नेपालमा विचित्रको अवस्था छ । देशले लोकतान्त्रिक प्रणालीको अवलम्बन गरिराखेको छ तर अपेक्षित गति लिन सकेको छैन। नेपाली नागरिकहरू निराश भइराखेका छन्। लोकतन्त्रको प्राप्ति र पुनप्र्राप्तिका लागि अनवरत त्याग र तपस्या गरेका राजनीतिक दलका नेतृत्वपंक्तिमा रहनेदेखि कार्यकर्ताहरूसमेत जनताका नजरमा स्वीकार्य हुन सकेका छैनन्। मतदाता नागरिकहरुले विश्वास गर्नलायक राजनीतिक दल र राजनेताहरू पाउन सकेका छैनन्। वैकल्पिक शक्तिका रुपमा राष्ट्रिय राजनीतिमा देखिएकाहरुको पनि जनताले नकारात्मकरुपमा लिई अल्पअवधिमै विश्वास गुमाइराखेका छन्। इलामको उपनिर्वाचनले यही संकेत गरेको छ।
ठूला भ्रष्टाचारीहरुमाथि कारबाही गर्न हालसम्मका सरकारमा रहनेहरूमा कुनै उत्साह देखिएन। सुनकाण्ड, ललितानिवास प्रकरणमा नेतृत्वलाई बचाउने, गलत निर्देशन र आदेशको कार्यान्वयन गर्ने कर्मचारीहरू मात्र कारबाहीमा परेका छन्, जनता अलमलमा छन्। राजनीति गर्नेहरू गलत प्रवृत्तिमा अभ्यस्त छन् । न्यायिक क्रियाशीलता र संवैधानिक सर्वोच्चताका नाममा न्यायपालिकाले समेत तीव्ररुपमा आलोचनाको सामना गर्नुपरिराखेको छ।
राजनीतिक परिवर्तनपश्चात् आर्थिक समुन्नतिको चाहना राष्ट्रप्रेमी जनताले गरिरहँदा देश यस दिशामा अघि बढ्न सकेको छैन । यतिखेर मिडिया र सर्वोच्च अदालत नै आमनेसामने भएका छन् । शक्ति सन्तुलन र पृथकीकरणको व्याख्या र अभ्यास राज्यका तीनवटै अंगहरुले आफूखुशी गरिराखेका छन् । यस्ता अभ्यासहरूबाट लोकतन्त्रप्रति नै वितृष्णा फैलिने सन्त्रास बढेको छ । राजनीतिक पात्रहरू यो अवस्थाका लागि ज्यादा जिम्मेवार देखिन्छन् । तर के राजनीतिज्ञहरुले मात्र देशको यस प्रकारको पीडादायी अवस्था सृजना गरेका हुन् ? राज्यका अन्य अंगहरू र समग्र समाज यसका लागि जिम्मेवार छन् वा छैनन् ? एकले अर्कालाई आलोचना गरेर राष्ट्रका संगीन समस्याहरुको समाधान सम्भव हुँदैन । यस्ता विषयमा अध्ययन, अनुसन्धान र विश्लेशण जरुरी भएको छ । यिनै विषयमा केन्द्रित भएर संक्षेपमा नेपालको सन्दर्भमा विश्लेशण गर्ने प्रयास यो सानो आलेखमा गरिएको छ ।
आधुनिक विश्व लोकतन्त्रको पक्षमा आफ्नो प्रतिबद्धता जाहेर गर्दै छ । सर्वसत्तावाद र तानाशाही तन्त्र क्रमशः लोप हुँदै छन् । राजतन्त्रलाई सामन्तवादको प्रतिकका रूपमा आत्मसात् गर्दै कतिपय देश गणतन्त्र उन्मुख भइराखेका छन् । राजनीतिक प्रणालीका सबल र दुर्बल पक्षभन्दा पनि त्यसबाट देश र जनताले प्राप्त गर्न सकेका उपलब्धिका बारेमा विश्लेषण गर्ने प्रवृत्ति बढ्दै गएको छ । विश्वका अधिकांश देशले स्वीकार गर्दै आएको लोकतन्त्रवादी व्यवस्थासमेत संकटमा पर्दै गएको छ । लोकतन्त्रका खराबीलाई यथासमयमा नियन्त्रण गर्न नसक्दा कतिपय देशले असल शासनको अनुभूति गर्न पाएका छैनन् । स्वतन्त्र र उन्मुक्त वातावरणमा बाँच्न पाउने अधिकारका कारण सम्पूर्ण प्राणीको आकर्षण बन्दै गएको लोकतान्त्रिक प्रणाली नेतृत्व गर्ने पात्रहरूका कारण असफल हुँदै गएको छ ।
