पूर्वाग्रही मानसिकताले लोकतन्त्रलाई नै कमजोर बनाउँछ

112
Shares

स्वतन्त्र, निष्पक्ष एवं मर्यादित पत्रकारिताले स्वस्थ जनमतको निर्माण गर्ने गर्दछ। लोकतन्त्र र संसदीय व्यवस्थाको संस्थागत विकासका लागि सञ्चारमाध्यमको स्वतन्त्रता कायम रहनुपर्छ । शाही शासनकालमा जति बेला देशका अधिकांश राजनीतिक दलका नेताहरु चुप लागेर बसेका थिए, आम जनता पनि राजनीतिक दलको समर्थनमा घरबाट बाहिर निस्कन चाहिरहेका थिएनन्। त्यति बेला पनि देशका सञ्चारमाध्यमहरुले नै शाही शासनसित मुकाबिला गरी लोकतन्त्रको पक्षमा जनमत निर्माण गरिरहेका थिए।

विगत १८ वर्षदेखि यदि देशमा लोकतान्त्रिक शासन प्रणाली छ, देशमा गणतन्त्र र संघात्मक शासन प्रणाली छ भने त्यसमा पनि देशका सञ्चारमाध्यमहरुको भूमिका अग्रणी र महत्वपूर्ण छ । कान्तिपुर सञ्चारमाध्यमका प्रमुखको आकस्मिक गिरफ्तारीले सञ्चार जगत्को मनोबल गिराएको छ, पत्रकारहरुलाई सरकारमुखी बन्न बाध्य पारेको अवस्था छ । यसले अन्ततः लोकतन्त्रलाई नै कमजोर बनाएको छ । अरुसित संविधान र कानुनको सम्मान हुने अपेक्षा गरेको सरकारले आफ्नो सरकारका मन्त्रीविरुद्ध समाचार लेखेकै भरमा तिनलाई पक्राउ गर्नु दुर्भाग्यपूर्ण हो । फरक मितिमा दुईवटा नागरिकता लिनु अथवा प्रतिलिपिमा फरक नम्बर भेटिनु कर्मचारीको गल्ती हो नागरिकता लिनेको होइन ? नागरिकताको प्रतिलिपि लिने व्यक्तिमाथि कारबाही गर्ने पर्याप्त समय रहन्छ, आकस्मिक छापा मारेर गिरफ्तार गर्नुृको औचित्य थिएन । पत्र पठाएर सोधपुछको निम्ति बोलाउन पनि सकिन्थ्यो, पक्राउ नै गर्नु आवश्यक थिएन । यसमा पूर्वाग्रह अवश्य नै देखिएको छ । यो पूर्वाग्रह अवश्य नै सहकारी प्रकणको समाचारलाई निरन्तररुपमा प्रकाशित गरेको कारणले हो । लोकतन्त्रमा समाचार लेखेकै भरमा कसैलाई कठोर कारबाहीका पात्र बनाइनु उचित होइन । संसद् सचिवालयका महासचिवको नागरिकतामा ५–६ वर्षको मितिको अन्तर देखिएको चर्चा व्याप्त छ, कारबाही त त्यहाँ पनि हुनुपर्दथ्यो तर त्यस्तो भएन ।

वित्तीय सहकारी संस्थाबाट भएको ऋण प्रवाहमा गृहमन्त्रीको नाम आउनुलाई कान्तिपुरले निरन्तररुपमा समाचार बनाउँदै आएको थियो। पछि नेपाली कांग्रेसले यस विषयलाई संसद्मा आफ्नो हतियारको रुपमा उठाउने काम गर्‍यो र सरकार बाध्य भएर संसदीय समितिको गठन गर्नुपर्‍यो। तत्पश्चात् यो गिरफ्तारी भएको थियो। तसर्थ यस गिरफ्तारीलाई सरकारको पूर्वाग्राही कदम मानिएको छ। गृहमन्त्री रवि लामिछानेलाई नेपालको वैकल्पिक राजनीतिको प्रमुख अनुहार मानिन्थ्यो । तर यस कदमले उनलाई थप कमजोर नै बनाउनेछ, बलियो होइन ?

