समाचार प्रभाव

पतञ्जली आयुर्वेद क्याम्पसले परीक्षा शुल्क तिर्‍यो

विश्वविद्यालयद्वारा परीक्षा तालिका सार्वजनिक



  • ३७ विद्यार्थीले परीक्षा दिन पाउने
  • आजबाट सञ्चालन हुने सम्मेलनमा राष्ट्रपति नआउने
  • स्थगित परीक्षा असार २ गतेबाट शुरू हुने

काठमाडौं ।

पतञ्जली आयुर्वेद मेडिकल कलेजले प्रयोगात्मक परीक्षा शुल्क बुझाएपछि रोकिएको परीक्षा सञ्चालन हुने भएको छ। क्याम्पसले प्रयोगात्मक परीक्षा शुल्क बापत सम्बन्धन दिएको नेपाल संस्कृत विश्वविद्यालयलाई २ लाख रुपियाँ बुझाएपछि ३७ जना विद्यार्थीले परीक्षा दिन पाउने भएका हुन्।

पतञ्जली कलेजले शुल्क नबुझाएको कारण ब्याचलर अफ आयुर्वेदा मेडिसिन विषयमा (आयुर्वेद चिकित्सक) अध्ययनरत् ३७ विद्यार्थीको भविष्य अन्योल भएको थियो । विश्वविद्यालयले पटकपटक आग्रह गर्दा विद्यार्थीको प्रयोगात्मक परीक्षावापतको शुल्क नबुझाएपछि परीक्षा रोकिएको थियो।

हिजो मंगलबार विश्वविद्यालयको खातामा रकम जम्मा भएपछि संस्कृत विश्वविद्यालयले परीक्षा तालिका सार्वजनिक गरेको छ। विश्वविद्यालयले पछि हिसाब मिलान हुनेगरी प्रयोगात्मक परीक्षा खर्चवापत करिब २ लाख रुपियाँ बैंकमा जम्मा गर्न पत्राचार गरेको थियो। सो पत्रको बेवास्ता गर्दै पतञ्जली योगपीठका ट्रस्टी शालिकराम सिंहले विश्वविद्यालयलाई परीक्षाबाट बञ्चित विद्यार्थीलाई परीक्षामा सहभागी गराउन दबाब दिए पनि विश्वविद्यालयले शुल्क नबुझाएसम्म परीक्षामा सहभागी नगराउने अडान राखेको थियो। ट्रस्टी सिंहले परीक्षामा सहभागी नगराए मुद्दा हाल्नेसम्मको तयारी गर्नुभएको थियो।

पछिल्लो समय आफ्नो गल्ती स्वीकार गर्दै क्याम्पसले आइतबार र मंगलबार गरी २ लाख रुपियाँ बुझाएको थियो । क्याम्पसका व्यवस्थापक शिवनारायण झाले विश्वविद्यालय शुल्क बुझाएको पठाउनु भएलगत्तै विश्वविद्यालयले परीक्षा तालिका सार्बजनिक गरेको हो। विश्वविद्यालयका सहायक डीन डा. राजेश्वर अर्यालले मंगलबारसम्म २ लाख शुल्क बुझाएको प्रमाणित भएपछि परीक्षा तालिका सार्वजनिक गरेको जानकारी दिनुभयो । उहाँका अनुसार स्थगित परीक्षा असार २ गतेबाट शुरू हुनेछ ।

विश्वविद्यालयले तीन समूहमा परीक्षा सञ्चालन गर्ने जनाएको छ। तालिकाअनुसार २ देखि ९ गतेसम्म परीक्षा हुनेगरी तालिका सार्वजनिक गरेको छ। यो परीक्षामा उत्तीर्ण गरेपछि ३७ विद्यार्थी आयुर्वेदाचार्य हुनेछन्। कक्षा शुरू भएको साढे ४ वर्षपछि अन्तिम प्रयोगात्मक परीक्षा हुन लागेको हो। सो क्याम्पसको तेस्रो ब्याच २०७६ सालमा सञ्चालन भएको थियो।

पतञ्जली कलेजले रकम जम्मा गरेसँगै प्रयोगात्मक परीक्षा दिने विद्यार्थीको शुल्कलगायत खर्च आफैंले तिर्ने प्रतिबद्धता जनाएको छ। यसअघि सिंहले विभिन्न बहाना बनाएर शुल्क बुझाउन क्याम्पसलाई निर्देशन दिनुभएको थिएन।

यसैबीच योगपीठले आजबाट धुलिखेलमा शुरू गर्न लागेको अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी नहुने निश्चित भएको छ। स्रोतका अनुसार योगपीठको बारेमा नकरात्मक समाचार प्रकाशित भएपछि राष्ट्रपति कार्यालयले सहभागिता नजनाउन राष्ट्रपतिलाई सुझाव दिएको थियो।

योगपीठले आयोजना गर्ने महत्वपूर्ण कार्यक्रममा राष्ट्रपति नआउने खबर पाएपछि योगपीठका ट्रस्टी सिंह राष्ट्रपति कार्यालयमा पुगेको जानकारी दिदै उच्च स्रोतले नेपाल समाचारपत्रसँग भन्यो– ‘ट्रष्टी सिंहले राष्ट्रपतिज्यूलाई हरतरहले आउन आग्रह गर्नुभयो तर सुरक्षा निकाय र अन्य कारणले कार्यक्रम रद्द भयो। राष्ट्रपति कार्यलयले परीक्षामा विचल्ली भएका विद्यार्थीलाई परीक्षा दिने व्यवस्था मिलाउन आग्रह गरेको थियो। लगत्तै रकम भुक्तानी भएर परीक्षा तालिका सार्वजनिक पनि भयो तर राष्ट्रपतिको कार्यक्रम रद्द भयो ।’

कार्यक्रममा पतञ्जली योगपीठ प्रमुख आचार्य बालकृष्ण, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, शिक्षा मन्त्री सुमना श्रेष्ठ र स्वास्थ्यमन्त्री प्रदीप यादव लगायतको सहभागी रहनेछ। सम्मेलन भोलि २५ गतेसम्म सञ्चालन हुनेछ। सम्मेलनका लागि भारतबाट केही आयुर्वेदाचार्य नेपाल आइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्