त्यसैले देशमा कस्तो प्रकारको शासन प्रणाली छ भन्ने भन्दा यसलाई नेतृत्व प्रदान गर्ने कस्ता शासकीय शैलीमा अभ्यस्त छन् ? भन्ने विषय बढी निर्णायक भएको पाइन्छ । लोकतन्त्रकै आधारमा शासन प्रणाली सञ्चालन गर्दै देशको भलाइका लागि तानाशाहकै रूपमा प्रस्तुति दिने शासकसमेत अपवादकै रूपमा भए पनि सफल प्रमाणित भएका छन् । यद्यपि, तुलनात्मकरूपमा अन्य शासन प्रणाली अवलम्बन गर्नेभन्दा लोकतान्त्रिक प्रणालीलाई आत्मसात् गर्ने देशहरू नै समृद्धिको गन्तव्यतर्फ अघि बढेको पाइन्छ ।
भारतमा मुगल र ब्रिटिसको शासन लामो समयसम्म रह्यो । देश स्वतन्त्र भएको लामो अवधि हुँदासमेत त्यहाँ भ्रष्टाचार र सामाजिक विकृतिमा खासै सुधार आउन सकेको छैन । अपवादबाहेक लोकतान्त्रिक पद्धतिबाट निर्वाचित भएकाहरू भ्रष्ट देखिँदै गएका छन् । लामो समयसम्मको दासत्व शैलीमा अभ्यस्त भएकाले आफ्नो संस्कारमा सुधार ल्याउने कार्य प्रभावकारीरूपमा हालसम्म पनि हुन सकेको पाइँदैन । उपनिवेशमा रहेकाहरू, विदेशी हस्तक्षेपबाट आक्रान्त भएका देशहरूमा दासत्व प्रवृत्ति धेरै हुन्छ । यस्तो दासत्वले सबै प्रकारका विकृति आमन्त्रण गर्छ । यही सन्दर्भमा हाम्रो सामाजिक परिवेश, राजनीतिक प्रणाली, सुशासनको अवस्था सबै निर्धारित हुन पुगेको परिवेशलाई स्मरण गर्नुपर्ने हुन्छ । हामी सधैँ राजनीतिज्ञ र सरकारमा रहनेलाई दोषारोपण गर्न अभ्यस्त छौँ । हाम्रै बीचबाट शक्तिमा पुगेकाहरू सबै खराब र उनीहरुलाई नै जिम्मेवारीमा पु¥याउने हामी कत्तिको जिम्मेवार छौँ ? भन्ने कुराको लेखाजोखा पनि हुनुपर्छ । राजनीति गर्नेहरू हामीभन्दा पृथक पात्र हुन सक्दैनन् । यही समाजबाट आएका हाम्रा प्रतिनिधिमा जिम्मेवारीबोध र कर्तव्यपरायणताको कमी देखिन्छ । अर्कोतर्फ सर्वसाधारणले पटक–पटक सार्वभौम अधिकारको सदुपयोग नगरी त्यस्ता प्रवृत्ति बोकेका पात्रलाई प्रतिनिधिका रूपमा छनोट गर्छन् । आफैँले निर्वाचित गरी पठाएका प्रतिनिधिको बदनाम गरेर सन्तुष्टि लिन्छन्, यो चक्रीय प्रणालीका रूपमा नेपालमा विकसित भइराखेको छ ।
