एमालेको राष्ट्रिय महिला भेला आजदेखि



काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आजदेखि ‘राष्ट्रिय महिला भेला’ को आयोजना गर्दै छ। सो पार्टीका स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले भेलाको तयारी पूरा भएको जानकारी दिएका छन्।

भेलाको उद्घाटन नेपालकी पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको छ। भेलामा पार्टीका २३ वटै जनसङ्गठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिला प्रतिनिधि गरी करिब पाँच हजार जनाको सहभागी हुने छन्।

एमालेले २०६३ साल जेठ १६ गते आमाका नामबाट नागरिकता, राज्यका सबै तहमा एक तिहाइ महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई संसद्को सङ्कल्प प्रस्तावका रूपमा पास गरेको स्मरणमा भेलाको आयोजना गरिएको जनाइएको छ । भेला जेठ १६ र १७ गते प्रज्ञा भवन कमलादीमा सञ्चालन हुनेछ ।

भेलामा सहभागीहरूले १२ समूह विभाजन भई छलफल गरी निष्कर्षसहित सरकारलाई सुझाव दिने एमालेका केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस्