भ्रष्टाचारमा डुबेका विकलको यौन अत्याचार

टंगाल १ को रोदन : विवाह गर्छु भन्दै लुटिरहे, बर्बाद पारिरहे…!



काठमाडौं ।

विभिन्न भ्रष्टाचार प्रकरणमा चारवटा मुद्दा खेपेका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलले एक युवतीमाथि समेत यौन अत्याचार गरेको पाइएको छ। भ्रष्टाचार गरेको ठहर भएपछि पौडेल विशेष अदालतको आदेशअनुसार अहिले जेलमा छन्।

भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकललाई पक्राउ गरेपछि विकलबाट यौन अत्याचारको शिकार भएकी एक युवती अख्तियारको सम्पर्कमा पुगेकी थिइन् । उनले विकलको विरुद्धमा हारगुहार गरे पनि कहीँकतैबाट न्याय नपाएको भन्दै अख्तियारले न्याय दिलाइदिने आशासहित अख्तियार आएको बताएकी थिइन् । अख्तियारले ती युवतीको पनि लिखित बयान लिएको थियो ।

सोही क्रममा ती युवतीले विकलबाट भोग्नुपरेका यौन ज्यादती र अत्याचारका विषयहरू समेटेर अख्तियारलाई लिखित बयान दिएकी छन् । त्यसपछि अख्तियारले ती युवतीको विषयलाई टंगाल १ को रूपमा कारबाही अघि बढाउँदै विकललाई विशेष अदालतमा भ्रष्टाचारको आरोपमा मुद्दा दर्ता गर्दा पीडित युवतीको लिखित बयानसमेत सँगै पेस गरेको छ । यौन अत्याचारको शिकार भएकी टंगाल १ लाई न्याय दिलाई विकलमाथि थप कानुनी कारबाही गराउने उद्देश्यले अख्तियारले सो प्रकरणलाई पनि मुद्दामा समावेश गरी विशेष अदालत पठाएको बताइएको छ ।

अदालतमा विकलविरुद्ध पेस भएको भ्रष्टाचार मुद्दामा संलग्न टंगाल १ को लिखित बयान अध्ययन गर्दा विकलले ती युवतीलाई विवाहको प्रलोभन देखाउँदै पटकपटक यौनशोषण गरेको र दुई पटकसम्म गर्भपतन गराएको उल्लेख छ । विकलले टंगाल १ लाई विवाहकै लागि भन्दै माल्दिभ्स र सिंगापुरसमेत पु¥याएका थिए । त्यहाँ राखेर कैयौं दिन उनलाई लुटेपछि विवाह पछि गरौँला भन्दै नेपाल फर्र्काएका थिए । पीडित युवतीले कैयौंपटक विकलविरुद्ध प्रहरीमा उजुरी लिएर गए पनि सो उजुरी दर्ता गर्न प्रहरीले अस्वीकार गर्ने गरेको र अब न्याय पाउन नसक्ने भन्दै डिप्रेसनको शिकारसमेत हुनुपरेको बताएकी छिन् । जतिखेर युवती विकलको यौन अत्याचारको शिकार भइरहेकी थिइन् त्यति बेला विकल शक्ति र सत्ताको पहुँचका कारण निकै शक्तिशाली थिए । उच्च राजनीतिक नेतृत्व, प्रहरी प्रशासन तथा राज्यका अधिकांश निकायहरूमा उनकै हैकम चल्थ्यो ।

पीडित टंगाल १ का अनुसार विकलसँग उनको पहिलो भेट सन् २०१७ साल जुन महिनामा भयो, त्यतिबेला उनी भर्खरै स्नातक तहमा भर्ना भएकी थिइन् । भर्भराउँदो जवानीका बीच अध्ययनलाई अघि बढाउँदै गर्दा कुनै सन्दर्भमा विकलसँग पहिलोपटक भेट भएर परिचय हुनासाथ विकलले लागातार फोन गर्न थाले । विकलले आफू ३० वर्षे योग्य व्यक्ति भएको, अविवाहित रहेकाले जीवन साथीको खोजीमा रहेको र तिमीलाई देखेपछि त्यही रोकिएको भन्दै ती युवतीसमक्ष विवाह प्रस्ताव गरे । जबकि विकलले विवाह गरिसकेका थिए र उनकी श्रीमती अमेरिका बस्दै आइरहेकी थिइन् । सन् २०१७ देखि २०२१ सम्ममा विकलले ती युवतीलाई विभिन्न प्रलोभनमा पारेर यौनशोषण गर्दै आइरहेको युवतीको बयानमा उल्लेख छ । पीडित युवतीमाथि विकलले गरेको यौन अत्याचारको विषयलाई उजागर गर्दै घटना र विचार साप्ताहिकले १ असार २०७९ को अंकमा युवतीकै बयानका आधारमा ‘विशिष्ट स्तरका सरकारी अधिकारीमाथि गम्भीर यौन उत्पीडनको आरोप’ शीर्षकमा समाचारसमेत प्रकाशन गरेको थियो ।

