राष्ट्रियसभामा उठेका प्रश्नमाथि अर्थमन्त्रीद्वारा जवाफ प्रस्तुत (पूर्णपाठ )



काठमाडौँ।

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१ /८२ को बजेटका सम्बन्धमा उठेका प्रश्नहरुको जवाफ पेस गरेका छन्।

राष्ट्रियसभाको आजको बैठकमा उनले विगतमा गरिएका आर्थिक सुधारका उपलब्धिलाई संस्थागत गर्ने र बदलिँदो विश्व अर्थ व्यवस्थामा मुलुकको वस्तुगत आवश्यकताको दृष्टिकोण बजेटमा रहेको बताए ।

बजेटले उत्पादन र रोजगारका अवसर सृजना गर्ने उल्ल्ेख गर्दै उनले बजेटका माध्यमबाट समन्वयात्मक भूमिका निर्वाह गरी लक्षित राजस्व सङ्कलनमा सफलता मिल्ने विश्वास व्यक्त गरे ।

पूर्णपाठ :

आर्थिक वर्ष २०८1/८2 को बजेटका सम्बन्धमा राष्ट्रिय सभामा भएको राजस्व र व्ययको वार्षिक अनुमान माथिको छलफलमा माननीय सांसदहरूले व्यक्त गर्नुभएको प्रश्न/ जिज्ञाशा र जवाफः

विगत वर्षमा गरिएका आर्थिक सुधारका उपलब्धिलाई संस्थागत गर्ने, बदलिँदो विश्व अर्थव्यवस्था र मुलुकको वस्तुगत आवश्यकतालाई दृष्टिगत गरी उत्पादन र रोजगारीका अवसर सिर्जना गर्दै देशको अर्थतन्त्रलाई सबल र उत्थानशील बनाउने उद्देश्यको कार्यदिशा स्पष्ट गरी आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरिएको हो।

पाँच उद्देश्यः

  • उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्नु,
  • निजी क्षेत्रको मनोबल बढाउँदै लगानी वृद्धि गर्नु र आर्थिक क्रियाकलापमा तीव्रता ल्याउनु,
  • मानव संसाधन विकास गर्नु,
  • स्रोत र साधनलाई सन्तुलित र समन्यायिक ढङ्गले परिचालन गरी आर्थिक असमानता र गरिबी न्यूनीकरण गर्नु, र
  • सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनु।

पाँच प्राथमिकताः

  • आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्द्धन,
  • कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन, औद्योगिक विकास तथा पूर्वाधार निर्माण,
  • शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रको विकास,
  • समावेशिता र सामाजिक सुरक्षा, र
  • सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहमा सुधार।

 पाँच रणनीति  

  • संरचनागत सुधार
  • व्यावसायिक वातावरण सुधार
  • सार्वजनिक वित्त प्रणाली सुधार
  • वित्तीय क्षेत्र सुधार
  • सार्वजनिक प्रशासनमा सुधार

पाँच रूपान्तरणकारी क्षेत्र:

  • कृषि क्षेत्र रूपान्तरण,
  • ऊर्जा क्षेत्र विकास,
  • सूचना प्रविधि विकास,
  • पर्यटन प्रवर्द्धन, र
  • उद्यमशीलता र औद्योगिक विकास ।