शासन सत्ताको अहंकारमा केही समयको निम्ति मानिसलाई भ्रममा पार्न सकिन्छ, तिनीहरुमाथि दबाब पनि गर्न सकिन्छ। केही समयको निम्ति तिनको आवाजलाई चुप पनि गराउन सकिन्छ, कलमको गतिलाई पनि रोक्न सकिन्छ, तर यथार्थतालाई भने बदल्न सकिँदैन।

ईश्वरको नियतिलाई टार्न सकिँदैन। राजा ज्ञानेन्द्रले शाही शासनमा आफ्ना सुरक्षाकर्मीहरुलाई अराएर देशका समाचारपत्रहरुको सम्पादकीय र समाचारहरुमाथि पनि सेन्सर गर्न लगाएका थिए तर पत्रिकाहरु चलिरहेकै छन्, राजतन्त्र सकिएको छ। आज उनलाई पनि पत्रकारको सहयोग, समर्थन र सद्भाव चाहिएको छ तर उनले आफ्नो विश्वास गुमाइसकेका छन् । लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिक हकका पक्षपाती कसैको पनि तानाशाही तथा मनपरिलाई स्वीकार गर्न सक्दैन ।

महान् वैज्ञानिक ग्यालिलियोले जति बेला यो भनेका थिए कि पृथ्वीले सूर्यको परिक्रमा गर्दछ । त्यसपछि इसाई जगत्मा हाहाकार मच्चिएको थियो । धर्मका ठेकेदारहरुले उनीमाथि यो भन्दै दबाब दिए कि या त तिमी आफ्नो कथनलाई असत्य घोषित गर अथवा सजाय स्वीकार गर्न तयार हुनुपर्छ । ग्यालिलियोले आफ्नो ज्यानलाई बढी महत्व दिए तथा लेखेर दिए कि यो झुटा कुरा हो कि पृथ्वीले सूर्यको परिक्रमा गर्दछ । जति बेला उनका मित्रहरुले यो प्रश्न सोधे कि आखिर वैज्ञानिक तरिकाबाट प्रमाणित सत्यबाट तिमी किन टाढिइरहेका छौ ? अनि ग्यालिलियोले जबाब दिए– ‘यदि आफ्नो भनाइलाई फिर्ता लिइन भने यिनीहरुले मेरो ज्यान पनि लिन सक्छन् । तर म अन्तरात्माको गहिराइबाट यो कुरा राम्ररी जान्दछु कि मैले यति भन्दैमा पृथ्वीले सूर्यको परिक्रमा नगर्ने होइन, सूर्यले नै पृथ्वीको परिक्रमा गर्दछ भनेर परिणत हुने होइन । पृथ्वी र सूर्य आफ्नो स्वाभाविक चरित्र एवं प्रकृतिमा परिवर्तन ल्याउने छैन । पृथ्वी र सूर्य आफ्नो परिक्रमा पथलाई परिवर्तन गर्ने छैनन् । सूर्य र पृथ्वी त वैज्ञानिक तथ्यकै आधारमा कार्य गर्नेछन् । मेरो हस्ताक्षर मात्रले उनको गतिमा परिवर्तन आउनेवाला छैन ।’

