टी-२० विश्वकप: सुपर ओभरमा ओमान नामिबियासँग पराजित

756
Shares

काठमाडौं ।

आईसीसी टी-२० विश्वकपमा नामिबियाले विजयी सुरुवात गरेको छ। सोमबार बिहान सम्पन्न खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा पराजित गरेको हो। ओमानले दिएको ११० रनको सामान्य लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ६ विकेट गुमाउँदै १०९ रन बनाएर बराबरी गरेपछि खेलको निर्णय सुपर ओभरबाट गरिएको थियो।

सुपर ओभरमा नामिबियाले २२ रनको लक्ष्य दिएको थियो भने ओमानले एक विकेट गुमाएर १० रन बनाएको थियो।  यस अघि टस हारेर पहिला ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा अल आउट हुँदै १०९ रन बनाएको थियो। ओमानका लागि खालिद कैलले सर्वाधिक ३४ रन बनाएका थिए भने जिशान मक्सूदले २२ तथा आयान खानले १५ रन बनाएका थिए।

त्यस्तै नामिबियाका बलर रुबेन ट्रम्पेलम्यानले ४ विकेट लिए भने डेभिड वाइजले ३ विकेट लिए। १ सय १० रनको लक्ष्य पाएको नामिबियाले १ सय ९ रन मात्र जाेड्न सक्यो । उसका लागि जान फ्राइलिंकले सर्वाधिक ४५ रन बनाएका थिए भने निकोलस डाभीनले २४ रन बनाएका थिए।

यो जितपछि समूह बी मा रहेको नामिबियाले महत्त्वपूर्ण २ अङ्क हासिल गरेको छ। अब नामिबियाले अर्को खेल जुन ७ मा स्कटल्यान्डसँग खेल्ने छ भने ओमानले जुन ६ मा अस्ट्रेलियाविरुद्ध खेल्ने तालिका रहेको छ।