मुख्य मुख्य जिज्ञासा/ प्रश्नहरु

  • आर्थिक वृद्धिको ६ प्रतिशतको लक्ष्य महत्वाकांक्षी रहेको,
  • बजेटमा घोषित कार्यक्रम कार्यान्वयनमा चुनौती रहेको,
  • बजेटको आकार ठूलो, महत्वाकांक्षी र वितरणमुखी भएको,
  • सिद्धान्त र प्राथमिकता बमोजिम बजेट नआएको,
  • वैदेशिक अनुदान र ऋण अनुमान गरे बमोजिम प्राप्त गर्न कठिन रहेको,
  • चालु खर्च घटाउने कुरा चुनौतीपूर्ण रहेको,
  • शिक्षा, स्वास्थ्य र कृषिमा बजेट घटेको तर अर्थ मन्त्रालयमा अर्बौं रकम अबण्डामा राखिएको,
  • अर्थतन्त्र शिथिल भएको अवस्थामा राजस्व सङ्कलनको लक्ष्य महत्वकांक्षी रहेको,
  • सूर्तिजन्य र मदिराजन्य वस्तुमा अन्तःशुल्क अन्य देशको तुलनामा कम लगाइएको,
  • सामाजिक तथा साँस्कृतिक रूपान्तरण हुने गरी बजेट नआएको,
  • प्रादेशिक सन्तुलन हुने गरी बजेट नआएको,
  • राष्ट्रिय गौरवका आयोजना सम्पन्न हुने गरी संख्या घटाउनु पर्नेमा थपिएको,
  • सम्पन्न हुने कार्यक्रम भन्दा नयाँ कार्यक्रम समावेश गरिएको,
  • बजेट खर्च गर्ने क्षमतामा सुधार गर्न चुनौती रहेको,
  • बजेट संघीयताको मर्म र भावना अनुरूप नभएको (प्रदेश र स्थानीय तहमा जाने रकम घटाइएको),
  • सर्जिकल र औषधिमा भन्सार शुल्क बढाएको,
  • युवालाई विदेश पलायनबाट रोक्ने विषय समावेश नभएको,
  • ऋणको भारी बोकेर आर्थिक सुधारको वर्ष घोषणा गरिएको,
  • सरकारी कर्मचारीको तलब वृद्धि हुन नसकेको,
  • बजेट खास मन्त्रालयप्रति उदार र खास मन्त्रालयप्रति अनुदार रहेको,
  • जलवायु परिवर्तन अनुकूलन मैत्री बजेट नआएको,
  • आर्थिक सुधारको वर्ष भने तापनि स्पष्ट ठोस योजना नआएको,
  • महिला लगानी वर्ष घोषणा हुँदा महिलाले लगाउने सुतीको सारीमा मू.अ.कर लागेको,
  • विद्युतीय सवारीमा कर वृद्धि भएको,
  • सोहौ योजनासँग तादाम्यता नभएको,
  • कर प्रशासनमा व्यापक सुधार गर्न नसकिएको,
  • आलु, प्याज र स्याउमा मूल्य अभिवृद्धि कर हटाउँदा नेपाली किसानलाई संरक्षण गर्न नसकिएको।

अब म माननीयज्यूहरुबाट उठाइएका जिज्ञाशा सम्बोधन गर्दछु।

  • बजेट तर्जुमा गर्दा नेपालको संविधान, पन्ध्रौ आवधिक योजनाको समीक्षा, सोह्रौं योजनाको सोच, गणतन्त्रको डेढ दशकको उपलब्धिको समीक्षा र विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता तथा त्यसमा माननीय सदस्यहरूबाट व्यक्त भएको रचनात्मक सुझाव, नेपाल सरकारको नीति तथा कार्यक्रम एवम् नेपाल सरकारले अन्तर्राष्ट्रिय जगतमा व्यक्त गरेको प्रतिवद्धतालाई प्रमुख आधारको रूपमा ग्रहण गरी बजेट तर्जुमा गरिएको हो।

 

  • अर्थतन्त्र चलायमान हुँदै गएको, निजी क्षेत्रको मनोबल बढ्दै गएकोले वित्तीय क्षेत्रबाट लगानीयोग्य पुँजी थप परिचालन हुने, भर्खरै सम्पन्न भएको लगानी सम्मेलनमा व्यक्त भएका प्रतिवद्धता बमोजिम थप वैदेशिक लगानी परिचालन हुने र तीन तहकै सरकारबाट पुँजीगत खर्चमा बढोत्तरी हुने विश्वास लिएको छु। विगतका बर्षहरू भन्दा आगामी आर्थिक बर्षमा पूँजीगत खर्चमा भएको बढोत्तरीसँगै स्रोत सुनिश्चित गरिएका आयोजनामा आवश्यक रकम विनियोजन गरिएको छ भने सिर्जित दायित्व भुक्तानी र सम्पन्न हुने आयोजनाको लागि समेत आवश्यक रकम विनियोजन गरिएको छ।यसैगरी बैंकिङ्ग प्रणालीमा लगानी योग्य रकमको वृद्धि तथा बाह्य क्षेत्र सुदृढ रहेको अवस्थाले सहज वातावरण सिर्जना भएको हुँदा बजेटमा प्रस्ताव गरिएका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट ६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुनुको साथै सोह्रौं आवधिक योजनाले परिलक्षित गरेका उद्देश्यहरू समेत क्रमशः पुरा हुने विश्वास लिएको छु।
  • मुलुकको चालु आर्थिक वर्षको कुल ग्रार्हस्थ उत्पादनको आकार, सार्वजनिक वित्तको अवस्था र विगतका बजेटका आकारको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकार महत्वाकांक्षी नरही सन्तुलित रहेको छ। आगामी आर्थिक वर्षका लागि रु. १८ खर्ब ६० अर्ब ३० करोड विनियोजन बजेट कार्यान्वयन गर्न आवश्यक पर्ने वित्तीय स्रोत परिचालन हुने गरी कार्ययोजना सहित स्रोत व्यवस्थापन गरिनेछ।आगामी आर्थिक वर्षको बजेटको कार्यदिशा अर्थतन्त्रलाई थप चलायमान बनाउन निजी क्षेत्र समेतको मनोबल बढाउने रहेकोले बजेट वितरणमुखी नभई उत्पादनमुखी रहेको विश्वास दिलाउन चाहन्छु। आगामी आर्थिक वर्षको खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ६.२ प्रतिशतले मात्र बढी हो।यसैगरी चालु आर्थिक वर्ष २०८०/८१ को तुलनामा चालु खर्चतर्फ न्यून बजेट विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ बजेट वृद्धि गरिएको छ। आगामी आर्थिक वर्षको लागि प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाँट र अनुदान गरी रु.5 खर्ब 67 अर्ब अर्थात कुल विनियोजनको 30.5 प्रतिशत वित्तीय हस्तान्तरण गरिने सुनिश्चितता जनाइएकोले प्रदेश र स्थानीय तहमा जाने रकममा पनि चालु आर्थिक वर्ष भन्दा बढी नै विनियोजन गरिएको छ। सो रकमबाट सञ्चालन हुने क्रियाकलाप तथा संघीय सरकारको कार्यक्रमबाट सञ्चालन गरिने क्रियाकलापबाट प्रादेशिक सन्तुलन निर्माणमा योगदान पुग्ने अपेक्षा लिएको छु।
  • वैदेशिक सहायतातर्फ चालु आर्थिक वर्ष भन्दा सामान्य वृद्धि गरी पूर्वतयारी अवस्थामा रहेका आयोजना तथा कार्यक्रमका लागि मात्र सहायता रकम प्रस्ताव गरिएको छ।यसैगरी विकास सहायताबाट सञ्चालित आयोजनालाई केन्द्रित गरी सघन अनुगमनको प्रणाली विकास गरिएको एवं विकास सहायतामा हाम्रो उपयोग क्षमता बढाउन प्रोजेक्ट रेडिनेस फिल्टर उपयोग गरी आयोजना सम्झौता गर्दा नै आयोजना कार्यान्वयन कार्ययोजना समावेश गर्ने व्यवस्था मिलाइने हुँदा वैदेशिक अनुदान र ऋण परिचालनमा गुणात्मक फड्को मार्ने अपेक्षा गरेको छु।
  • चालु आर्थिक वर्षको विनियोजन भन्दा आगामी आर्थिक वर्ष शिक्षा क्षेत्रमा करिब रु. 6 अर्ब र स्वास्थ्य क्षेत्रमा करिब रु.3 अर्ब बढी बजेट विनियोजन गरिएको हुँदा शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई उच्च महत्व एवं प्राथमिकता दिई बजेट विनियोजन गरिएको छ।
  • पश्चिम रूकुम र जाजरकोट जिल्लामा गएको भूकम्पबाट भएको क्षतिको पुनर्निर्माण, उत्पादन तथा रोजगारी कार्यक्रम साथै एम सि ए नेपाल अन्तर्गत विद्युत प्रशारण आयोजना समेतका लागि अर्थ मन्त्रालयको अर्थ विविध शीर्षकमा केही थप बजेट रहन गएको हो।उक्त बजेट अर्थ मन्त्रालयले नै खर्च गर्ने भने होईन।