प्रतिनिधि र हामी मतदाता दुवैले आफ्नो अधिकारको सही सदुपयोग नगरेको अवस्था छ । कतिपयले देशले अवलम्बन गरिआएको लोकतान्त्रिक प्रणालीको समेत खुलेर आलोचना गरिराखेको देखिन्छ । निर्वाचनमा मतदातालाई राजनीतिज्ञहरुले स्वीकृत गराएका छन् भन्ने आरोप राजनीतिज्ञमाथि लाग्ने गरेको छ । हामीले अरूको अधिकार, स्वतन्त्रता, धर्म, रीतिरिवाज र संस्कृतिको पूर्ण सम्मान गर्ने दृढता व्यवहारमा गर्न सक्नुपर्छ । समाजमा जातपात, छुवाछूत आदिका आधारमा विभेदपूर्ण व्यवहार गर्दा हामीलाई थोरै पनि असहज हुँदैन । हामीले सम्पन्न कुलीन परिवारको सदस्यले गरिब दलित परिवारको कन्यासँग मागी विवाह गर्न सक्ने साहस गर्न सक्दा मात्र छुवाछूतजस्तो सामाजिक अन्धविश्वासमा सुधार गरी सामाजिक परिवर्तन गर्न सक्छौँ । विभेदपूर्ण व्यवहारबाट उन्मुक्ति पाउन सक्छौँ । यसका लागि हाम्रो सामाजिक परिवेशमा सुधार हुनु जरुरी छ । यस प्रकारको समाज सुधारका रूपमा उपस्थिति दिन सक्ने व्यक्ति र त्यसलाई स्वीकार गर्ने समाजकै अभाव छ । यस परिवेशमा छुवाछूतविरुद्ध सैद्धान्तिक अभिव्यक्ति दिएर खासै अर्थ रहँदैन । व्यवहारमा स्वीकार गर्न नसक्दा विभेदपूर्ण प्रवृत्तिको अन्त्य हुँदैन । हाम्रा नेताहरू हामीभित्र रहेका कमी–कमजोरीसँग परिचित छन् । त्यसैले हामीलाई आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्छन्, प्रयोजन सकिएपश्चात् परित्याग गर्छन् ।
यस यथार्थताको पहिचान हामीले गर्न सक्नुपर्छ । हामीलाई नेताले यसरी प्रयोग गर्दा उनीहरूलाई दोष दिनुभन्दा पनि यो अवसर हामीले नै उनीहरूलाई स्वतस्फूर्तरूपमा प्रदान गरेका हौँ । निर्वाचन खर्चिलो भयो, निर्वाचनमा मत खरिद गरेर सत्तामा पुगेकाहरू अत्यन्त भ्रष्ट भएकाले निर्वाचन प्रणालीमा पुनरावलोकन हुनुपर्ने माग नागरिकले गरिराखेको देखिन्छ । हामी आफ्नै क्षणिक स्वार्थमा बेचिएको पक्षलाई विस्मरण गर्छाैं । पवित्र मतको महत्वबोध हामीमा भएन । आफ्ना अनियमित कार्यको संरक्षण गरिदिने राजनीतिज्ञप्रति हामी आकर्षित भई मतपत्रको सही प्रयोग गर्न नसकेको अवस्था छ।
आफूबाहेक सबैलाई भ्रष्ट देख्ने हामी आफैँ कति सही छौँ ? भन्नेतर्फ ध्यान दिनुपर्छ। आफूलाई फाइदा हुने अवस्थामा हामी मौन बस्छौँ । व्यापारी, उद्योगपति र कर्मचारीबीच देखिने मित्रवत् व्यवहार, ठेकेदार र इन्जिनियरबीचको लेनदेन, राजनीतिज्ञ र उद्योगी व्यापारीबीचको गठबन्धन आदि भ्रष्टाचारका स्रोत हुन्। दहेज प्रथाबाट आजित भई दाम्पत्य जीवन मात्र होइन, जीवनलीला नै जोखिममा पारेका महिलाले आफ्ना पति र घर–परिवारविरुद्ध न्याय प्राप्तिका लागि तयार भएको अवस्थासमेत उल्लेखनीय देखिँदैन। त्यसैले राजनीतिज्ञहरू पनि हामीजस्तै हुन्, हाम्रै व्यवहार, कार्यशैली, सीप सिकेर सत्तामा पुगेका हुन् भन्ने बुझ्नुपर्छ । समाजले ठीक पथप्रदर्शन गर्न सक्दा यस सामाजिक विसंगति नियन्त्रण हुन सक्छ।
