सन्दीप भिसा प्रक्रियामा गैरजिम्मेवार बने क्यान अध्यक्ष चन्द



काठमाडौं

क्रिकेटर सन्दीप लामिछानेले भिसा नपाएर टी–ट्वान्टी क्रिकेट विश्वकपमा खेल्नबाट वञ्चित हुनुको कारण नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दको गैर जिम्मेवारीपनलाई मानिएको छ।

अध्यक्ष चन्दले सन्दिपको भिसाका लागि आफूले हरसम्भव प्रयास गरे पनि नपाएको दाबी गर्दै आए पनि १५ सदस्यीय खेलाडी सूचीमा नाम नराखेकै कारणले सन्दीपले विश्वकप खेल्नबाट वञ्चित भएको चर्चा चुलिएको छ। इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) मा पठाएको १५ सदस्यीय खेलाडी नामावलीमध्ये एक जनाको भिसा रोकिँदा पूरै टिमलाई असर पर्छ भनेर किन अडान लिन सकेनन् भनेर पनि जनमानसमा प्रश्न उठेको छ।

१५ सदस्यीय टोलीमध्ये एकजना महत्वपूर्ण खेलाडी भिसा नपाएर नेपालमै रोकिएको कुरा किन गम्भीरताका साथ आयोजकसमक्ष राख्न सकेनन् भन्ने प्रश्न पनि उहाँमाथि तेर्सिएको छ। यदि, क्यान अध्यक्षको कुरालाई शतप्रतिशत सत्य मान्ने हो भने सन्दीपले दोस्रोपटक भिसाका लागि आवेदन दिँदा नेपाली टिमको १६औं खेलाडीको हैसियतले अन्तरवार्ता दिएको पो हो कि भन्ने शंका पनि उत्पन्न भएको छ।

किनभने त्यसअघि नै आईसीसीमा पठाइएको नामावलीका १५ जना खेलाडी अमेरिका पुगिससेका थिए। त्यसैले सन्दीपलाई नेपाली टिमको १६औं खेलाडी भनेर भिसाका लागि आवेदन दिन लगाएको पो हो कि भन्ने शंका उब्जिन्छ । उहाँले उक्त अन्तर्वार्तामा सन्दीपको नाम अझै पनि टिमको सूचीमा रहेको बताउनुभएको थियो । तर, उहाँले सन्दीप १५ सदस्यीय टिमका खेलाडी हुन् वा पछि खेलाडीको सूचीमा थपिएको नाम हो भन्ने खुलाउनु भएन। यदि, त्यसो हो भने अमेरिकी दूतावासले सन्दीपका लागि भिसा दिनुपर्ने कुनै बाध्यकारी अवस्था बन्दैन र सन्दीपले भिसा पाउने कुरै आउँदैन ।

वास्तवमै क्यान गम्भीर बनेको भए १५ मध्ये १४ खेलाडीलाई मात्र अमेरिका लगेर सन्दीपको भिसाका लागि जोडदार पहल गरिनुपर्थ्यो। अथवा अमेरिकामा रहेका १५ जनामध्ये एक जना खेलाडीलाई फर्काउनुपर्थ्यो। जसमा क्यान चुकेको देखिन्छ। खेलाडी, प्रशिक्षक र पदाधिकारीहरू गरी क्यानलाई आईसीसीले विश्वकप खेल्न २५ जनाको कोटा दिएको थियो।

विश्वकपमा सहभागी हरेक टिमलाई आईसीसीले १५ खेलाडीको कोटा उपलब्ध गराएको थियो। यदि, क्यानले सन्दीपलाई टिममा राख्न चाहन्थ्यो भने आईसीसीलाई पठाएको खेलाडी सूचीमा सन्दीपसहित अन्य १४ जना खेलाडीको नाम समावेश गरिनुपर्थ्यो। खेलाडीको अन्तिम नामावली सूची पठाउने अन्तिम मितिभन्दा अघि नै सन्दीपले पुनरावेदन अदालतबाट सफाइ पाइसकेका थिए ।

