गण्डकीका मुख्यमन्त्री अधिकारी पदमुक्त, पाण्डेलाई नियुक्ति गर्न परमादेश



काठमाडौं ।

सर्वोच्च अदालतले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त हुनेगरी फैसला गरेको छ । सर्वोच्चले संविधानअनुसार अब गण्डकी प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा सभामुख कृष्णप्रसाद धितालले ३० जनाको समर्थनमै मुख्यमन्त्री खगराजले विश्वासको मत पाएको घोषणा गरेका थिए। तर, संविधानअनुसार ३१ प्रदेशसभा सदस्यले समर्थन आवश्यक पर्थ्यो। सभामुखले संविधानविपरीत खगराजलाई विश्वासको मत दिलाउँदै मुख्य मन्त्री घोषणा गरेपछि कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे त्यसविरुद्ध सर्वोच्च अदालत गएका थिए।

सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र सुनील पोखरेलको इजलासले खगराजलाई पदमुक्त गर्दै ठूलो दलको हैसियतमा सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको सर्वोच्च प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्