प्रकृति र वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्न प्रेरणा मिलोस् : प्रधानमन्त्री



काठमाडौं ।

विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकृति र वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन्।

‘मरुभूमीकरण र खडेरीबाट भूमिको पुनःस्थापना गरी पारिस्थितिक प्रणाली पुनःस्थापना गर्ने विषयमा केन्द्रित रहेको यस दिवसले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न तथा वर्तमान र भविष्यका पुस्ताका लागि दिगो र स्वच्छ वातावरण प्रत्याभूत गर्न थप उत्प्रेरित गर्ने विश्वास लिएको छु’, प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ, ‘नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक हकको प्रत्याभूति गरेको छ।’

साथै, भूमिको उत्पादनशीलता, प्रकृति तथा वातावरणीय सन्तुलनको आधारमा वैज्ञानिक व्यवस्थापन र उपयोग गर्ने तथा पर्यावरणीय दिगो विकासको सिद्धान्त अवलम्बन गर्दै वातावरणीय सन्तुलन र दिगोपना कायम गर्ने गरी सरकारले नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याएको प्रधानमन्त्री प्रचण्डको शुभकामना सन्देशमा उल्लेख छ।

‘विश्वव्यापीरूपमा भइरहेको जलवायु परिवर्तनको नकारात्मक असर र क्षतिका लागि भूमिका नगण्य भए पनि उल्लेख्य असर भने भोगिरहेका छौँ, नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा राखेका विषयहरू र गरेका प्रतिबद्धतालाई कार्यान्वयन गर्दै जलवायुजन्य क्षतिमा नेपालको अधिकारलाई सुनिश्चित गर्न सरकार क्रियाशील छ’, शुभकामना सन्देशमा भनिएको छ, ‘सङ्घ, प्रदेश र स्थानीय सरकारको साथै निजी क्षेत्र, नागरिक समाज, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थालगायत सबै सरोकारवालाको सामूहिक प्रयासबाट मात्र वातावरण क्षेत्रका चुनौतीलाई सामना गर्न सम्भव छ।’

प्रतिक्रिया दिनुहोस्