरा फेला पर्न सकेन । लाससँगै भेटिएका सामानहरुमा ब्रान्ड एण्ड कम्पनी साभोरी मिट लेनोज लेखेको सुख्खा खानेकुराको टिनको बट्टा, सिसा फुटेको पित्तलको अल्टिमिटर, पकेट चक्कु, छाप भएको रुमाल, भित्री पकेटमा एक जोडि सनग्लास,मोजा, जिङ्क अक्साइड,केही  चिट्ठीपत्रहरु, स्वानभिस्ता नामक सलाईको बट्टा, स्कार्फमा छोपेर राखिएको रुथ वाहेकका केही  फोटोग्राफी, ए डब्लु गामाका लेखेको विल जहाँबाट उनले फिर्ता गर्ने सर्तमा ५ जोडी ग्लोभ्स लिएका थिए ।

पर्वतारोहण क्षेत्रमा उनको देन:

तात्कालिक समयका चर्चित पर्वतारोही जो सगरमाथा चढ्न दृढ इच्छाशक्तिका साथ निरन्तर गरेको प्रयासका कारण सन १९२३ मा उनी अमेरिका जाँदा न्युयोर्क टाइम्सले लिएको एक अन्तर्वार्तामा तपाई किन माउन्ट एभरेस्ट चढ्न चाहनुहुन्छ ? भन्ने प्रश्नमा उनले दिएको जवाफ “विकज इट्स देयर“भनेको कुरा यति चर्चा पायो कि आज पनि पर्वतारोहण क्षेत्रमा यो शब्द विश्व चर्चित नै छ । उनीहरुले पछ्याएको पाइलाहरुलाई नै पछ्याउँदै २९ वर्ष पछि २९ मे १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सर्वप्रथम चुचुरो चुम्दा समेत उनीहरुले भनेका थिए। शिखरमा पुगेर वरपर हेर्यौ, मेलोरीको स्मृति आयो, उनले शिखरसम्म पुगेर फर्केको कुनै संकेत छ कि भनेर खोज्यौ।  तर, केही  फेला पर्न सकेन तैपनि एभरेस्टमा उनीहरुले मानवीय गतिविधि सुरु गरेको परिणाम स्वरूप नै आफूहरुले चुचुरो चुम्न सफल भएको हो । त्यो देनका लागि हामी मेलोरी र उनका साथीहरूको सम्झना गर्‍यौँ  ।

त्यसपछि प्रत्येक वर्ष सगरमाथामा अनेकौँ रेकर्ड राख्ने देखि थुप्रै आरोहीहरुले आरोहण गर्ने गरेका छन् । हालसम्म सगरमाथा चढ्नेको संख्या हेर्दा ७ हजार जना भन्दा बढी  पुगिसकेका छन् ।

 निष्कर्ष :   

   वास्तवमा यति लामो संघर्ष, निरन्तर प्रयास, त्यो बेलाको चर्चित पर्वतारोही, सर्वोच्च शिखर चुमेको पुष्टि हुन नसके पनि चुम्न खोज्दा दुर्घटनामा परि हराएको दिन ८ जुनलाई नै सगरमाथा दिवस मान्नु पर्थ्यो । आज ८ जुन उनको स्मृति दिवस नै भएकाले पुनः सम्झना स्वरूप उनी  र उनको टिम प्रति हार्दिक नमन गर्न चाहन्छु।

लेखक: (निजामती कर्मचारी सगरमाथा आरोही हुन्)

प्रतिक्रिया दिनुहोस्