ग्यालिलियोले तत्कालीन धर्म र सत्ताका ठेकेदारहरुलाई आश्वस्त त गरिदिए तर पृथ्वी र सूर्य आफ्नै गतिमा परिक्रमा गरिरहे अथवा आफ्नै अवस्थामा रहे । राजा ज्ञानेन्द्रले पनि मिडियाको चरित्रमा परिवर्तन ल्याउन खोजेका थिए तर आफैँ सकिए । यथार्थलाई परिवर्तन गर्न सकिँदैन, ईश्वरले सबै कुरा हेरिरहेका हुन्छन् । पत्रकार पृष्ठभूमिका व्यक्ति राजनीतिमा आएपछि तिनले प्रेस स्वतन्त्रताको पक्षमा, लोकतन्त्रको पक्षमा, पत्रकारहरुको वृत्ति विकासका हकमा केही ठोस एवं प्रभावकारी निर्णय लिने अपेक्षा गरिन्छ । आफ्नो हातमा कलम, क्यामरा र माइक रहुन्जेलसम्म लोकतन्त्र, अधिकार, निष्पक्षता तथा स्वतन्त्रताको वकालत गर्ने तर पदमा तथा निर्णायक स्थानमा पुगिसकेपछि आफ्नै अतीतलाई बिर्सिदिने काम गर्नु उचित हुँदैन ।

गृहमन्त्री सञ्चारमाध्यमप्रति पूर्वाग्राही रहेको संकेत त केही महिनाअघि नै प्रस्ट भएको थियो । जति बेला गृह मन्त्रालयले अनलाइन सञ्चार पोर्टल, छापा माध्यमलाई समेत नियन्त्रण गर्ने गरी सूचना जारी गर्दै जनताको अधिकार कुण्ठित गर्न खोजेको थियो । यसको चारैतिर विरोध भएपछि सरकारले आफ्नो पाइलालाई तत्काल पछाडि हराएको थियो । गृहमन्त्री लामिछानेको आर्थिक कारोबार केही वित्तीय सहकारी संस्थाबाट भएको सम्बन्धी समाचारलाई कान्तिपुरले नियमितरुपमा प्रकाशित गरेको थियो । कान्तिपुरले पनि एक किसिमले एउटा व्यक्तिलाई लक्षित गरेर नै समाचारहरु प्रकाशित गर्दै आएको थियो । यद्यपि विदेशमा यसलाई खोजी पत्रकारिताको रुपमा परिभाषित गरी प्रशंसाको कार्य नै मान्ने गरिन्छ तर हाम्रो देश र समाजमा यस्ता समाचारलाई पचाउन जो–कोहीलाई पनि असहज हुँदै आएको छ । नेपालमा पूर्वाग्राही बढी नै हुने गर्दछ ।

केही वर्षअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र गोकुल बास्कोटा सञ्चारमन्त्री भएका बेला पनि मिडियालाई सेन्सर गर्ने खालको विधेयक ल्याउने तयारी भएको थियो तर चर्को विरोधका कारण त्यो सम्भव भएन । प्रस्तावित अध्यादेशलाई ओली सरकारले फिर्ता लिनुपरेको थियो। छापा र न्युज पोर्टलमा प्रकाशित समाचारमाथि प्रहरीले निगरानी गर्ने तथा राज्य संयन्त्रप्रति आलोचना गर्ने नागरिकलाई सूक्ष्म निगरानीमा राख्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन पठाउने काम वर्तमान सरकारकै गृह मन्त्रालयबाट केही महिनाअघि भएको थियो। यससम्बन्धमा प्रायः सबजसो सञ्चारमाध्यमहरुबाट समाचार प्रकाशित एवं प्रसारित भएका थिए । प्रेस स्वतन्त्रता र लोकतन्त्रलाई बलियो बनाउने दिशामा काम हुनुपर्छ । नेपालको अस्थिरतामा आजको सत्ताधारी भोलि प्रतिपक्षमा बस्ने अवस्था पनि आउन सक्छ र आजको प्रतिपक्षी भोलिको सत्ताधारी पनि हुन सक्छ । तर मूल कुरा यस्तो प्रणाली विकसित गर्नु हो, जसले सबैको नागरिक हक र स्वतन्त्रताको रक्षा गर्न सकोस् । दोषीले कसुरअनुसारको सजाय पाउनुपर्छ तर पूर्वाग्राही भएर तथा आक्रोशमा कसैलाई अपमानित गर्नु उचित होइन ।