स्थानीय सरकारको २ वर्ष

सेवा प्रवाहमा स्थानीय सरकार अब्बल



कृष्णहरि बाँस्कोटा

वि. सं. २०७२ मा जारी भएको वर्तमान नेपालको संविधानद्वारा मुलुक संघीयतामा रूपान्तरित भएको छ। जसअनुसार हाल मुलुकमा संघीय तह, प्रदेश तह र स्थानीय तह गरी ३ तहका सरकार क्रियाशील छन् । नेपालको संविधानको अनुसूची ५, ६, ७ र ९ अनुसार संघीय र प्रदेश सरकारका एकल र साझा अधिकारको सूचीका माध्यमद्वारा यी दुई तहका सरकारबाट आम जनतामा विभिन्न सार्वजनिक सेवाहरू प्रवाह भइरहेको छ।

यसै गरी, संविधानको अनुसूची ८ र ९ अनुसार स्थानीय सरकारका एकल र साझा अधिकार सूचीमा परेका विविध सार्वजनिक सेवाहरू स्थानीय सरकारबाट प्रवाह भइरहेको छ। यसरी विगत ७।८ वर्षको सेवा प्रवाहको अवस्थालाई विभिन्न कोण र पक्षबाट विश्लेषण एवं विवेचना गर्दा स्थानीय सरकारबाट प्रवाह भएका सेवाहरू संघीय सरकार र प्रदेश सरकारकाबाट प्रवाहित सेवाको तुलनामा अब्बल देखिएका छन् । यसको पुष्टि गर्ने ध्येयले स्थानीय सरकारका सेवा प्रवाहका मुख्य चारवटा क्षेत्रलाई समेटी यो आलेख तयार गरेको छु।

६७४३ वटा सेवा केन्द्र :

हाल नेपालमा संघीय सरकारका २२ वटा मन्त्रालय, ती मातहत करिब ५० वटा विभाग र मातहत कार्यालय रहेका छन् । यसै गरी, सात वटा प्रदेश सरकारका औषतमा ७।८ वटा मन्त्रालय र मातहत कार्यालय रहेका छन् । तर, नेपालमा स्थानीय सरकारका ६७४३ वटा वडा समितिहरू स्थापना भएका छन् । यिनै वडा कार्यालयहरूबाट आम जनतामा दर्जनौं किसिमका सिफारिस र प्रमाणीकरण, कर तिर्ने काम, जन्म एवं मृत्यु दर्तालगायत अभिलेख गर्ने काम भइरहेका छन् । वडा कार्यालयहरूले करिब ३ सय प्रकारका काम गर्ने र सोहीअनुसार सेवा प्रवाह गर्ने गरेका छन् । यसरी संख्यात्मकरूपमा र घरदैलोमै सेवा प्रवाह गर्न स्थानीय सरकार सफल भएका हुन्। यी वडाका सेवाहरू सार्वजनिक बिदा र बिहान बेलुकी पनि प्रवाह भइरहेका छन् । यस्तो सरल, सुलभ, छिटो र भरपर्दो स्थानीय सरकाको सेवा प्रवाहसँग संघीय सरकार र प्रदेश सरकारको सेवा प्रवाह तुलना नै हुन नसक्ने गरी स्थानीय सरकारहरू अब्बल ठहरिएका छन् ।

अनलाइन र घुम्ती सेवा
नेपालमा क्रियाशील ७५३ वटा स्थानीय सरकारमध्ये अधिकांशले अनलाइन सेवा प्रवाह गरिआएका छन् । यिनले प्रविधिमैत्री, सीसीटिभी, ई हाजिरी, स्क्रिन सूचनापाटी, सीसी क्यामरा र विद्युतीय हाजिर जडान गरेका छन्। साथै, अधिकांश पालिकाले डिजिटल बडापत्र, डिजिटल सूचना पाटी र आकर्षक सेवाग्राही सहायता कक्ष सञ्चालनमा ल्याएका छन् । यी सबै प्रविधिले आम जनतामा सेवा प्रवाह सहज तुल्याएको छ।

अधिकांश वडा कार्यालय आप्mनै भवनमा सञ्चालन हुन थालेका छन् । ती वडा कार्यालयहरूमा विद्युतीय सञ्जाल जडान भइरहेको छ । साथै, वडा कार्यालयहरूबाटै अनलाइन सेवा आरम्भ गरिएको छ । प्रायः सबै स्थानीय सरकारहरूले आलोपालो गरी सबै वडामा एकीकृत घुम्ती सेवा सञ्चालन गरी आम जनतामा पञ्जीकरणको सेवा, नक्शा पास, सामाजिक सुरक्षा भत्ता वितरण, स्वास्थ्य सेवा प्रवाहलगायतको काम गरिरहेका छन् । कतिपय स्थानीय सरकारले आपूmलाई डिजिटल गाउँपालिका घोषणा गर्ने, पेपरलेस पालिका बनाउने र पालिकाको सेवालाई मोबाईल एपमा जोड्ने जस्ता उदाहरणीय काम गरेका छन् । यी काम कारबाही स्वयंमा अब्बल छन् ।

