टी-२० विश्वकपमा अफगानिस्तानले युगान्डालाई हरायो



काठमाडौं ।

आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘सी’ को खेलमा अफगानिस्तानले युगाण्डालाई एक सय २५ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

अफगानिस्तानले जितका लागि दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको युगाण्डा १६ ओभरमा सबै विकेट गुमाउँदै मात्रै ५८ रन बलमा समेटियो। विश्वकपमा डेब्यु गरेको युगाण्डाका लागि रोबिन्सन ओबुयाले १४ र रिआजत अली साहले ११ रन बनाउनुबाहेक कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । युगाण्डालाई ५८ रनमा समेट्ने क्रममा अफगानिस्तानका फजलहक फारुकी एक्लैले पाँच विकेट लिए भने नवीन उलहक र कप्तान राशिद खानले समान दुई–दुई विकेट लिए।

त्यस्तै मुजिब उर रहमानले एक विकेट झारे। त्यसअघि प्रोभिडेन्समा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ८३ रनको योगफल बनाएको थियो।

उसका लागि ओपनरद्वय रहमानुल्लाह गुर्बाज र इब्राहिम जद्रानले अर्धशतकीय पारी खेलेका थिए। गुर्बाजले ४५ बलमा चार चौका र चार छक्का प्रहार गर्दै ७६ रनको योगदान दिए भने इब्राहिमले ४६ बलमा नौ चौका र एक छक्का प्रहार गर्दै ७० रन बनाए।

बलिङतर्फ युगाण्डाका ब्रायन मसाबा र कस्मस क्येवुटाले समान दुई–दुई विकेट लिए भने अलेपेश रमजानीले एक विकेट झारे।

प्रतिक्रिया दिनुहोस्