स्थानीय सरकारको २ वर्ष

सार्वजनिक सेवा प्रवाहमा स्थानीय सरकार



सुनील महर्जन

जनताको पहुँच र कार्यसमेत स्थानीय तहबाट बढी नै भएको छ।जनप्रतिनिधि बहालभएसंगै स्थानीय तहबाट सार्वजनिक सेवा प्रवाह र विकास निर्माणका अधिकाशं कार्य भएका छन्। स्थानीय संघसंस्था, स्थानीयवासीले कुनै सार्वजनिकको हित काम गर्नुपरेमा, चन्दा उठाउन नसकेकोले वा सहयोगीहरु हातहरु नभएकोले गर्न सकेन कार्यक्रम गर्न सकेन भन्नुपर्ने स्थिति रहेन।

रचनात्मक कार्य गर्नेलाई स्थानीय तह, वडा कार्यालयबाट कुनै न रुपमा सहयोग अवश्य प्रदान गर्दै आएका छन्। गाउँठाउँ सार्वजनिक कार्यक्रम तथा रचनात्मक गतिविधि,क्षमता विकासका कार्यक्रमहरु सञ्चालनको गति तेज भएको छ।हो त्यसरी भएका गतिविधिहरु पनि प्रभावकारी, लक्षित समुदायसम्म पुग्यो पुग्न सकेन भन्ने प्रश्न गर्ने ठाउँ छ । वा राजनीतिक दलका आसेपासे वा पहुँच हुनेले मात्र पायो भन्ने आलोचना गर्न नसकिने होइन।यसबाट स्थानीय टेकदार,विचौलिया वर्ग पनि उत्पादन भएको सन्दर्भ भने बेग्लै रहेको छ। तर एउटा कुरो के हो भने धेरैभन्दा स्थानीयको बजेटमा पहु“च भएको छ ।

स्थानीय तहले जनताको दैनिक जीवनलाई निकै नजिकबाट छोएको छ। सर्वसाधारणको स्वास्थ्यमा पहुँच, स्वास्थ्य, वातावरण, सरसफाईको चेतना बढाउन, रोजगार, शिक्षा तालिमबाट जनता लाभान्वित भएका छन्। बिरामी हुँदा औषधी बाँड्ने,पढ्न लेख्न प्रोत्साहित गर्ने, चेतना अभिवृद्धि,ज्येष्ठ नागरिकको हेरचार, महिला, बालबालिकाको क्षमता विकास जस्ता अने कार्यक्रमहरु मार्फत सर्वसाधारण दैनिकीलाई छोएको वा छुने प्रयास गर्दै आएको छ।यसले सेवाविस्तार र जनताको दैनिकीलाई सहज बनाउने कार्य गरेको छ।

दोस्रो,गाउँका दुुरदराजमा पहुँच नभएकाहरु, प्रहरी प्रशासनमा आफ्नो मान्छे नभएकाहरुको पनि कुरो सुनाउने, गुनासो र पीरमर्का सुनाउने स्थिति भने बनेको छ। आफ्ना समस्या जनप्रतिनिधिहरुलाई निर्धक्कका साथ राख्ने, समस्या समाधानको लागि तोकता गर्ने,घचघच्याउने वातावरण बनेको छ।स्थानीयका पीर, मर्का, गुनासो सुन्ने र संवाद गर्ने जवाफदेही संस्कार अभ्यास क्रमशःबलियो हुँदै गएको छ। समस्या परे जनप्रतिनिधिले सुन्छन् भन्ने आत्मविश्वास बढ्दै गएको छ। राज्यसञ्चालनको प्रक्रियामा जनताको सहभागिता रहेको भावना बढाउँदै लगेको छ। स्थानीय तहको अभ्यासमा यो निकै सकारात्मक पक्ष रहेको छ। स्थानीय तहको अभ्यासका सकारात्मक पक्षले गर्दा संघीय वा प्रदेश सरकारको असन्तुष्टिको व्यवस्थापन गर्न धेरै टेवा पुर्‍याएको छ।

