टी-२० विश्वकप : पाकिस्तानमाथि अमेरिकाको ऐतिहासिक जित



काठमाडौँ ।

आईसीसी टी-२० विश्वकप क्रिकेटमा पहिलो पटक सहभागिता जनाएको अमेरिकाले ऐतिहासिक जित निकालेकाे छ। गए राति सम्पन्न खेलमा अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो।

सुपर ओभरमा अमेरिकाले दिएको १९ रनको लक्ष्य पछ्याएको पाकिस्तानले एक विकेट गुमाएर १३ रन बनाएपछि खेल अमेरिकाले ५ रनले जितेको थियो। यसअघि पाकिस्तानले दिएको १६० रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ३ विकेट गुमाउँदै १५९ रन बनाएपछि खेलको निर्णय सुपर ओभरमा भएको थियो । अमेरिकाले अन्तिम बलमा ५ रन आवश्यक रहेकोमा चौका हानेपछि रन बराबरी गरेको थियो।

अमेरिकाका लागि कप्तान मोनांक पटेलले सर्वाधिक ५० रन बनाएका थिए भने आन्द्रिज गोउसले ३५, एरोन जोन्सले अविजित ३६ रन बनाएका थिए। यसअघि पाकिस्तानले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाउँदै १५९ रन बनाएको थियो।

पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ४४ रन बनाए भने शदाब खानले ४० रन बनाएका थिए । त्यस्तै शाहिन शाह अफ्रिदीले अविजित २३ रन बनाएका थिए । त्यसै गरी अमेरिकाका बलर नोस्थुस केनिज्गेले ३ तथा सौरभ नेत्रभालकरले २ विकेट लिएका थिए।

यो जितपछि समूह ए मा अमेरिकाले लगातार दुई खेल जितेर ४ अङ्क हासिल गरेको छ । यसअघि अमेरिकाले क्यानडालाई पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्