नजिकिएको फुटबलको दोस्रो महाकुम्भ ‘यूरोकप २०२४’



  • जर्मनीमा हुने यूरोकप १७ औं संस्करण हो
  • जर्जिया पहिलो पटक यूरोकप खेल्ने राष्ट्र बन्यो
  • छनोटमा गोल गर्ने कान्छो खेलाडी लामिने यामाल हुन्

काठमाडौं

यूरोपलाई फुटबलको पावरहाउस मानिन्छ । क्लबस्तर वा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तर फुटबल प्रतियोगिता यूरोपमा अन्य महादेशमा भन्दा अब्बल र लोकप्रिय छन् । हरेक चार बर्षको अन्तरालमा आयोजना हुने यूरोकपलगायत युईएफए च्याम्पियन्स लिग, यूरोपा लिगले यूरोपको फुटबललाई उँचाइमा पुर्‍याउने काम गरेका छन् ।

युरोकप यूरोपकै विशुद्ध धुरन्धर फुटबल राष्ट्रका खेलाडीहरुको क्षमता जांच्ने कसी समेत हो। यूरोकपको दायरा अन्य महादेशीय फुटबल प्रतियोगिता भन्दा फराकिलो पनि छ । फिफा विश्वकपपछिको सर्वाधिक चर्चित फुटबल प्रतियोगिताबाट परिचित छ यूरोकप। अझ भनौ यूरोपेली राष्ट्रहरुको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता पनि हो यूरोकप । आगामी जुन १४ देखि जुलाई १४ सम्म यूरोकपको १७ औं संस्करण जर्मनीमा हुँदैछ ।

सन् २०१२ मा भएको मतदानमा सर्वाधिक १२ मत पाएसंगै जर्मनी यूरोकप २०२४ को आयोजक बनेको हो । उक्त मतदानमा टर्कीले ४ मत मात्रै पाएको थियो । बर्लिन, म्युनिख, स्टुटगार्ट, लेइप्जिग, डर्टमन्ड, ह्यामबर्ग, गेल्सनकिर्सन, डूसेलडोर्फ, कोलोग्ने र फ्रान्कफर्टमा गरी जर्मनीका विभिन्न १० सहरमा यूरोकप आयोजना हुँदैछ । प्रतियोगिताको पहिलो दिन (जून १४) म्युनिखमा हुने उदघाटन खेलम समूह ए मा रहेका जर्मनी र स्कटल्यान्डबीच हुनेछ ।

यूरोकपको नयाँ टोली जर्जिया

यसपटक छानिएका कुल २४ राष्ट्रमध्ये यूरोकपमा पहिलो पटक खेल्ने जर्जिया एक्लो टोली हो । यूरोपका ५३ राष्ट्रहरुलाई १० समूहमा विभाजन गरी युरोकप छनौटमा खेलाइएको थियो । कुल २ सय ३९ खेलमा ६ सय ९० गोल भएको छनोट चरणमा प्रत्येक समूहका विजेता तथा उपविजेता गरी २० राष्ट्रहरूले सोझै जर्मनीको यात्रा तय गरे ।

थप तीन राष्ट्रको छनोट भने २०२२–२३ को यूईएफए नेसन्स लिगमा उत्कृष्ट प्रदर्शन गरेपनि अन्तिम चरणमा छनोट हुन असफल १२ राष्ट्रबीच प्लेअफ खेलबाट भएको थियो । यसमा छनौट हुने जर्जिया, यूक्रेन र पोल्यान्ड हुन् । सन् १९९१ मा सोभियत संघबाट छुटिएको जर्जियाले प्लेअफमा सन् २००४ को विजेता ग्रीसलाई पेनाल्टी शुटआउटमा हराएर पहिलो पटक यूरोकप खेल्ने तय गरेको थियो ।

छनोटमा उत्कृष्ट पोर्चुगल

यूरोकप छनोटमा शतप्रतिशत जितको नतिजा निकालेर नयाँ इतिहास कोर्दै समूह विजेता भएर यूरोकप २०२४ मा छनोट हुने एक मात्र टोली हो पोर्चुगल । सन् २०१६ को विजेता पोर्चुगलले छनोट चरणमा समूहमा रहेका स्लोभाकिया, लक्जमबर्ग, आइसल्याण्ड, बोस्निया–हर्जगोभिना र लिचेस्टाइनविरुद्ध ‘होम एन्ड अवे’ गरी १० खेल जितेको थियो ।

त्यतिमात्र होइन, यसपटक छनौटमा सर्वाधिक ३६ गोल पनि पोर्चुगलले नै गरेको थियो । लक्जमवर्गविरुद्ध ९–० को नतिजा पोर्चुगलको अहिलेसम्मकै फराकिलो जित समेत थियो ।