लक्षितवर्गको ओठमा खुसी

मुलुकमा स्थापना भएका स्थानीय सरकारहरूले ज्येष्ठ नागरिकको ओठमा खुसी ल्याएका छन्। यसका लागि यिनीहरूले ज्येष्ठ नागरिकलाई मल्टी भिटामिन वितरण गर्ने, लौरो दिने, टर्च लाइट र तीन महिनामा ब्याट्री उपलव्ध गराउने गरिआएका छन् । यसै गरी, ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र खोल्ने, धार्मिक पर्यटनमा लैजाने तथा मोतिया बिन्दुको अपरेसन गर्ने जस्ता काम गरिरहेका छन्।

साथै, अपांगता भएका व्यक्तिलाई ह्विल चियर उपलब्ध गराउने, विशेष भत्ता दिने, ब्रेललिपिको तालिम दिने कार्य गरेका छन्। छोरी जन्म उपहार कार्यक्रम, छोरी बचाउ कार्यक्रम, छोरीलाई आत्मरक्षा तालिम, निःशुल्क रूपमा स्यानिटरी प्याड वितरण र बालविवाह अन्त्य गर्न पालिकाहरू अग्रसर भएका छन्।

महिला विकास र महिला सशक्तीकरणका क्षेत्रमा पनि पालिकाहरूले सुत्केरी भत्ता, निःशुल्क एम्बुलेन्स सेवा, सीपमूलक तालिम सञ्चालन गरेका छन्। यस अतिरिक्त, दलित, लोपोन्मुखवर्ग,वञ्चितीकरणमा परेको वर्ग, आदिवासी, गरिब, विपन्नलगायत लक्षितवर्ग केन्द्रित थुप्रै कार्यक्रमको माध्यमद्वारा पालिकाहरूले उनीहरूमा आशा र विश्वासको सञ्चार गराएका छन् । तिनको ओठमा खुसीको हासो ल्याएका छन् । यी अब्बल कामको उच्च सम्मान गर्नुपर्छ ।

कृषि, शिक्षा र स्वास्थ्य सेवा

कृषि प्रधान मुलुकमा पालिकाहरूले एक गाउँ एक उत्पादन अभियान आरम्भ गरेका छन्। उनीहरूले रिपर, पावर टिलर, मिनी ट्याक्टर, हार्भेस्टरजस्ता कृषि उपकरणमा अनुदान दिएका छन्। कृषिको सम्भाव्यता अध्ययनका लागि माटो परीक्षण गरेका छन्। पशुपालनतर्फ सुत्केरी गाई भैंसीलाई भत्ता दिने, कृत्रिम गर्भाधान गराउने, नश्ल सुधार गर्नेलगायतका काम गरिआएका छन् ।

यसै गरी, शिक्षाको गुणस्तर सुधारमा पालिकाहरू कम्मर कसेर लागि परेका छन्। यसका लागि प्रअसँग कार्यसम्पादन करार गर्ने, स्थानीय पाठ्यक्रम लागू गर्ने, प्राविधिक शिक्षा, ई लाईब्रेरी र विज्ञानको प्रयोगशाला स्थापना गर्ने काम गरेका छन्। यस अतिरिक्त, स्वास्थ्य सेवा प्रवाहतर्फ पालिकाहरूले अस्पताल नै सञ्चालन गरिआएका छन्।

आम नागरिकलाई ब्लड बैंकको सेवा, डाइलासिस सेवा, विद्यार्थीको वर्षेनी स्वास्थ्य परीक्षण, चौबिसै घण्टा स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउने जस्ता सत्कार्य पालिकाबाट भइरहेका छन्। खोप लगाउने, सुनौला हजार दिनको कार्यक्रम सञ्चालन गर्ने, पोषण शिक्षा दिने कार्यमा पनि पालिकाहरू अब्बल देखिएका छन्।

यसरी नेपालमा स्थापना भएका ७५३ वटा पालिकाहरूले प्रायः सबै क्षेत्रमा उत्कृष्ट र प्रभावकारी रूपमा सेवा प्रवाह गरिरहेका छन्। भविष्यका दिनमा यी पालिकाहरूले हाल देखिएका केही कमी कमजोरीबाट माथि उठी संघीय शासन प्रणालीको गतिलो जगका रूपमा विकास हुनेछन् भन्ने अपेक्षा गर्दै स्थानीय सरकारहरूको कार्य सफलताको कामना गर्दछु।

प्रतिक्रिया दिनुहोस्