त्यसैगरी संविधान बमोजिम कानून निर्माण गर्ने, स्थानीयबासिन्दाको प्रँथमिकता, माग र आवश्यकताका आधार योजना तर्जुमा गर्ने,आर्थिक स्रोत, साधनको अनुमान, व्यवस्थापन र त्यसको उपयोग गर्ने,सहभागितात्मक तवरले विकास निर्माण कार्य सञ्चालन गर्ने र त्यसमा जनताको अपनत्वबोध गराउने,स्थानीय विवाद समाधान गर्ने,शिक्षा, स्वास्थ्य, कृषि तथा वन व्यवस्थापन,फोहोरमैला व्यवस्थापन र स्थानीय सेवा प्रवाहको कामहरु भइरहेको छ।

संविधानको अनुसूची – ८ मा उल्लेख भए अनुसार स्थानीय तहको अधिकार क्षेत्र अन्तर्गत स्थानीय तहको अधिकार क्षेत्र अन्तर्गत स्थानीय कर, दस्तुर, स्थानीयको सेवा व्यवस्थापन,स्थानीय स्तरका विकास आयोजना,आधारभुत र माध्यमिक शिक्षा,आधारभुत स्वास्थ्य र सरसफाई, स्थानीय, ग्रामीण तथा कृषि सडक र सि“चाई,कृषि तथा पशुपालन,जेष्ठ नागरिक, अशक्तहरुको व्यवस्थापन,नगर प्रहरी, सहकारी संस्था,एफएम लगायत विषय रहेका छन्।त्यस बाहेक स्थानीय तहले संघ तथा प्रदेशसंगको सहकार्यमा प्रयोग गर्ने साझा अधिकारको सूची संविधानको–९ मा उल्लेख गरिएको छ। त्यसमा सहकारी, स्वास्थ्य, कृषि, वन जंगल, वन्यजन्तु, चराचुरुंगी, जल उपयोग, वातावरण पर्यावरण तथा जैविक विविधता, खानी तथा खनिज, विपद् व्यवस्थापन, पुरात्तात्विक, प्राचीन स्मारक र संग्रहालय, प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी जस्ता विषयहरु रहेका छन्। उपमेयर वा उपाध्यक्षको संयोजकत्वमा हुने न्यायिक समितिले स्थानीय विवाद समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

ललितपुर ३ वडाको जनताको जीवन छुने कार्यक्रमहरु

पुल्चोकस्थित ललितपुर महानगरपालिका–३ वडा कार्यालयले नागरिकको जीवनमा कति नजिकबाट र कुन हदसम्म छुन सक्दछ भन्ने प्रश्नको एउटा उत्तर हुन सक्दछ। वडाको भवन बाहिरबाट झट्ट हेर्दा छुट्टै महशुस गराउने किसिमको छ।भवन भित्रबाट प्रवाह हुने विविध सेवालाई हेर्ने जोकोहीलाई पनि वडाले सर्वसाधारणको जीवनलाई निकै नजिकबाट स्पर्श गर्ने प्रयास गरेको छ भन्ने भाव पैदा गराउँदछ।

मानिसलाई सबै भन्दा बढी अर्काको साथ चाहिने समय भनेको मृत्यू हुँदा वा बिरामी हुँदा नै हो। यसलाई अनुभूत गरी वडाले कसैको मृत्यू हु“दा शवबाहनको सेवा दिँदै आएको छ । सो सेवा निशुल्क रुपमा उपलब्ध गराउनेसंगै मृत्यू भएको घटना ३५ दिनभित्रै वडामा कार्यालयमा दर्ता गराएमा मृतक परिवारलाई उल्टै २ हजार रुपैयाँ पनि प्रदान गर्दै आएको छ। घटना घटेको ३५ दिनभित्र घटना दर्ता गर्न आएमा उपहार प्रदान गर्दै आएको छ। त्यसैगरी परिवारका सदस्य, आफन्त वा साथीभाई कोही विरामीको उपचारका क्रममा रगत चाहिएको बेला कहाँ भन्ने ?, कसलाई भन्ने? जोकोहीलाई ठ्याक्कै थाहा नहुन सक्दछ । यस्तो बेला वडामा सम्पर्क गरेमा वडाले नै रगत मिलाईदिने कार्य शुरु गरिएको छ। सेवा लिनका लागि प्रत्येक घरका घरमुलिलाई वडा परिचय वितरण गरेको छ।‘ वडाले दिएको परिचयपत्र लिई आएमा निशुल्क रुपमा रगतको व्यवस्था मिलाईदिने व्यवस्था गरेका छौं।ब्लड बैंक र वडाबीच भएको सम्झौता अनुसार रगत मिलाईदिएपछि सो को पैसा वडाले तिर्नेछ ।’ वडाअध्यक्ष श्रीगोपाल महर्जनले भन्नुभयो ।

