किम्फमा दुविधा र नेपाली फिक्सनले मारे बाजी



काठमाडौं

राजधानीमा जारी २१औँ काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)आइतबार सम्पन्न भएको छ। गत १६ गतेदेखि चलेको फेस्टिभलमा नेपाल पानारोमामा प्रद्युम्न मिश्रको दुविधा र देवेन्द्र खत्रीको नेपाली फिक्सन विजयी भएका छन् भने प्रभात गुरुङको द मोंक एन्ड द रेबेल र समलकुमार बज्राचार्यको हावाम्यानलाई स्पेसल मेन्सन्स अवार्ड प्रदान गरिएको छ।

त्यसैगरी वृत्तचित्रतर्फ शान्ता नेपालीको धेय ड्रिम्स विजयी भएको छ भने अनुशा थुलुङ राईको रोङफामु र समग्र शाहको वाग्गिङ टेललाई स्पेसल मेन्सन्स अवार्ड दिइएको छ।

अन्तर्राष्ट्रिय सर्ट फिक्सनतर्फ एड्जस्टेमन्टले बाजी मारेको छ भने नथिङ ग्रोज अन्डर द पाइन ट्री र स्प्लिट इन्ड्सले स्पेसल मेन्सन्सको अवार्ड पाएको फेस्टिभलमा अ चाइल्डलेस भिल्लेजले अन्तराष्ट्रिय फिचर फिक्सनको अवार्ड पाएको छ, अन्तर्राष्ट्रिय लघु वृत्तचित्रतर्फ क्लाइम्बिङ फर गोल्ड विजेता, इटर्नल फ्लेम र फरवार्ड स्पेसल मेन्सन्स, फिचर वृत्तचित्रतर्फ रिओ रोजो विजेता, इन टु द हार्ट अफ माउन्टेन, यम्नुस्काः द र्‍याग्ड एज, क्विनडम र अगेन्स्ट द टाइड स्पेसल मेन्सन्स तथा म अलप हुन चाहन्छु अडियन्स च्वाइस् अवार्डको हकदार भए।

फेस्टिभलमा अन्तर्राष्ट्रिय विधामा सर्वोत्कृष्टता हासिल गर्ने वृत्तचित्रलाई एक हजार पाँच सय अमेरिकी डलर, लघु वृत्तचित्रलाई एक हजार डलर, उत्कृष्ट फिचर कथानकलाई एक हजार पाँच सय डलर र उत्कृष्ट लघु कथानकलाई एक हजार डलर पुरस्कार प्रदान गरिएको छ। त्यसैगरी नेपाल पानोरमाअन्तर्गत सर्वोत्कृष्ट वृत्तचित्र, उत्कृष्ट कथानक फिल्म र अडियन्स च्वाइस् अवार्ड विजेतालाई एक लाख रुपैयाँ प्रदान गरिएको छ।

इटालियन निर्देशक ब्रान्डो क्विलिचीको द टाइगर्स नेस्टको प्रदर्शनबाट आरम्भ गरिएको महोत्सव टासी ल्हाम्जोमद्वारा निर्देशित नो मोनास्ट्री नो भिलेजस“गै सकिएको थियो। प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा सञ्चालित महोत्सवमा २२ देशका ६० भन्दा बढी फिल्म तथा वृत्तचित्र प्रदर्शन गरिएका थिए। फेस्टिभलमा वृत्तचित्र, आख्यान (कथानक), लघु तथा प्रयोगात्मक फिल्म प्रदर्शन गरिएको थियो।

त्यस अवसरमा समकालीन नेपाल, एसिया र विश्वभरकै हिमाली जनजीवन, जलवायु परिवर्तन, लैंगिकतालगायत विविधताले भरिएका फिल्म तथा वृत्तचित्र देखाइएको थियो। फेस्टिभलमा फिल्म प्रदर्शनबाहेक अन्तरक्रियात्मक छलफल, पुस्तक, फोटो प्रदर्शनी, प्रतिस्थापन कला प्रदर्शनजस्ता कार्यक्रम पनि प्रस्तुत गरिएको थियो। फेस्टिभलअन्तर्गत नै स्टोरी टेलर्ससँगको सहकार्यमा माउन्टेन्स म्याटर : अ कल फ्रम द हिमालयज शीर्षकको प्रस्तुति, अमेरिकी दूतावासको सार्वजनिक मामिला विभागस“गको सहकार्यमा वुमेन बिहाइन्ड द क्यामेरा शीर्षकको प्यानल छलफल गरिएको थियो।

नेपालसँगै भुटान, दक्षिण कोरिया, भारतलगायत देशका फिल्मकर्मी सहभागी फेस्टिभलमा नेपालबाट मानवशास्त्री सुरेश ढकाल, स्वीट्जरल्यान्डबाट फिल्म सम्पादक रेजिना बर्तस्की र बेलायतबाट निर्माता, निर्देशक डिना मुफ्ती निर्णायक रहेका थिए।

प्रतिक्रिया दिनुहोस्