  • जलवायु परिवर्तनलाई उच्च प्राथमिकतामा राखेर जलवायु अनुकूलन र न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिनेछ। जलवायु परिवर्तनबाट परेको असरलाई एकीकृत र सन्तुलित रूपमा संवोधन गर्न राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम सञ्चालन गरिनेछ भने वातावरणीय न्यायको सिद्धान्त अनुरूप अधिकारमुखी अवधारणामा उपलब्ध हानी तथा क्षति कोष लगायत जलवायुकोष तथा सुविधाका आधारमा सहायता परिचालन गरिने व्यवस्था मिलाइएको छ।
  • कुल ग्रार्हस्थ उत्पादनमा कुल सार्वजनिक ऋणको अनुपात ४0 प्रतिशत मुनीनै रहेको हुँदा सार्वजनिक ऋणको उपयोग उत्पादनमुलक क्षेत्रमा गर्ने व्यवस्था मिलाइएकोले यसले मुलुकको समृद्धिमा टेवा पुर्‍याउने विश्वास लिएको छु ।
  • सरकारले गर्ने लगानी, प्रत्यक्ष वैदेशिक लगानीमा हुने थप वृद्धि र निजी क्षेत्रले परिचालन गर्ने लगानीको कारण थप रोजगारीका अवसर सिर्जना भई विदेश पलायन हुने युवालाई स्वदेशमै रोजगारी गर्ने गरी वातावरण निर्माण हुने अपेक्षा बजेटले लिएको छ।
  • आगामी आर्थिक वर्ष राजस्व परिचालन एवं अनुमानलाई अझ बढी यथार्थपरक बनाउने प्रयास स्वरूप राजस्व अनुमान चालु आर्थिक वर्ष भन्दा न्यून गरिएको छ भने कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिको प्रतिवेदन क्रमशः कार्यान्वयन गरिनेछ।
  • चालु आर्थिक वर्षको राजस्व सङ्कलनको तुलनामा आगामी आर्थिक वर्षको राजस्व सङ्कलनको लक्ष्य सन्तुलित नै रहेको छ। अर्थतन्त्र चलायमान गराउने, स्पष्ट कार्ययोजना सहित राजस्व सङ्कलन एवम् सघन बजार अनुगमन बढाउने र राजस्व चुहावट नियन्त्रण गर्ने कार्यलाई समन्वयात्मक ढंगले सञ्चालन गर्दा राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न सकिने विश्वास दिलाउन चाहन्छु।
  • सूर्तिजन्य र मदिराजन्य वस्तुमा अन्तःशुल्क वृद्धि गरी अन्य देशसँग तुलानात्मक रूपमा समानता कायम गरिएको छ। हाल मदिरा, वियर र वाइनको बजार मूल्य छिमेकी सीमावर्ति बजार भन्दा बढी छ। सीमा वर्ती बजार भन्दा बढी राख्दा चोरी पैठारीको संभावना बढ्ने भएकोले सो समेत विचार गरी दरहरु निर्धारण गरिएको छ भने कार्बन उत्सर्जन घटाउने अन्तर्राष्ट्रिय प्रतिवद्धताअनुरूप पेट्रोलियम पदार्थ र कोइलाको पैठारीमा हरित कर शुरूवात गरिएको छ।
  • करका दरमा समसामयिक बनाउन सामान्य रूपमा परिमार्जन तथा थपघट गरिएको हो। गत वर्ष आलु, प्याज र स्याउ लगायतका तरकारी एवं फलफूलमा मूल्य अभिवृद्धि कर लगाइएकोमा प्रशासनिक हिसाबले आयातमा मात्र मूल्य अभिवृद्धि कर लगाउन जटिल भएको र आन्तरिक उत्पादनमा समेत मूल्य अभिवृद्धि कर लागेकोले आन्तरिक उत्पादनलाई संरक्षण दिन मूल्य अभिवृद्धि कर हटाइ आयातमा अग्रिम आयकर लिने व्यवस्था गरिएको हो।
  • राजस्व परामर्श समितिमा भएको छलफल, विज्ञ बाट गरिएको अध्ययनको निष्कर्षका आधारमा निजी विद्युतीय सवारी साधनमा लाग्ने भन्सार महसुल र अन्त: शुल्कमा केही वृद्धि गरिएको हो। मुलतः निजी तथा व्यक्तिगत प्रयोजनमा प्रयोग हुने सवारी साधनलाई केन्द्रित गरी भन्सार दरबन्दीमा औचित्यपूर्ण ढंगले सामान्य वृद्धि गरिएको छ। ठूला तथा सार्वजनिक सवारी साधनलाई कर वृद्धि गरिएको छैन।यसले आम उपभोक्तालाई थप व्ययभार सिर्जना नभएको व्यहोरा अनुरोध गर्दछु।
  • साविकमा भन्सार ऐन र नियमावलीमा भएका व्यवस्थालाई समेटी भन्सार महसुल ऐन आर्थिक ऐनकै अंगका रुपमा पेश गरिएको हो। छुट्टै भन्सार महसुल ऐन तर्जुमा गर्ने अन्तर्राष्ट्रिय अभ्यास छ। यसबाट भन्सार प्रशासनको काममा थप दक्षता अभिवृद्धि हुनेछ। भन्सार प्रशासनको काम कारवाहीमा सहजता र प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले भन्सार महसुल दर तोक्ने र हेरफेर गर्ने विषय समावेश गरी छुट्टै नयाँ भन्सार महसुल विधेयक पेश गरिएको हो।

