गिरीबन्धुको कर्तुत लुकाउन केपी ओलीले अर्को काण्ड गरेर जनता झुक्याउन खोजे : बालेन



काठमाडौं ।

काठमाडौं महानगरका मेयर बालेन शाहले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु टी-स्टेट जग्गा प्रकरणलाई विषयान्तर गरेको आरोप लगाएका छन्।

सोमबार बिहान सामाजिक सञ्जालमार्फत उनले गिरिबन्धु टी–इस्टेटको जग्गा सट्टापट्टाको विषय ओझेल पार्न महानगरले न्युरोड क्षेत्रमा गर्न लागेको फुटपाथ विस्तार कार्यमा अवरोध गरिएको बताएका हुन्। उनले न्युरोडमा महानगरले बनाउन लागेको फुटपाथमा फेरि सडक निर्माण थालिएको भन्दै आपत्ति जनाए।

ओलीले गिरिबन्धुको बैना लिनेहरूलाई दुई वर्षभित्र जग्गा दिलाउँछौँ भनेर थमथमाएको पनि बालेनले दाबी गरेका छन्। उनले समयमै गिरिबन्धु पीडितको बैना फिर्ता गर्न पनि आग्रह गरेका छन् । उनले कोहि नयाँ आएर फाइल पल्टाउला र जेल जानु पर्ला भन्दै १० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउन आग्रह गरे।

उनले भनेका छन्:

१० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपि ओलीज्यू । झापा गिरिबन्धुमा बैना लिनेहरूलाई “दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं भनेर थम्थमाउनु भएछ। गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन । यहि १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पुर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ। अब बल्ल देश बन्ने भएछ। आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला। हामी साथमा छौँ । अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्