न्युरोड सडक लफडा : क्षतिपूर्ति तिराउने तयारीमा सडक डिभिजन

सडक डिभिजनलाई नै कारबाही गर्ने मेयरको तयारी



काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सडक डिभिजन कार्यालयको सहमतिबेगर न्युरोड सडकको सिमाना घटाएर फुटपाथ बिस्तार गर्न लागेपछि सडक विभागले आजबाट थप एक्सन लिने भएको छ। क्षेत्रअधिकार बाहिर गएर सडक खन्न थालेपछि आक्रोशित डिभिजन सडक कार्यालय काठमाडौंले तीन दिनअघि यही १६ गते जवाफ दिन पत्राचार गरेको थियो।

आज चार दिन पुगेको छ। कामपाले आज आइतबार सडक भत्काएको विषयमा जवाफ दिनुपर्नेछ। जवाफ नदिएमा डिभिजन सडक कार्यालयले थप कारबाही गर्ने प्रक्रिया अघि बढाउने छ। डिभिजन कार्यालय प्रमुख नारायणदत्त भण्डारीले कार्यालयले काटेको पत्रको आज जवाफ आउनुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो– ‘हामीले १६ गते पत्र काटेका थियौं, हिजो ३ दिन पुगेको छ, हिजो शनिबार परेकाले आज आइतबारभित्र डिभिजन कार्यालयको पत्रको जवाफ दिनुपर्नेछ ।’ कामपाका प्रवक्ता नवीन मानन्धरले भन्नुभयो– ‘पत्रको जवाफ पठाउने कि नपठाउने भन्ने विषयमा भोलि नै जानकारी हुनेछ। आज बिदाको दिन हो, यसबारे मलाई कुनै जानकारी हुँदैन। के–के भयो भोलि जानकारी दिऔंला ।’

जवाफ नदिए के कारबाही गर्ने भन्ने विषयमा अन्योल छ। पत्रमा न्युरोडस्थित जुद्ध शालिक–इन्द्रचोक सडकलाई पहिलेकै अवस्थामा फर्काउन आग्रह गरेको थियो। पत्रमा उक्त सडक २ दिनभित्र पुनर्निर्माण गर्न निर्देशन दिएको थियो। तर कामपाले बेवास्ता गरेको छ । डिभिजनले दुई दिनभित्र पुनर्निर्माण गर्न निर्देशन दिएकोमा आज ४ दिनपुग्दा पुनर्निर्माण भएको छैन।

डिभिजन कार्यालयले तोकेको अवधिभित्र सडक नबनाए सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ। मेयर साहले न्युरोडको सडक विस्तारको काममा डिभिजन कार्यालयले पठाएको पत्र गैरकानुनी भएको उल्लेख गर्दै कारबाही प्रक्रियामा जाने बताउनुभएको थियो। कामपाले आफ्नो अधिकार क्षेत्रभित्र नपरेको सडकलाई जबरजस्ती महानगरको हो भन्दै भत्काउन शुरू गरेको थियो ।

डिभिजन सडक कार्यालयको पत्रको जवाफ पठाउन छाडेर कारबाही गर्ने बताएका मेयर साहले सरकारले काम गर्न नदिएको आरोप लगाउनुभएको छ। शुक्रबार सम्पन्न ३२औँ नगर कार्यपालिकाको बैठकमा वडा नं. २२ का अध्यक्ष चीनकाजी महर्जनसँग भएको सवालजवाफमा मेयर साहले भत्काएको सडक पुनर्निर्माण होइन डिभिजन सडक कार्यालयमाथि नै कारबाही गर्ने बताउनुभएको थियो। मेयर साहले जुद्ध सालिकदेखि इन्द्रचोकसम्मको सडक सडक डिभिजन कार्यालयको कार्यक्षेत्रभित्र नपर्ने बताउनुभएको थियो।

वडाअध्यक्ष महर्जनप्रति आक्रोश पोख्दै मेयर साहले वडाअध्यक्षलाई सडकको मापडण्डबारेमा जानकारी नभएकोसम्मको आरोप लगाउनुभएको थियो। आफ्नो एकोहोरोपन दोहो¥याउँदै भन्नुभएको थियो– ‘पहिलो कुरा सो सडक डिभिजन सडक कार्यालयको अधिकार क्षेत्रमैै पर्दैन। सडक विभागले बनाएको हो र ? उसले किन पत्र काट्दै छ उसलाई थाहा होला । यहाँ बसेर सहमति गरिसकेपछि पत्र काट्छ भने हाम्रो जिम्मेवारी हो र ?’

सवाल जवाफमा वडाअध्यक्ष महर्जनले मेयर साहलाई प्रतिप्रश्न गर्नुभयो–‘वडाअध्यक्षसँग सल्लाह नगरी स्थानीय जनताको मतबिना मनपरी गर्न मिल्छ ?’
डिभिजन सडक कार्यालय प्रमुख भण्डारीले आजसम्म पत्रको जवाफ नआए सडक ऐन २०३१ को दफा १९ अनुसार कारबाही गर्न सिफारिस गर्ने बताउनुभयो।

उहाँले भन्नुभयो– ‘कारबाही गर्न सिफारिस लेखेर पठाउँछौ, बिगारेको सडक तत्काल पुनःनिर्माण गर्न आग्रह गर्छौं। सडक पुननिर्माण नगरे क्षतिपूर्ति तिराएर पुनर्निर्माण गर्नेछौं।’ कार्यपालिका बैठकको शुरूमै मेयर शाह र वडाध्यक्ष महर्जनबीच झन्डै १५ मिनेटसम्म भनाभन चलेको थियो।

प्रतिक्रिया दिनुहोस्