७० वर्ष उमेर पुगेका वृद्ध, वृद्धाहरुको लागि घरमै पुगेर सिफारिश पनि दि“दै आएको छ। तर वडा कार्यालयमा आउन चाहेमा साधनको चिन्ता लिनुपर्ने अवस्था छैन ।साधन नहुने सेवाग्राहीहरु वडा कार्यालय आउनुपरेमा आठ जना अटाउने विधुतीय गाडी पनि सञ्चालन गरिएको छ। विशेषतः ज्येष्ठ नागरिक, अपांगता भएका, असक्त, घरपरिवारमा कुनै साधन नभएका मानिसहरुलाई लक्षित गरी गाडी सञ्चालनमा ल्याइएको वडाअध्यक्ष महर्जनले बताउनुभयो ।

तर विशेष परिस्थितिमा काम विशेषले वा सिफारिश लिन आउनुपरेमा आफ्नो साधन नहुने वडाबासीहरुले सो गाडी चढेर पुल्चोकस्थित वडा कार्यालयमा आउन वडा कार्यालयले सार्वजनिक रुपमा आग्रह गर्दै आएको छ। यसका लागि वडाबासीले कुनै किसिमको शुल्क तिर्नुपर्दैन । तर वडाले दिएको परिचय पत्र भने अनिवार्य देखाउनुपर्ने छ ।

विधुतीय गाडी वडाको सीमानाको बाटो हुँदै चलिरहेको छ। कार्यालय आउने र जाने समय बाहेक दिउँसो दुई पटक गरी दैनिक चार पटक गाडीले वडाको पुरै क्षेत्र फन्को लगाउने गर्दछ । पाटनढाकोबाट कृष्णगल्ली, बखुण्डोल, झम्सिखेल, सानेपा, चक्रपथ, धोबिघाट, सेन्टमेरिज गल्ली र दमकलको बाटो हुँदै पुल्चोकस्थित वडा कार्यालयको रुटमा गाडी चल्ने वडा कार्यालयले जनाएको छ।वडामा सेवा लिन आउने बाहेक रुटमा पायक पर्ने वडाबासी सबैले गाडी चढ्न सकिने पनि वडाअध्यक्ष महर्जनको भनाई रहेको छ। सो वडामा २२ सय घर परिवार रहेको वडाले जनाएको छ।

वडाले शिक्षा क्षेत्रमा गरेको काम पनि अरुका लागि उदारणीय बन्न सक्छ । प्रत्येक वर्ष १ एक जना आर्थिक अवस्थामा कमजोर भएका सामुदायिक विधालयका विधार्थीलाई २५ हजार रुपैयाँ छात्रवृति दिँदै आएको छ। सामुदायिक विधालयमा शिक्षक शिक्षिकाले राम्ररी पढाएका वा नपढाएको, कुन विषय पढाइरहेको छ भनि हेर्ने प्रविधि मार्फत सबैले हेर्न सकिने व्यवस्था गरिएको छ। मोबाईलमा निगरानी एप्स डाउनलोड गरी हेर्न सकिने छ। वडाले प्रवाह हु्ने सेवा दृष्टिविहीनहरुले सहजै थाहा पाउन सकिन्छ । वडाभित्र प्रवेश गर्नासाथ वडाले प्रवाह गर्ने सेवाबारे अडियो सुन्न सकिने व्यवस्था मिलाइएको छ ।