देशले अवलम्बन गरेको लोकतान्त्रिक पद्धतिमा इमानदार र नैतिकवान् नेताको खाँचो सदैव परिरहन्छ। एक इमानदार नेता सर्वजन हितायमा र धनी एवं गरिबबीचको दूरीलाई कम गर्न समर्पित रहन्छ। कानुन कार्यान्वयन गर्ने निकायमा भ्रष्टाचार नियन्त्रण गर्न लागि पर्छ। राष्ट्र, राष्ट्रियता र सर्वसाधारणको समृद्धिका लागि चिन्तन गर्छ। सार्वजनिक निकायलाई पारदर्शी बनाउन तल्लीन रहन्छ। स्वार्थी, पदलोलुप, भ्रष्ट माफियालगायतका अपराधीलाई राजनीति गर्ने ढोका सधैँका लागि बन्द गर्न प्रयास गर्छ। देशको रुपान्तरणका लागि दीर्घकालीन सोचका साथ काम गर्छ । सार्वजनिक सेवालाई सहज, सरल र गुणस्तरीय बनाउन भगीरथ प्रयास गर्छ। परिणामस्वरुप हाम्रो समाजमा उसको कार्यशैली, इमानदारी र देश एवं जनताप्रतिको निष्ठाभाव व्यवहारमा परिणत हुन्छ ।
लोकतन्त्रका लामा–लामा वक्तव्यबाजी नगरी व्यवहारमा देशका लागि केही राम्रा कार्यको थालनी गर्ने इमानदार तानाशाहको शासन जरुरी देखिएको छ। तर, जनताको पक्षमा कार्य गर्ने तानाशाह आफैँमा लोकतन्त्रवादी हुने भएकाले हाम्रो परिवेशमा यस प्रकारको नेतृत्व प्राप्त गर्ने सन्दर्भ उत्तिकै चुनौतीपूर्ण रहेको छ । खोजी पस्दा यस प्रकारको नेतृत्व देशले प्राप्त गर्न सक्छ तर प्रदूषित, भ्रष्ट, स्वार्थी र बिचौलियाको नियन्त्रणमा रहेको समाजले यस प्रकारको आदर्श र समग्र समाजका लागि समर्पित हुने व्यक्तिलाई नेतृत्वमा पुग्न र निरन्तरता प्रदान गर्न दिँदैन । एक इमानदार नेताले पनि भ्रष्टाचारलाई समूल समाप्त गर्न सक्दैन तर कडा कारबाहीबाट हतोत्साही गर्न सक्छ । कारबाही गर्दा मृत्युदण्डको व्यवस्था भएका देशहरुले भन्दा सामाजिक दबाबबाट नागरिकले क्रियाशीलता प्रदर्शन गर्दा भ्रष्टाचारजन्य अपराध घट्दै गएका र समाज एवं शासकीय शैलीमा सुधार भएको उदाहरण विश्वपरिवेशमा पाउन सकिन्छ ।
वर्तमान समयमा नागरिकमा आएको चेतना, सञ्चारमाध्यमको प्रभावकारिता, राष्ट्रिय चिन्तनका साथ सेवाभावले राजनीतिमा लागेकाको क्रियाशीलताका कारण अधिकारको दुरुपयोग र भ्रष्टाचारजन्य व्यवहारलाई सर्वत्र भत्र्सना गर्न थालिएको छ। यसले सामाजिक विकृतिको सुधारमा उल्लेखनीय सहयोग पुगी असल शासन कायम गर्न योगदान दिने स्थिति छ।
त्यसैले सबै प्रकारका विकृतिको नियन्त्रण गर्दै देशलाई सुशासन र समृद्धितर्फ अभिमुख बनाउन समाजमा सबै प्रकारका सकारात्मक रूपान्तरण हुनु अत्यावश्यक छ। एक वर्गले अर्को वर्गको आलोचना गरेर समस्याको समाधान सम्भव हुँदैन, किनकि हामी जुनसुकै पेसावलम्बी भए पनि हाम्रो उत्पत्ति र विकास यही समाजमा भएको छ । त्यसैले सामाजिक रुपान्तरणका दिशामा हामी सबै प्रतिबद्ध हुनुपर्छ।
यसो नहुँदासम्म विकृति र विसंगतिको मौलिकरूपमा सुधारको अपेक्षा गर्नु अस्वाभाविक हुनेछ ।
प्रतिक्रिया