 

मिति:2081/2/20 गते आइतवार

क्र.सं. माननीयको नाम व्यक्त विचार/प्रश्न जवाफ
1. जग प्रसाद शर्मा बजेटको Spirit समाजवादको आधारको रूपमा रहेको तर कार्यान्वयनमा चुनौती रहेको।

उठ्नुपर्ने राजस्वको आधा पनि उठ्न नसकेको।

·         खर्च गर्ने स्रोतको सुनिश्चिततासँगै स्पष्ट कार्ययोजना सहित बजेट क्यालेण्डरको तर्जुमा गरी कार्यान्वयन गरिने।

·         आर्थिक वर्षको बाँकी अवधिमा उठाउन पहल गरिने।

2 कृष्ण बहादुर रोकाया बजेट आकारमा ठूलो, महत्वकांक्षी र वितरणमुखी भएको। टुक्रे आयोजना छनौट । बहुवर्षीय/क्रमागत/ठूला र राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता नदिइएको।बजेट अनुदान र अनुमानमा आधारित रहेको र संघ संस्थाको नाममा बढी विनियोजन भएको। ·         कुल ग्रार्हस्थ उत्पादनको आकार र साधरण वित्तको परिसूचकको आधारमा बजेट यथार्थपरक रहेको।

·         राष्ट्रिय गौरव र बहुवर्षीय आयोजनालाई स्रोतको अभाव हुन नदिने।

·         गत आ.व.को यथार्थ र चालु आ.व.को संशोधित अनुमानको आधारमा बजेट तर्जुमा गरिएको।

3 देवेन्द्र दाहाल सरकारमा सामेल दलहरूबीच छलफल भए/नभएको, सोह्रौ योजनाको सम्बोधन भए/नभएको तथा शिथिल अर्थतन्त्रलाई उकास्ने कार्यक्रम रहे/नरहेको। ·         बजेट सोह्रौ योजनाको आधारपत्रको मार्गदर्शन समेतमा तर्जुमा गरिएको।र निजी क्षेत्रको मनोबललाई उच्च बनाई अर्थतन्त्रलाई चलायमान हुने गरी कार्यक्रम प्रस्ताव भएको।
4 बेदुराम भूसाल बजेटको उद्देश्य र प्राथमिकता बमोजिम कार्यक्रम र विनियोजन भयो/भएन ? आर्थिक सुधारको कार्यक्रम छैन।कृषिको विनियोजनमा सकरात्मक हुन नसकेको।कृषिमा लगानी दशक घोषणा भएको तर समस्या समाधान र कृषि पूर्वाधार सुधारमा कुनै कार्यक्रम आउन नसकेको। ·         बजेटको उद्देश्य र प्राथमिकता बमोजिम कार्यक्रममा रकम विनियोजन गरिएको।

·         बजेटमा कृषि पूर्वाधार निर्माणतर्फका पर्याप्त कार्यक्रम प्रस्ताव गरिएको।

5 मोहमद खालिद बजेटले पिछडा वर्गलाई कति सम्बोधन गर्न सक्यौ ? मदरसाको सम्बन्धमा सम्बोधन नभएको।मधेश प्रदेशमा न्यून बजेट विनियोजन भएको। ·         पिछडा वर्ग, मदरशा र मधेश प्रदेशमा क्षेत्रगत हिसाबले कार्यक्रम प्रस्ताव गरी रकम विनियोजन गरिएको।
6 नारायणदत्त मिश्र चालु खर्च घटाउने विषय चुनौतीपूर्ण रहेको।स्वास्थ्य र कृषिमा बजेट घटेको तर अर्थमा 222 अर्ब अबण्डा किन राखियो।बजेटबाट कर्मचारी खुशी छ कि छैन। मू.अ.करो दरबन्दीमा ठूला साहुको अनुहार देखिन्छ त । अन्य देशको तुलनामा चुरोट र मदिराको अन्तशुल्क कम लगाएको। ·         चालु आ.व.भन्दा आगामी आ.व.मा चालु खर्चतर्फ न्यून विनियोजन गरी खर्च घटाउन सुरुवात गरिएको।