विपन्न तथा असहाय, एकल महिलाको सन्तान तर सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्राका लागि मासिक ५ सय का दरले भत्ता दिदै आएको छ भने सामुदायिक क्यँम्पसमा स्नातक तहसम्म अध्ययनको लागि छात्रवृति र दलित विद्यार्थीलाई अध्ययन सामग्रीसहित १० जनालाई प्रति व्यक्ति १५ हजारको दरले उपलब्ध गराउँदै आएको छ।त्यस्तै सामुदायिक विद्यालयको गुणस्तर उठाउन तालिम, छात्रवृति प्रदान गदै आएको छ।

दीर्घ रोगी, कडा रोगी भएकालाई एक महिलाको लागि १० हजार सम्मको औषधी, १० हजार बराबर उपचार खर्च र ७५ वर्ष नाघेका जेष्ठ नागरिकको जन्मदिन मनाउन प्रति व्यक्ति १ हजार रुपैया“ प्रदान गर्दै आएको छ। त्यस्तै सो वडा जेट मेसिन सञ्चालन गर्ने देशकै पहिलो वडा पनि रहेको छ। ढल सफा गर्न उच्च प्रविधियुक्त जेट मेसिन वडाले नै सञ्चालनमा ल्याएको थियो।

जेट मेसिनले २० मिटर गहिराईसम्म ढल सफा गर्न सक्ने, सफा पानीसंगै ढलको पानी तानेर राख्न, ढल भित्रको बोरा, प्लास्टिक अड्किएमा निकाल्न सकिने छ। सो जेट मेशिनले जाम भएको ढलको पानी ट्याङकीमा राख्ने र सफा पानीले हाई प्रेसरको जेट मेशिनमार्फत सफा गर्ने गर्दछ। सोही वडाका बासी समेत रहनुभएका महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको शब्दमा भन्नुपर्दा वडाले उच्च प्रविधि मार्फत गुणस्तरीय सेवा दिएको छ। यस कार्यले अरु वडालाई उच्चत्तम प्रविधियुक्त मेसिनबाट काम गर्न प्रोत्साहन पनि गरेको मेयर महर्जनको भनाई रहेको छ ।

अहिले वडाले मेरो प्याथलोजी र व्यावसायिक तालिम केन्द्र सञ्चालन गर्ने तयारी गरेको छ। नागरिकको जीवनमा वडालाई कसरी जोड्न सकिन्छ भन्ने सोचकै उपजको रुपमा यी कार्यहरु रहेको वडाअध्यक्ष महर्जनले बताउनुभयो। अनलाईन सिफारिश , सफ्ट वेयरमार्फत दर्ता चलानी, फाईनल डिजिटाईजेनश समेत वडाको सेवाप्रवाहमा प्रविधि मैत्रीको झल्को दिने गरेको छ।‘ थाहा पाएसम्म, जाने सम्म यस वडाबाट प्रवाह हुने विविध सेवाहरु देशका सम्पूर्ण वडा कार्यालयहरुको लागि उदाहरण बन्न सक्दछ।’ वडाबासी समेत रहनुभएका वरिष्ठ पत्रकार कनकमणी दिक्षितले भन्नुभयो। जीवनलाई छुन, मनमष्तिस्कमा प्रभाव जमाउन धेरै मानिस जम्मा गरी, धेरै पैसा खर्च गरी ठूलठूला कार्यक्रम गर्नुपर्दछ भन्ने अनिवार्य नभएको एउटा ठूलो उदाहरण यस वडाले दिएको पनि दिक्षितको भनाई रहेको छ।

वडाले नागरिकको दैनिक जीवनमा नभई नहुने स्वास्थ्य, शिक्षा, रोजगारी र सशक्तिकरणमा छुन कति नजिकबाट कोशिस गरेको धारणा बनाउने सेवाग्राहीमा दिक्षित एक्ला होइनन् । वडाले समाजका सबै क्षेत्र वर्ग र समुदायलाई आफ्नो उत्कृष्ट प्रशासनिक, सेवा र सुविधा दिन सफल भएको धेरैको बुझाई रहेको छ।

प्रतिक्रिया दिनुहोस्