नेपाल र इजरायली चेम्बर अफ कमर्सबीच आर्थिक विकासका लागि सहकार्य गर्ने सम्झौता



काठमाडौं ।

नेपाल र इजरायलका उद्यमी तथा व्यवसायीहरुबीच लगानीका साथै आर्थिक तथा व्यापारिक सहकार्यका लागि दोस्रो पटक समझदारी पत्रमा हस्ताक्षर भएको छ। नेपाल भ्रमणमा रहेको इजरायल एसिया चेम्बर अफ कमर्स र नेपाल चेम्बर अफ कर्मसबीच सोमबार आर्थिक तथा व्यापारिक सहकार्यको लागि सहमति भएको हो।

चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र इजरायल एसिया चेम्बर अफ कमर्सका अध्यक्ष अनात बर्सन्टेन रेचले हस्ताक्षर गरेको १० बुँदे सहकार्यको समझदारी पत्रमा व्यापारिक सूचना तथा अनुभव आदानप्रदान, व्यावसायिक प्रतिनिधीबीचको भ्रमण सहजीकरण, कृषि विकास प्रवर्द्धनलगायत १० विषयमा सहकार्य गर्ने उल्लेख छ ।

उक्त समझदारी पत्रमा आफ्ना सदस्यहरूको हित अनुकूल हुने गरी एक अर्कालाई व्यापार तथा लगानी सम्बन्धी कानुन र नियमहरूको जानकारी उपलब्ध गराउने पनि उल्लेख छ। यस्तै मैत्रीपूर्ण सम्बन्ध विस्तार एवं व्यापार सहजीकरणका लागि मध्यस्थता गर्ने सम्बन्धमा समेत सहकार्यको सहमति भएको छ।  कृषिको विकास र खाद्य सुरक्षालाई पनि महत्वका साथ समझदारी पत्रमा उठान गरिएको छ।

समझदारी पत्रमा भनिएको छ, ‘कृषिको विकास प्रवर्द्धन पारस्परिक हितलाई मान्यता दिएर खाद्य सुरक्षामा सहकार्य गरिनेछ।’ यस्तै नेपाल र इजरायल दुवै देशमा वैदेशिक व्यापार र औद्योगिक उत्पादन क्षेत्रमा भएका अध्ययन अनुसन्धानको आदानप्रदान गर्न दुवै देशका चेम्बरबीच सहमति भएको छ। यसअघि २०७७ सालमा कोरोना महामारीको बीचमा इजरायलका लागि तत्कालिन राजदूत डा. अन्जान शाक्यको समन्वयमा नेपाल इजरायल चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिज (एनआईसीसीआई) र इजरायल एसिया चेम्बर अफ कमर्स (आईएसीसी) बीच सहकार्यका लागि समझदारी भएको थियो।

एनआईसीसीका अध्यक्ष शिशिर भट्ट र आईएसीसीका अध्यक्ष अनातले हस्ताक्षर गरेको समझदारी पत्रमा लगानी, उद्योग, यातायात, पर्यटन,प्रविधिको हस्तान्तरणका साथै कृषि, ऊर्जा, शिक्षा र पूर्वाधारलगायतका विभिन्न क्षेत्रमा आर्थिक सहकार्यमा बृद्धि गर्ने उल्लेख थियो। यसअघि इजरायलका १८ जना महिला उद्यमी तथा व्यवसायीहरू सम्मिलित आईएसीसीको टोलीलाई नेपालका लागि इजरायली राजदूत खनान गोदेरले आफ्नो निवासमा स्वागत गरेका थिए।

तीन दिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आएको उक्त टोलीलाई राजदूत खनानले नेपाली मसला र नेपाली ह्यान्डिक्राफ्ट उपहार प्रदान गरेका थिए। कार्यक्रममा राजदूत गोदेरले इजरायल र नेपालका उद्यमी तथा व्यवसायीबीचको सहकार्यले दुई देशबीचको मैत्री सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे। कार्यक्रममा राष्ट्रियसभाका सदस्य एवं इजरायलका लागि नेपालका पूर्व राजदूत डा. अन्जान शाक्यले दुई देशका उद्यमी तथा व्यवसायीहरूको सहकार्य आगामी दिनमा अझै घनीभूत हुँदै जाने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्