संसदीय मर्यादा र नियामावली मिच्दै गृहमन्त्री लामिछाने

जीवन शर्मा



काठमाडौं ।

सरकारसम्बद्ध दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले संसदीय मर्यादाको ख्यालै नगरी संसद्को नियामावली मिच्ने कार्यलाई निरन्तरता दिएका छन्।

प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४२ मा पोशाक र प्रतीक चिह्नसम्बन्धी व्यवस्थाको ख्यालै नगरी सांसदहरूले सदनमा मनोमानी पोशाक लगाएर संसदको नियामावली उल्लंघन गरेका हुन्।

‘पोशाक तोक्दा औपचारिक, मौलिक, संस्कृति र परम्परा वा पहिचान झल्किने मर्यादित भेषभूषा वा पोशाकसमेतमा ध्यान दिनुपर्ने’ नियमावलीमा उल्लेख छ । तर, संसदको चौथो ठूलो दल रास्वपाका सांसदहरू संसद् बैठकमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर संसद बैठकमा पुगेका थिए।

टी–२० विश्वकप क्रिकेट खेल्न अमेरिका पुगेको नेपाली टिमको समर्थनमा उनीहरूले जर्सी लगाएको दाबी गरेका छन्। संसद् सभाहलबाहिर खेलाडी झल्कने जर्सी लगाएर समूहिक तस्वीर खिचाएका उनीहरूले संसद् बैठकमा समेत सोही पोशाक लगाएका थिए। बजेटमाथिको छलफलमा रास्वपाका १२ सांसदले क्रिकेटको जर्सी लगाएका थिए।

जर्सीमै बैठक हलमा छिर्न खोजेका सांसदलाई मर्यादापालकले कोर्ट लगाउन आग्रह गरेसँगै उनिहरूले खेलाडीको जर्सीमाथि कोट भिरेर सदनमा बसेका थिए । यसअघि रास्वपा सांसद एवं शिक्षामन्त्री सुमना श्रेष्ठले गत बैठकमा जिन्स पाइन्ट र टिसर्ट लगाएर सदन गएपछि चर्को विरोध भएको थियो ।

गत वर्षको वैशाख ३० गते सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सांसदहरूको पोशाक तय गरेको छ। सोही बैठकमा सभामुख देवराज घिमिरेले टिसर्ट र जिन्सलाई प्रतिबन्ध गर्दै संसद् बैठकमा सहभागी हुँदा सांसदहरूलाई मर्यादित भेषभूषा वा पोशाक लगाउन निर्देशन दिनुभएको थियो। तर, रास्वपाका तर्फबाट मन्त्री बन्नु भएकी श्रेष्ठले सभामुखले सांसदहरूको ‘ड्रेस कोड’ तोकेपछिको पहिलो बैठक गत वर्षको जेठ २ गते प्रतिनिधिसभा बैठकमा विरोध जनाउनुभएको थियो।

यसलाई नयाँ पुस्तामाथिको रणनीतिक हमलाको संज्ञा दिँदै उहाँले भ्रष्टाचार र मानव बेचबिखनजस्ता जघन्य अपराधबाट विषयान्तर गर्न सरकारले यस्तो नियम ल्याएको आरोप लगाउनुभएको थियो। सुमनाले अहिले पनि तोकिएको पोशाकलाई प्राथमिकतामा राख्नुभएको छैन्। उहाँले बैठकमा जिन्स पाइन्ट र टिसर्ट नै लगाउँदै आउनुभएको छ । सभामुखले सांसदहरूको ‘ड्रेस कोड’ तोकेपछि उक्त विषयले आमरूपमा बहसको विषय बनेको छ भने संसद्मा समेत बेलामौकामा यसको पक्ष–विपक्षमा छलफल हुने गरेको छ।

मंगलबारको बैठकमा रास्वपाका सांसदले लगाएको पोशाकको विषयमा समेत टिप्पणी भएको छ । उनीहरूले संसद्को नियम उल्लंघन गरेको नेकपा एमालेका एक सांसदले बताए । ती सांसदले भने–‘सार्वभौम संसद्को नियमावली, २०७९ को नियम २४२ मा उल्लिखित संसद्को पोशाकसम्बन्धी व्यवस्था उल्लांघन भएको छ । यो संसदीय मर्यादा बाहिरी कुरा हो । आगामी दिनमा उहाँहरूले यसलाई सच्याएर जानुपर्छ।’

राष्ट्रिय सभा सदस्य डा. खिमलाल देवकोटा संसद्मा पोशाक हुन आवश्यक रहेको बताउनुभयो । डा. देवकोटाको विचारमा संसद् नियम, विधि र पद्धतिमा चल्ने भएकाले जुनसुकै कपडा लगाउन पाइँदैन । ‘युनिभर्सिटीदेखि अदालत सबै ठाउँमा कोड हुन्छ,’ उहाँले भन्नुभयोे– ‘सभामुखले ल्याएको नियम ठिक छ । नियम र विधि नमानेर अराजक हुनु ठिक होइन ।’

यसैबीच उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पनि नेपाली क्रिकेट टिमको मनोबल उच्च पार्न भन्दै मन्त्रालयमा पनि टिर्सट लगाएर विदेशी कूटनीतिक नियोगका विभिन्न व्यक्तिलाई भेटघाट गरेको फोटो सार्वजनिक भएको छ।

प्रतिक्रिया दिनुहोस्