·         स्वास्थ्य र कृषिमा चालु आ.व.भन्दा बजेट विनियोजनमा सिमान्त वृद्धि भएको।

·         प्रदेश र स्थानीय तहलाई वित्तीय हस्तान्तरण हुने रकम 222 अर्थ शीर्षकमा राखिएको।

·         मदिराजन्य र सूर्तिजन्यमा लाग्ने अन्तशुल्कको दरमा निरन्तर वृद्धि भइरहेको।

7 तुलसा कुमारी दाहाल कृषिमा बजेट घटाउँदा कृषि लगानी दशकको सम्बोधन हुन्छ त।खास मन्त्रालयप्रति उदार खास मन्त्रालयप्रति अनुदार भएको हो। तराइमा पानीको पुर्नभरण योजना आउन नसकेको। सामाजिक तथा साँस्कृति रूपान्तरणको विषय आउन नसकेको। ·         चुरे क्षेत्रको संरक्षण र सम्बर्द्धन सम्बन्धी कार्यक्रम प्रस्ताव भएको।

·         कृषिमा बजेट विगत वर्ष सरह नै रहेको।

·         सवै मन्त्रालय तथा सवै क्षेत्रप्रति समानभाव राखी कार्यक्रम प्रस्ताव भएको।

8 राजेन्द्रलक्ष्मी गैह्रे महिलालाई आत्मनिर्भर बनाउने कार्यक्रम छ/छैन। ·         क्षेत्रगत हिसाबले महिलालाई आत्मनिर्भर हुने कार्यक्रमहरू प्रस्ताव भएको।
9 विष्णुकुमारी सापकोटा धेरै कुरा पुरानो र दोहोरिएका। सम्पन्न हुने कार्यक्रम रोकी नयाँ कार्यक्रम राखिएको।शिक्षाको क्षेत्रमा कम बजेट विनियोजन गरिएको। ·         क्रमागत र बहुवर्षीय कार्यक्रमहरूलाई निरन्तरता दिइएको।

·         आवश्यकतानुसार नयाँ कार्यक्रम प्रस्ताव गरिएको।

·         शिक्षा क्षेत्रको बजेटमा सिमान्त वृद्धि भएको।

10 सुरेश आले मगर जलवायु परिवर्तन अनुकूल मैत्री बजेट बन्न नसकेको। ·         LMBIS मा जलवायु परिवर्तन संकेतमा कार्यक्रम प्रस्ताव भएको।
11 दुर्गा गुरुङ्ग राजस्वमा कमी, पुँजीगत खर्चमा कमी हुँदा पनि बजेटको आकार बढेको। ·         अर्थतन्त्रको क्षमता अनुसार बजेटको आकारमा सिमान्त वृद्धि भएको।
12 उर्मिला अर्याल गरिवी निवारणतर्फ बजेट मौन देखिएको, थप प्रष्ट भएर आउनुपर्ने। ·         प्रस्तावित कार्यक्रमको कार्यान्वयनबाट गरिबी न्यूनीकरणमा योगदान पुग्ने।

2081/02/21 गते सोमबार

13 कमला पन्त  कृषिको पूर्वाधार नभएको र कृषि बजेट घटेको अवस्थामा कृषिमा लगानी दशक घोषणा भएको।सम्बैधानिक प्राकृतिक स्रोत तथा वित्त आयोगले सिफारिस गरे बमोजिम समानीकरण अनुदानमा घटी विनियोजन हुँदा स्थानीय सरकार विरोधी देखिएको।औषधि र सर्जिकलमा भन्सार दस्तुर बढाएर निशुल्क स्वास्थ्यलाई सरकारले वेवास्ता गरेकोले अविलम्ब भन्सार दस्तुर घटाउनुपर्ने।खेतीयोग्य बाँझो जग्गा उपयोग गर्ने विषयमा बजेट नबोलेको। ·         कृषिमा बजेट नघटेको।

·         संघीय सरकारले उपलब्ध गराउने प्रतिवद्धता जनाएको रकमलाई नै वित्त आयोगले प्रदेश र स्थानीय तहमा बाँडफाँट गरेको।

·         भन्सार दस्तुरमा समसामयिक सिमान्त वृद्धि गरिएको।

14 शारदादेवी भट्ट जनप्रतिनिधिको सिफारिस बमोजिमको कार्यक्रम राखिनुपर्ने। वास्तविक किसान पहिचान गरी सुविधा दिनुपर्ने। ·         माननीयको सुझाव र आयोजना बैंकमा समावेश भएका कार्यक्रम प्रस्ताव गरिएको।