अख्तियारमा टंगाल १ को नामबाट दिइएको लिखित बयानमा समेत युवतीले यिनै विषयलाई उठान गरेको स्रोतले जानकारी दियो। विकलले विवाहको प्रस्ताव राखेलगत्तै युवतीले त्यसको जानकारी आफ्नो घरमा बुबाआमालाई गराएकी थिइन्। त्यसपछि उनका बुबाआमाले समेत सहमति जनाएर ‘इन्गेजमेन्ट’को प्रस्ताव गरेका थिए। तर, विकलले हुन्छ अब अर्को महिनामा गरौंला, अहिले अफिसको काममा अलि व्यस्त हुनुपर्‍यो, भइहाल्छ नि भन्दै समय सार्दै लगेका थिए। ‘कहिले के त, कहिले के बहाना बनाएर समय सार्दै उनले चार वर्ष बिताइदिए, त्यस अवधिमा उनका अनुचित प्रयासलाई छल्ने प्रयत्न मबाट हँुदै थियो तर एक दिन घरमा कोही पनि नभएको मौका छोपेर उनले मलाई जबरजस्ती गरे, म पहिलोपटक लुटिएँ, त्यस घटनाबाट म खुब दुःखी भएँ र रोएँ’, टंगाल १ ले रोदन पोख्दै अगाडि भनेकी छिन्– ‘उनले मलाई लुटेपछि अब तुरुन्तै विवाह गर्ने हो भनेर सम्झाइबुझाई गरे, अब चाहिँ अवश्य विवाह गर्लान् भन्ने विश्वास गरेँ, आफैंलाई सम्झाएँ र चित्त बुझाएँ ।’

पीडित टंगाल १ ले अख्तियारमा दिएको लिखित बयानअनुसार विवाह गर्ने भन्दै उनले माल्दिभ्स लगे । ‘माल्दिभ्समा केही समय बसेपछि म आफू गर्भवती भएको थाहा पाएँ, त्यसपछि अब धेरै कुर्न नसक्ने र विवाह गर्नैपर्छ भनेर दबाब दिन थालेँ। उनले मलाई तत्काल एभोर्सन गर्न भने, तर म तयार भइनँ, त्यसपछि मलाई कुटपिट गरे’ –टंगाल १ ले आफ्नो पीडा पोख्दै भनेकी छिन् । ‘माल्दिभ्समा उनले हप्कीदप्की गर्दै जसरी पनि ‘एभोर्सन’ गराउनैपर्छ भने, मैले ज्यानको असुरक्षा महसुस गरेँ र एभोर्सन गर्ने तर आफ्नै देशमा गएर गर्ने भन्दै सहमति जनाएँ’ –उनले बयानमा भनेकी छिन्।

त्यसपछि उनीहरू नेपाल आए, नेपाल आएपछि विकलले मायाको अभिनय गर्दै अब छिटैै विवाह गर्ने हो, एभोर्सन गराएर स्वस्थ्य भएपछि विवाह गर्ने हो भन्दै निरन्तर दबाब दिइरहे र अन्ततः बालाजुको विनायक अस्पतालमा लगेर एभोर्सन गराएका थिए। पीडित युवतीका अनुसार एभोर्सनको सम्पूर्ण चाँजोपाँजो नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेलले मिलाएका थिए। पौडेल पनि हाल अख्तियारबाट भ्रष्टाचार प्रकरणमा मुद्दा खेपिरहेका छन्। सुरक्षण मुद्रण केन्द्र र नेपाल टेलिकममा विकल र सुनीलको मिलेमतोमा करोडौंको भ्रष्टाचार भएको अख्तियारको ठहर छ।

पीडित टंगाल १ का अनुसार गर्भपतन गराएपछि केही समय विकलले उनलाई मण्डिखाटारस्थित आफ्नै घरमा लगेर राखेका थिए । उनले विवाह गरौंला भन्न छोडेका थिएनन् । यसो गर्दा गर्दा एक वर्ष बित्यो । एक वर्षपछि भने विकल टंगाल १ सँग तर्कदै हिँड्न थाले । विकल टाढिँदै जान थाले । ‘एक वर्ष गुज्रिएपछि एकाएक किन बद्लिएका रहेछन् भन्ने बल्ल पछि बुझेँ, बलात्कारसम्बन्धी मुद्दाको हदम्याद एक वर्षसम्म हुँदो रहेछ, त्यो विषय मलाई त्यति बेला थाहा थिएन, तर उनीहरूको योजना १ वर्षको समय गुजार्ने रहेछ’, पीडित युवतीले भनेकी छिन्– ‘त्यसपछिका दिनमा मात्रै म आफू लुटिएको थाहा पाउन थालेँ ।’

त्यसपछि पीडित युवती विकलका विरुद्ध प्रहरीकहाँ उजुरी लिएर गए पनि उजुरी दर्ता नभएपछि निराश भएकी थिइन्। उनमा डिप्रेसनको समस्या पनि देखिएको थियो । विकलको पहुँच माथिल्लो तहसम्मै रहेकाले अब आफूले न्याय पाउन नसक्ने भन्दै उनले हरेस खाएकी थिइन्।

यस्तैमा उनीमाथि यौन अत्याचार गर्ने विकललाई अख्तियारले पक्राउ गरी हिरासतमा लिएको खबर थाहा पाउनेबित्तिकै उनी अख्तियारको सम्पर्कमा पुगिन् र आफूलाई न्याय दिलाउने कार्यमा सहयोग गर्न अख्तियारका अधिकारीहरूसँग आग्रह गरिन्। अख्तियारका अनुसन्धान अधिकृतहरूका अनुसार विकलले अन्य सुखसयल र मोजमस्तीमा मात्रै १ करोड ३ लाखभन्दा बढी खर्च गरेको पाइएको छ। उनले मलेसिया, यूएई, सिंगापुर र माल्दिभ्सलाई मनोरञ्जनको थलो बनाउने गरेको पाइएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्