शून्यमा सिमित चार राष्ट्र

६ राष्ट्रले यूरोकप २०२४ को छनोटमा अपराजित यात्रा तय गर्दा चार राष्ट्र भने शून्य अंकमै सिमित भए । साइप्रस, सान मारिनो, माल्टा र जिब्राल्टरले छनोट चरणका सबै खेलमा पराजित बन्दै शून्य अंकमा रहे ।

कान्छो र पाको उमेरका खेलाडी

युरो कप २०२४ को छनोटमा खेल्ने सबैभन्दा पाको उमेरको खेलाडी एन्डोराका इल्डेफोन्स लिमा बनेका हुन्। छनोटअन्र्तगत गत सेप्टेम्बरमा स्विजरल्यान्डविरुद्ध खेल्दा उनको उमेर ४३ वर्ष २ सय ७६ दिन थियो। त्यसैगरी पोर्चुगलका क्रिस्टियानो रोनाल्डो छनोटमा गोल गर्ने सबैभन्दा पाको उमेरका खेलाडी हुन् । छनोटअन्र्तगत गत नोभेम्बरमा लिचेस्टाइनविरुद्ध गोल गर्दा रोनाल्डोको उमेर ३८ वर्ष २ सय ८४ दिन थियो ।

छनोटमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी स्पेनका लामिने यामाल हुन् । गत सेप्टेम्बरमा जर्जियाविरुद्ध गोल गर्दा उनको उमेर १६ वर्ष ५७ दिन थियो । उनी स्पेनको राष्ट्रिय टोलीबाट अन्तराष्ट्रिय गोल गर्ने सबैभन्दा कान्छो खेलाडी समेत हुन् ।

यूरोकप विजेताहरु

अहिलेसम्म यूरोकपको उपाधि १० राष्ट्रले मात्र जितेका छन् । जर्मनी र स्पेन यूरोकपको सर्वाधिक सफल राष्ट्रहरु हुन्। जर्मनीले सर्वाधिक ६ पटक फाईनल खेलेका छन्। जसमा जर्मनीले सन् १९७२, १९८० र १९९६ गरी तीन पटक यूरोकप उचाल्दा सन् १९७६, १९९२ र २००८ मा उपविजेतामै चित्त बुझाउनु परेको थियो।

त्यस्तै, स्पेनले यूरोकपको फाईनल चार पटक खेल्दा तीन पटक उपाधि जितेको छ । सन् १९६४, २००८ र २०१२ मा च्याम्पियन बनेको स्पेन लगालग दुई संस्करणको उपाधि जित्ने एक्लो टोली समेत हो।

त्यस्तै, फ्रान्स र डिफेन्डिङ च्याम्पियन इटालीले दुई–दुई पटक उपाधि जितेका छन् । फ्रान्स १९८४ र २००० तथा इटाली १९६८ र २०२० का विजेता हुन् । त्यस्तै, सन् १९६० मा तत्कालीन सोभियत संघ, १९७६ मा तत्कालीन चेकोस्लोभाकिया, १९८८ मा नेदरल्यान्ड्स, १९९२ मा डेनमार्क, २००४ मा ग्रीस र २०१६ मा पोर्चुगलले समान एक–एक पटक उपाधि उचालेका छन् ।

यूरोकप २०२४ को समूह 

एक महिनासम्म चल्ने युरोपेली फुटबलको महाकुम्भमा कुल ५१ खेल हुनेछ। जसअन्तर्गत बर्लिनको ओलम्पिया स्टाडीयोन रंगशालामा हुने फाइनलसंगै प्रतियोगिता समाप्त हुनेछ। यूरो २०२४ मा प्रतिस्पर्धा गर्ने सम्पूर्ण २४ टोलीहरुलाई समूह ‘ए’ देखि ‘एफ’ सम्म यसप्रकार विभाजन गरिएको छ।
समूह ए
जर्मनी, हंगेरी, स्कटल्यान्ड, स्वीजरल्यान्ड
समूह बी
स्पेन, क्रोएसिया, इटाली, अल्बानिया
समूह सी
स्लोभेनिया, डेनमार्क, इंग्ल्यान्ड, सर्विया
समूह डी
पोल्यान्ड, अस्ट्रिया, नेडरल्यान्ड्स, फ्रान्स
समूह इ
बेल्जियम, स्लोभाकिया, रोमानिया, यूक्रेन
समूह एफ
पोर्चुगल, चेक रिपब्लिक, जर्जिया, टर्की

प्रतिक्रिया दिनुहोस्