निजामती अस्पतालमा व्यापक अनियमिता !

कमिसन लोभले ५ करोडका सामान किनेर थन्क्याइयो



oplus_2

–१३ करोड १७ लाखका उपकरण अलपत्र
–नयाँ ठेक्काबिनै ७ करोड ५९ लाखको औषधी खरिद
– अक्सिजन प्लान्ट निष्क्रिय राखी ८२ लाखमा नयाँ अक्सिजन खरिद

काठमाडौं ।

निजामती कर्मचारी अस्पतालको प्रशासनिक नेतृत्वले विभिन्न ठेकेदार कम्पनीसँग मिलेमतो गरी कमिसनको चक्करमा करोडौंका उपकरण खरिद गरी त्यसै थन्क्याएर राखेको पाइएको छ।

यसअघि पनि यसरी नै कमिसनको चक्करमा करोडौंका उपकरण किनेर त्यसै थन्क्याउने गरेको पाइएपछि त्यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरेको थियो। अहिले पनि अवस्था उस्तै छ। त्यसैले अख्तियारले अस्पतालमाथिको छानबिन प्रक्रियालाई तीव्रता दिनुपर्ने देखिएको छ।

निजामती अस्पतालको उपकरण खरिद गर्ने र त्यसै थन्क्याउने प्रवृत्ति घट्नुको साटो बढेको छ। यसरी करोडौंका सामानहरू खरिद गरी लामो समयसम्म त्यसै थन्क्याएर राखिएकोमा महालेखाले गम्भीर प्रश्न उठाएको छ। महालेखाले यस्तो प्रवृत्ति अन्त्य गर्नसमेत निजामती अस्पताललाई सुझाएको छ।

अस्पतालमा बिजोग अवस्थानमा राखिएका उपरकणहरूको अवस्था हेर्दा सो खरिद प्रक्रियामा ५० औं लाख खेर गएको छ भने राज्यकोषमा ब्रह्मलुट प्रवृत्ति देखिएको छ। महालेखाले पनि विभिन्न उपकरणहरू खरिद आवश्यकताको पहिचान नै नगरी जथाभावी किनिएका र ती उपकरणको समुचित प्रयोग हुनुपर्ने भन्दै खरिद प्रक्रियामाथि नै गम्भीर प्रश्न उठाएको छ।

अस्पतालले विभिन्न समयमा खरिद गरेका पाँच करोड ३७ लाख मूल्य बराबरका उपकरणहरू लामो समयदेखि प्रयोगविहीन अवस्थामा राखिएको छ। त्यसै गरी १३ करोड १७ लाख मूल्यका सी आर्म, यूएसजी, होलमियम लेजर, भेन्टिलेटर, स्पाइनल इन्डोस्कोपी सिस्टम, बायोमेडिकल संक्रामक फोहोर उपचार प्रणाली लगायतका १० थान उपकरणहरूको मर्मत सम्भार गर्नुपर्ने अवस्था रहेकोमा मर्मत सम्भार नगरी ती उपकरणहरू त्यसै थन्कन पुगेका छन् । उपकरणहरू डम्पिङ साइडमा जाने र झनै कामै गर्न नसक्ने अवस्था आउन सक्ने देखिएको छ ।

यस्तै, अस्पतालको अर्को बद्मासी आफूसँग भएको अक्सिजन प्लान्ट निष्क्रिय राखी अघिल्लो वर्षमात्रै अस्पतालले ८२ लाख ४९ हजारको अक्सिजन खरिद गरेको जनाइएको छ । महालेखाले उपलब्ध उपकरणको प्रभावकारी व्यवस्थापन गरी सेवा प्रवाहमा सुधार गर्न समेत निजामती अस्पताललाई भनेको छ। महालेखाले वर्षैपिच्छे यस्तो सुझाव दिँदै आए पनि निजामती अस्पतालले ती सुझावलाई पूर्ण रूपमा बेवास्ता गर्दै आइरहेको पाइएको छ।

यसै गरी अस्पतालको प्रशासनिक नेतृत्वमा रहेकाहरूकै मिलेमतोमा पुरानो ठेक्काबाटै औषधी खरिद गरी अनियमितता भएको देखिएको छ। जसअनुसार सार्वजनिक खरिद नियमावली २०६४ मा प्रत्येक वर्षको लागि चाहिने औषधी मितव्ययी ताथ प्रतिस्पर्धी रूपमा हुनुपर्ने व्यवस्था छ। यो प्रावधानको धज्जी उडाउँदै अस्पतालले गत वर्षमात्रै ४ वर्षअघि गरिएको खरिद सम्झौताकै आधारमा २३ लाख ६२ हजारसमेत गरी ७ करोड ५९ लाख ८४ हजार मूल्यका विभिन्न औषधीहरू खरिद गरेको बताइएको छ।

अस्पतालले नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा जारी क्लिनिकल अडिट सञ्चालन कार्यविधि निर्देशिका, २०७७ अनुसार क्लिनिकल अडिट गर्नुपर्छ तर त्यहाँ कुनै अडिट गरिएको छैन। महालेखाले गत वर्ष पनि अडिट नगर्ने समस्या रहेको र त्यसलाई सुधार गर्न सुझाव दिइएको भए पनि सो सुझावको कुनै कार्यान्वयन भएको छैन। सो अस्पतालले अनलाइन टिकट काट्नेहरूलाई उचित रूपमा समन्वय गर्न र व्यवस्थापन गर्नसमेत सकेको छैन।

अनलाइनमा टिकट काटेर अस्पतालमा आएका कैयौं व्यक्तिहरू त्यसै दुःख पाएर उपचार नै नगरी फर्कन विवस छन् । उपचारमा आउने व्यक्तिहरूले अस्पतालको सेवा चुस्त हुन नसकेको गुनासो गर्ने गरेका छन् । सबै सेवाको अनलाइन नभएको र भएका अनलाइन सेवाहरू पनि प्रभावकारी नहुँदा ठूलो समस्या भोग्नुपरेको पीडितहरूको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्