हाल नेपाली राष्ट्रिय क्रिकेट टिमसँगै अमेरिकामा रहेको अध्यक्ष चन्दले नेपाल ट्युब अस्ट्रेलिया नामक एउटा सामाजिक सञ्जाललाई दिएको अन्तरवार्तामा सन्दीपले भिसा नपाएको विषयमा आफूलगायत क्यानका सचिव पारस खड्कालाई दोष दिइएकोमा सञ्चारकर्मीको आलोचनासमेत गर्नुभएको छ। उहाँले सन्दीपको नाम आईसीसीमा समावेश गरी पठाए पनि भिसा नपाएपछि आफूहरूमाथि दोष लगाइएको बताउनुभयो । उहाँले सन्दीपको नाम खेलाडी सूचीमा राखेर आईसीसीमा पठाएको कागजात समेत फेसबुकमार्फत् सार्वजनिक गर्नुभएको छ । तर, उक्त कागजातमा सन्दीप १५ सदस्यीय नामावलीभित्र परेको खेलाडी हो वा १६ औं खेलाडी हो भन्ने प्रस्ट छैन ।

त्यस्तै, आईसीसीको खर्चमा जाने २५ सदस्यीय नेपाली टोलीमा १५ जना खेलाडी र १० जना गैरखेलाडी छन् । क्यान अध्यक्ष चतुरबहादुर चन्दले आफूलाई २५ जनाभित्र नै समावेश गर्नुभएको छ। यो विषयलाई लिएर क्यानभित्रै पदाधिकारीबीच मतभेद देखिन्छ। अध्यक्ष नै आईसीसीको कोटाभित्र समावेश हुनु र पत्नीलाई पनि सँगै अमेरिका लैजानु शोभनीय नभएको क्यानका पदाधिकारी बताउँछन्। खेलाडी र पदाधिकारीबाहेक क्यानसँग प्रत्यक्ष सम्बन्ध नभएकाहरू पनि विश्वकपका लागि अमेरिका पुगेका छन्। खर्च कसले बेहोरेको यकिन नभए पनि अमेरिका जानेमा क्यान अध्यक्ष चन्द र कोषाध्यक्ष पदम खड्काका पत्नीसहित पूर्वक्रिकेटर विनोद दास र क्यान सदस्य छुम्बी लामा रहेका छन् । त्यसै गरी क्यानकै सिफारिसमा नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत र नागार्जुन– ६ का पूर्व वडाध्यक्ष राजेन्द्र बुढाथोकी अमेरिका पुगिसक्नुभएको छ ।

यीबाहेक अन्य को कहाँबाट कति गए भन्ने ठ्याक्कै विवरणका लागि अमेरिकाबाट नेपाली टिम फर्केपछि मात्र थाहा लाग्नेछ । केही समयअघि नेपाल सरकारले विश्वकपको तयारीका लागि क्यानलाई ५ करोड रुपियाँ प्रदान गरेको थियो। उक्त रकमको खर्च विवरणलगायत आईसीसीबाट प्राप्त भीभीआईपी टिकट वितरण र क्यानको सिफारिस र खर्चमा विश्वकपमा जानेहरूको सूची गोप्य राखिएको छ।

आईसीसीले दिएको २५ जनाको कोटामध्ये १५ जना खेलाडी र १० जना पदाधिकारी गरी २५ जनाको अमेरिका आवतजावत तथा बस्ने सबै खर्च आईसीसीले नै गर्छ । त्यसबाहेक विश्वकपको रिपोर्टिङका लागि गएका करिब डेढ दर्जनजति खेल पत्रकार पनि आफ्नै खर्चमा गएका छन् । उनीहरूमध्ये कतिपयलाई सम्बद्ध मिडिया हाउसले खर्च सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्