झापाको गौरीगन्ज गाउँपालिकाका असल अभ्यासहरु

126
Shares

झापा जिल्लामा पर्ने गौरीगन्ज गाउँपालिका पनि नेपालका स्थानीय सरकारमध्येको एक हो । यस पालिकाको अध्यक्षमा फूलवती राजवंशी हुनुहुन्छ । यसै गरी, यस पालिकाको उपाध्यक्षमा पूजन न्यौपाने (कुवर) हुनुहुन्छ, जो केही गरौँ भन्ने युवा हुनुहुन्छ। यसै गरी, प्रमुख प्रशासकीय अधिकृतमा कार्यरत खेमराज थापा पनि पालिकाको उन्नतिका लागि क्रियाशील हुनुहुन्छ। यस पंक्तिकारले यस पालिकाका सबै जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकासको तालिम दिँदा समष्टिमा सबै जनप्रतिनिधि र कर्मचारीहरु पालिकाको उन्नति र प्रगतिमा दत्तचित्त रहेको पाइएकाले सो पालिकाका असल अभ्यासहरुलाई लिपिबद्ध गर्ने जमर्को गरेको छु।

स्वास्थ्य सेवातर्फ यो गौरीगन्ज गाउँपालिकाले आधारभूत अस्पताल सञ्चालन गरेको छ। यसका अतिरिक्त यस गौरीगन्ज गाउँपालिकाले प्रत्येक वडाभित्रका विपन्नहरुको हितमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको छ । साथै सुत्केरीलाई पोषण कार्यक्रमअन्तर्गत १५ सय रुपियाँ भत्ता दिने गरेको छ । यस पालिकामा चौबीसै घण्टा प्रसूति सेवा उपलब्ध छ । सुत्केरी र अति विपन्नका लागि यस पालिकाले निःशुल्क एम्बुलेन्स सेवासमेत उपलब्ध गराउँदै आएको छ । एक वडा एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन गरिआएको यस पालिकाले सुत्केरी घरदैलो सेवा पनि सञ्चालनमा ल्याएको छ। यस पालिकाले काजक्रियाबापत १० हजार रुपियाँ प्रदान गर्ने गरेको छ।

शिक्षातर्फ यस पालिकामा कक्षा १२ सम्मको पठनपाठन निःशुल्करुपमा सञ्चालित छ । यहाँ कक्षा ९ मा अध्ययनरत छात्राहलाई साइकल वितरण गर्ने गरिएको छ । यस पालिकाभित्रका विद्यालयहरुमा ई हाजिरी जडान गरिएको छ । यस पालिकाले प्राविधिक शिक्षातर्फ २५ हजार र १५ हजार रुपियाँको छात्रवृत्ति सञ्चालन गरिआएको छ । यस पालिकाले स्कूललाई जग्गा दान गर्नेलाई सम्मान गरेको छ । मूलतः यो पालिका शिक्षाको गुणस्तर माथि उठाउन र सबै बालवालिकालाई स्कूलमा ल्याउन कटिबद्ध रहेको छ ।

कृषितर्फ यस पालिकाले माटो परीक्षण शिविर सञ्चालन गरेको छ। कृषि उपकरणतर्फ मकै छोडाउने मेसिनमा ५० प्रतिशत अनुदान दिएको छ। यस्तो अनुदान रकम अधिकतम ७ हजार ५ सयसम्म रहेकोे छ । यस पालिकाले माछापोखरी निर्माणमा पनि ५० प्रतिशतसम्म अर्थात् १० हजारमा नबढ्ने गरी अनुदान दिने गरेको छ । साथै, हिउँदे र बर्खे तरकारीका बीउ निःशुल्क वितरण गरिएको छ। कृषक समूहमा स्थलगत तालिम सञ्चालन गरिएको छ। बालीनालीका लागि सूक्ष्म खाद्यतत्व वितरण गरिएको छ । साथै, विषादी र भिटामिनहरु पनि वितरण गरिएको छ । यसै गरी, गोठ सुधार कार्यक्रममा पनि ५० प्रतिशतसम्म अर्थात् १० हजारसम्म अनुदान दिने गरिएको छ । साथै, पशुको स्वास्थ्य सुधारका लागि औषधि वितरणलगायतका कार्यक्रम सञ्चालनमा रहेका छन् । साथै, पशुपालनसम्बन्धी सीप विकास तालिम प्रदान गरिएको छ । यस पालिकाले सिंचाइका लागि मोटर बोरिङमा ७५ प्रतिशत अनुदान दिने गरेको छ । यसरी कृषिप्रधान गौरीगन्ज गाउँपालिका कृषि र पशुपालनको विकासका लागि किसानहरुलाई उत्प्रेरित गर्न प्रतिबद्ध रहेको छ।