·         कृषि अनुदान कार्यक्रमहरू उत्पादनमा आधारित गरिएको।

15 जयन्ती देवी राई बजारको मालिक उत्पादनकर्ता किसान कहिले हुने हो। बजारमा विचौलियाको विगविगी हटाउनुपर्ने।रोजगारी केन्द्रित विकासको योजना हुनुपर्ने।पढ्दै रोजगारी गर्ने व्यवस्था मिलाउनुपर्ने। ·         प्रस्तावित बजेटमा क्षेत्रगत कार्यक्रमहरू प्रस्ताव गरी सम्बोधन  भएका।
16 पुजा चौधरी ऋणको भारी बोकेर आर्थिक सुधारको वर्ष घोषणा हुनु विडम्वनापूर्ण रहेको।मल कारखाना सम्बन्धी विषय उल्लेख नभएको।नेपाल सरकारको बजेट नभई पार्टी विशेषको बजेट भएको।मझौला र साना आयोजना तलबाट कार्यान्वयन गर्नुपर्ने। ·         सार्वजनिक ऋणको परिमाण वाञ्छित सीमाभित्र रहेको।

·         मझौला र साना आयोजना प्रदेश र स्थानीय तहबाट कार्यान्वयन हुने गरी व्यवस्था गरिएको।

·         सर्वसाधरण जनता लाभान्वित हुने गरी नेपाल सरकारको नीति तथा कार्यक्रमलाई कार्यन्वयन गर्न बजेट विनियोजन गरिएको।

17 तुल प्रसाद विश्वकर्मा उत्पादकत्व बढाउने कार्यक्रम नभएको।विकास बजेटको ठूलो हिस्सा खर्च नभएको।बजेटमा प्राइभेट उद्योगलाई प्रश्रय दिइएको तर सार्वजनिक उद्योगको विषय नभएको। ·         पुँजीगत खर्चबाट उत्पादकत्व बढाउने क्षेत्रगत कार्यक्रम प्रस्ताव भएको।सार्वजनिक र निजी क्षेत्रको मनोबल उच्च पार्ने वातावरण सिर्जना गरिने।
18 अन्जान शाक्य ३ खर्ब 52 अर्बको पुँजीगत खर्च गर्न सरकारले सक्छ/सक्दैन। SDG को लक्ष्य पूरा गर्ने गरी बजेट आउनुपर्ने। कर प्रशासनमा व्यापक सुधार गर्नुपर्ने।अनौपचारिक अर्थतन्त्रको आयलाई कम गर्न सरकारले उपयुक्त अध्ययन गर्नुपर्ने। ·         बजेट क्यालेण्डर र स्पष्ट कार्ययोजनासहित पुँजीगत खर्चलाई तीब्रता दिइने।

·         SDG लक्ष्य हासिल हुने गरी वार्षिक कार्यक्रम प्रस्ताव हुँदै आएको।

·         करप्रशासनलाई व्यावसायिक र प्रविधिमैत्री सहित उच्च मनोबलयुक्त तुल्याउने थप प्रोत्साहनको कार्यक्रम प्रस्ताव भएको।

·         आर्थिक सुधारको कार्यक्रमबाट उपयुक्त अध्ययन गरिने।

19 नरबहादुर विष्ट कार्यक्रम कार्यान्वयन गर्न चुनौतीपूर्ण रहेको। ·         बजेट क्यालेण्डर र स्पष्ट कार्ययोजनासहित बजेट कार्यान्वयन गरिने।
20 पदम बहादुर परियार औसत वृद्धिदर 3-4 प्रतिशत रहेको अवस्थामा 6 प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य महत्वकांक्षी रहेको। मदिरा र सूर्तिजन्य वस्तुमा अझै कर बढाउनुपर्ने।गरिबलाई केन्द्रित गरेर कार्यक्रम नआएको।वर्षेनी विदेश पढ्न जानेले 100 अर्ब खर्च गर्ने गरेको तर यसलाई सम्बोधन गर्ने गरी खासै कार्यक्रम नआएको। सोह्रो योजनासँग बजेटको तादाम्यता नभएको। ·         अर्थतन्त्रको आकारमा भएको वृद्धि र चलायमान अर्थतन्त्रबाट निजी क्षेत्रसमेतको मनोबलमा वृद्धि गरी हासिल गरिने।

