होला कि अब ?

टोलविकासद्वारा ‘प्लाष्टिक बन्द’ को स्वीकृति



हेटौंडा ।

नगरमा रहेका टोलविकास संस्थाहरुले उपमहानगरमा प्रदुषणको मुख्य स्रोतको रुपमा रहेको प्लाष्टिक प्रयोग बन्द गर्न स्वीकृति दिएका छन् ।

बुधबार विश्व वातावरण दिवसको सप्ताहव्यापी समारोह समापनमा नगर प्रमुख मीनाकुमारी लामाले ‘प्लाष्टिक बन्द गर्न टोलविकासले सहयोग गर्छन्’ भनी गरेको प्रश्नमा सहभागीले ‘गछौं’ भनी स्वीकृति दिएका थिए । टोलविकास संस्थाहरुको स्वीकृतिपछि नगर प्रमुख लामाले प्लाष्टिक प्रयोग रोक्न आगामी आर्थिक वर्षमा कार्यविधि बनाएर अघि बढ्ने बताउनुभयो । हेटौंडाका १९ वडामा ३ सय ७५ टोलविकास संस्था छन् । जसका कम्तिमा ३० हजार घरधुरी आवद्ध छन् ।

बारम्बार प्लाष्टिक प्रयोग रोक्नका लागि नगरले काम गर्नुप¥यो भनेर दबाब थियो । अब टोलविकास संस्थामा आवद्ध सबैको सहयोग हुने भएपछि उपमहानगर तयार भएको उहाँले बताउनुभयो । उहाँले टोलविकास संस्थाहरुको सक्रियताका कारण उपमहानगर देशमै सफा शहरका रुपमा चर्चामा रहँदै आएको अवस्थामा नयाँ कामका लागि दिइएको स्वीकृतिले नगरको नाम फरकढंगबाट अघि बढ्ने बताउनुभयो ।

एकताका उपमहानगरपालिकाले गैरसरकारी संस्थाहरुसँग सहकार्यमा विकल्पका रुपमा कपडा र कागजका झोला उत्पादन गरेर बितरण गरेको बताए पनि त्यसको प्रयोग कहींकतै भएको देखिँदैन । कार्यक्रम टोलविकास संस्था नगर समन्वय समिति अध्यक्ष ध्रुव अधिकारीको सभाध्यक्षतामा भएको हो ।

सरकारले ४० माइक्रोन भन्दा कम तौलका प्लाष्टिक झोला प्रयोगमा लगाएको प्रतिवन्धलाई हेटौंडा उपमहानगरपालिकाले कार्यान्वयनमा ल्याएको थियो । हेटौंडा उपमहानगर उपप्रमुख राजेश बानियाँ र तत्कालीन प्रमुख कार्यकारी अधिकृत शिवराज चौलागाईंले कार्यालयपरसरमा ४० माइक्रोन भन्दा कम तौलका प्लाष्टिक प्रयोग नगर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

अभियान कार्यान्वयनमा ल्याउन अध्ययन गरेर कामलाई अघि बढाउनु जरुरी रहेको उहाँले औंल्याउनुभयो । अभियानलाई प्रभावकारी बनाउन बजारका पसल, बिक्री केन्द्र र आयात रोक्नु जरुरी रहेको उपप्रमुख बानियाँले बताउनुभएको थियो । प्रतिवद्धताअनुसार उपमहानगर कार्यालयपरिसर र हेटौंडा उपमहानगरपालिका–२ नम्बर वडा क्षेत्रमा ४० माइक्रोनका प्लाष्टिकको प्रयोग नगर्ने र गर्न नदिने उल्लेख थियो ।

वडा र सरकारी अड्डामा प्लाष्टिकको झोला प्रयोग रोक्न कपडाको वातावरणमैत्री झोला उत्पादन गरी बितरण गरिएको थियो । संघीय सरकारले २०६८ साउन १ गतेबाट ४० माइक्रोन भन्दा कम तौलका प्लाष्टिक प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो ।

त्यतिमात्र होइन, स्वच्छ वातावरणका लागि हानिकारक प्लाष्टिक, इन्धनको बलियो स्रोतसमेत रहेको पुष्टि भएको थियो । प्रयोग भएर फालिएका रंग छापिएका, चाउचाउ, लेज, गुट्खा, सिमेन्ट र रेनकोटलगायत प्लाष्टिकबाट गाडी कुदाउने डिजल बनाएर हेटौंडामा आगो बालियो, सर्वसाधारण चकित परेका थिए । हेटौंडामा प्रतिदिन करिब ९ हजार २ सय ६७ केजी प्लाष्टिक उत्पादन हुने अनुमान छ ।

हेटौंडामा उत्पादन हुने फोहोरबाट वर्षमा २३ लाख ६७ हजार ९ सय ४६ लिटर इन्धन उत्पादन गर्न मिल्छ । यसबाट वार्षिक करिब ७ करोड १० लाख ३८ हजार आम्दानी हुने बताइएको छ । हेटौंडामा एकताका ‘पर्दैन, मसँग आफ्नै झोला छ’ अभियान नचलेको होइन । प्लाष्टिक झोला वातावरणीय, आर्थिक र सामाजिक दृष्टिले हानिकारक भएकाले त्यसको प्रयोगमा रोक लगाउनु अभियानको उद्धेश्य थियो । हाल सेलाएको अभियानपछि जथाभावी फालिएका प्लाष्टिक झोलाले टोल, शहर, नदीनाला र मठमन्दिरसमेत प्रदुषित गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्