यस पालिकाले बालविवाहविरुद्ध रणनीति तय गरेको छ । यस पालिकाले अपांगता भएका व्यक्तिलाई ह्वील चियर दिएको छ । यसै गरी, दृष्टिविहीनलाई ब्रेल लिपि तालिम दिएको छ । अपांगता भएकालाई परिचयपत्र वितरण गरेको छ । यस पालिकाले ज्येष्ठ नागरिकलाई तीर्थाटनमा लगेको छ।

यस पालिकाले अनलाइन प्रणालीबाट राजस्व संकलन गरिआएको छ । यस पालिकाबाट बजार अनुगमन भइरहेको छ । यस पालिकाले सबै वडामा सम्भावित लघु उद्यमीहरुलाई उद्यमशीलता तालिम प्रदान गरेको छ । प्राविधिक सीप विकासका लागि यस पालिकाले सिलाइ कटाइ तालिम, ब्यूटीपार्लर तालिम, कृस्टल तालिम, डलकुसन तालिम र अर्गानिक कागतीको चुक बनाउने तालिम प्रदान गरेको छ । जसमध्ये सिलाइ कटाइ तालिम लिएका लघु उद्यमीहरुलाई प्रविधि हस्तान्तरणअन्तर्गत सिलाइ मेसिन सेट ४० थान वितरण गरिएको छ । यस पालिकाले पुनः प्रयोग स्यानिटरी प्याड निर्माणको पनि तालिम दिएको छ ।

न्यायिक समितितर्फ गत आ.व.मा १४२ वटा विवादमध्ये ९५ वटामा मेलमिलाप गराइएको छ । यस न्यायिक समितिले बोक्सीको आरोप, जग्गा विवाद, घर झगडा, महिला हिंसालगायतमा विवाद समाधान गर्दै आएको छ । यस पालिकामा आधुनिक इजलास कक्ष निर्माण भएको छ । सम्भव भएसम्म सातै दिन, तर हप्तामा अनिवार्यरुपमा तीन दिन न्यायिक समितिले सुनुवाइ गरिआएको छ । यस पालिकाले कानुनी सचेतनाको लागि जनप्रतिनिधि र कर्मचारीका लागि पुनर्ताजगी तालिम सञ्चालन गरेको छ । साथै, यस पालिकाले मेलमिलापकर्ताहरुलाई विवाद समाधान गरेबापत प्रोत्साहन रकम दिइआएको छ । यस पालिकाका सबै वडामा मेलमिलाप केन्द्र स्थापना भएको छ । यस पालिकाको न्यायिक समितिले हिंसापीडित महिलाहरुलाई अदालतको अवलोकन भ्रमण गराई कानुनी साक्षरता प्रदान गरेको छ ।

कार्तिकलाल राजवंशी यस पालिकाको वडा नं. १ को वडा अध्यक्ष हुनुहुन्छ । उहाँको नेतृत्वमा यस वडामा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । बालबालिकालाई खेलकुदमा प्रोत्साहन गरिएको छ । यस वडाले बगर खेती प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ । साथै, महिला उद्यमी कार्यक्रमअन्तर्गत सौन्दर्य कला तालिम सञ्चालन गरेको छ । यसै गरी, यस वडाले एसईई उत्तीर्ण विद्यार्थीहरुलाई प्राथमिक उपचार तालिम प्रदान गरिआएको छ ।

किनालाल राजवंशी वडा नं. २ को वडा अध्यक्ष हुनुहुन्छ । उहाँको नेतृत्वमा यस वडाले करेसाबारीको लागि आवश्यक सामग्री वितरण गरेको छ । यस वडाले ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सञ्चालन गरेको छ । यस वडाले बालविवाह निरुत्साहनसम्बन्धी जनचेतना अभिमुखीकरण तालिम सञ्चालन गरेको छ । यसै गरी, यस वडाले कपुर धूप बनाउने तालिम दिएको छ । सिंचाइको लागि कृषिक्षेत्रमा विद्युतीय पोल विस्तार कार्यक्रम सञ्चालन गरिएको छ । साथै, कृषिको लागि स्प्रे टंकी वितरण कार्यक्रम पनि सञ्चालन गरिएको छ । यस अतिरिक्त, कृषकहरुको लागि सिंचाइ विद्युत् महसुल तिरिदिएको छ । यस वडाले सडकबत्ती मर्मतलगायतको काम पनि गरिरहेको छ ।