·         गरिब लक्षित क्षेत्रगत कार्यक्रमहरू प्रस्ताव भएका।

·         मदिराजन्य र सूर्तिजन्य वस्तुमा समयसापेक्ष कर वृद्धि भएको।

·         नेपालमा नै पर्याप्त रोजगारी सिर्जना हुने गरी एवम् सोह्रौ योजनाको आधारपत्रसँग तादाम्यता कायम हुने गरी बजेटमा कार्यक्रम प्रस्ताव भएको।

21 सोनाम ग्याल्जेन शेर्पा थप क्षेत्रिय विमानस्थल निर्माण गर्ने कुरा बजेटमा नभएको।समानीकरण अनुदान घटेकोले संघीयताको सबलिकरण नहुने हो कि। ·         चालु आ.व.को तुलनामा वित्तीय हस्तान्तरण बढाइएको।

 

22 गोमादेवी तिमिल्सिना नयाँ औद्योगिक क्षेत्र बन्ने कुरा धेरै वर्ष भएको तर DPR/Budgeting /Planning नभएकोले कसरी बन्ने हो ।कसरी साझेदारी गर्ने हो।भइरहेको रुग्ण उद्योग कसरी बचाउने हो। ·         पर्याप्त अध्ययन गरी थप तयारीका साथ नयाँ उद्यौगिक क्षेत्र निर्माण गरी निजी क्षेत्रसँग साझेदारी गरी कार्यान्वयनमा ल्याइने।
23 तारामान स्वार पुँजीगत खर्च घट्दै जाने र चालु खर्च बढ्दै जाने अवस्थामा खर्च गर्ने क्षमता बढाउनु पर्ने। कृषि क्षेत्रमा वैदेशिक लगानीले विदेशी प्रभाव परी दलाल पुँजीवाद भित्रिने आशंका रहेको। ·
24 विष्णुदेवी पुडासैनी ऋण तिर्नका लागि ऋण लिनुपर्ने अवस्था आएको हो। ·         सार्वजनिक ऋण वाञ्छित सीमामा रहेको र उत्पादनमुलक क्षेत्रमा परिचालन गरी पुँजी निर्माणको माध्यमबाट थप राजस्व परिचालन गरी ऋणको भुक्तानी गरिने।
25 मदन कुमारी शाह गरिमा पर्यटनको पूर्वाधार विकासको कार्यक्रम के छ।पश्चिम सेती बजेटमा समावेश नभएको।सन्तुलित क्षेत्रीय विकासलाई सम्बोधन गर्न नसकेको। ·         वित्तीय हस्तान्तरण र क्षेत्रगत विनियोजनबाट सन्तुलित क्षेत्रिय विकासलाई सम्बोधन गरिएको।
26 युवराज शर्मा केन्द्रियतावादी सोच बजेटमा आएको। आर्थिक समस्यालाई सम्बोधन गर्न नसक्ने।राष्ट्रिय परिस्थितिलाई नजरअन्दाज गरी क्रोनी क्यापिटालिज्मलाई बढवा दिएको।चालु खर्च घटाउने कुरा नदेखिएको।बजेट विनियोजनमा प्रश्न उठेको।बजेट विनियोजनले कुन सिद्धान्तलाई टेकेको छ। ·         अर्थतन्त्र चलायमान गरी निजी क्षेत्रको मनोबलमा वृद्धि गरी आर्थिक गतिविधि विस्तार गरिने।समग्र सार्वजनिक क्षेत्र र निजी क्षेत्रको लगानी विस्तार हुने गरी विनियोजन भएको।

·         Bottom to Top Approach मा नै बजेट तर्जुमा गरिएको।चालु खर्चमा सिमान्त कटौती गरिएको।

27 रुक्मिणी कोइराला लैङ्गिक उत्तरदायी बजेटको कार्यान्वयन छुटेको।प्रधानमन्त्री छोरी कार्यक्रममा कम बजेट विनियोजन भएको। ·         लैङ्गिक उत्तरदायी बजेट सङ्केत बमोजिम कार्यक्रम प्रस्ताव भएको।

·         प्रधानमन्त्री छोरी कार्यक्रमको कार्यान्वयनको प्रगतिको आधारमा थप रकम विनियोजन हुने।

28 मनरुपा शर्मा बजेटमा मुक्तिनाथ केवलकार छुटेको। बाँदरको  समस्या हल गर्ने विषय नभएको। ·         निजी क्षेत्रले उक्त केवलकारको निर्माणको प्रक्रिया अघि बढाइएको।

 

 

प्रतिक्रिया दिनुहोस्