गौरीगन्ज गाउँपालिकाको वडा नं. ३ मा श्रवण गिरी वडा अध्यक्ष हुनुहुन्छ । उहाँको अगुवाइमा यस वडाले विपन्न तथा गरिब परिवारलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको छ । यस वडामा वृक्षरोपण कार्यक्रम सञ्चालन गरिएको छ । यस वडाले मृतक परिवारलाई समवेदनापत्र एवं ‘दुःखको साथी ः भरोसा गरौं गा.पा.माथि’ उद्घोषसहित १० हजार रुपियाँ घरमै पुगेर दिने गरिआएको छ । यस वडाले आली घटाउ उत्पादन बढाउ कार्यक्रम सञ्चालन गरेको छ । साथै, यस वडाले सिलाइ कटाइ तथा उद्घोषण एवं माइन्युट लेखन तालिम सञ्चालन गरेको छ । यस वडाले ज्येष्ठ नागरिकलाई धार्मिक पर्यटनमा लैजाने गरेको छ । यसै गरी, यस वडाले प्रा.वि. तहका विद्यार्थीलाई ट्रयाक सुट र ब्याग वितरण गरेको छ ।

फेकाप्रसाद गिरी यस पालिकाको वडा नं. ४ को वडा अध्यक्ष हुनुहुन्छ । उहाँको नेतृत्वमा यस वडाले मृतक व्यक्तिका परिवारलाई क्रिया खर्च उपलब्ध गराइआएको छ । यसै गरी, यस वडाले सुत्केरी महिलालाई स्वास्थ्य संस्थामा सुत्केरी गराउन प्रोत्साहित गरिरहेको छ । यसबापत ३५ दिनभित्र जन्मदर्ता गराउनेलाई सुत्केरी स्याहार खर्च प्रदान गरिएको छ । यस वडाले हरपिक बनाउने, फिनेल, साबुन बनाउने तालिम दिएको छ । साथै, सिंचाइका लागि डिप बोरिङ, मोटर स्प्रे ट्यांकी वितरण गरेको छ ।

यस पालिकामा विजयसिंह गन्गाई वडा नं. ५ को वडा अध्यक्ष हुनुहुन्छ । उहाँको नेतृत्वमा यस वडामा विपन्न घर–परिवारलाई स्वास्थ्य बिमा कार्यक्रम लागू गरिएको छ । साथै, किसानलाई निःशुल्क विद्युत् लाइन वितरण गरिएको छ । सिंचाइका लागि यस वडाबाट किसानलाई बोरिङ वितरण गरिएको छ ।
गौरीगन्ज गाउँपालिकाको वडा नं. ६ को वडा अध्यक्षमा बद्रीनारायण यादव हुनुहुन्छ । यस वडाले उहाँको नेतृत्वमा सबै वर्गका अपांगलाई झुल वितरण गरेको छ । साथै, विपन्न समुदायका व्यक्तिलाई खानेपानीका लागि ट्युबवेल वितरण गरिएको छ । कृषिमा प्रोत्साहनका लागि स्यालो ट्युबवेलको व्यवस्था गरिएको छ । यस वडाले सामुदायिक विद्यालयबाट एसईई दिएर बसेका विद्यार्थीलाई बेसिक कम्प्युटर तालिम दिएको छ । साथै, मदरसामा अध्ययन गर्ने विद्यार्थीलाई ब्याग वितरण गरेको छ । यस वडाले कृषि प्रोत्साहनका लागि सिंचाइ मोटर, स्प्रे ट्यांकी वितरण गरेको छ । यस अतिरिक्त, महिलाहरुको क्षमता अभिवृद्धि तालिमबाट सामाजिक रुपान्तरण गरेको छ ।

यसरी सीमित साधन–स्रोतका बाबजुद गौरीगन्ज गाउँपालिकाले गरेका उदाहरणीय एवं अनुशरणयोग्य कामहरु अन्य पालिकालाई सन्दर्भ सामग्री हुने देखिन्छ । भविष्यमा यस पालिकाले जनप्रतिनिधि र कर्मचारीबीच नङ र मासुको सम्बन्ध कायम गर्नुका साथै राजनीतिक दलहरुबीच उच्च समझदारी कायम गरी विकास निर्माण र सामाजिक रुपान्तरणको कामलाई तीव्रता दिनुपर्छ । यस सत् कार्यमा पालिकालाई सफलता हासिल होस् भनी शुभकामना छ ।