भ्रष्टाचार कति कति ?

भ्रष्टाचारमा लिप्त विकलले ५ अर्बभन्दा बढी कमाएको आशंका



काठमाडौं ।

भ्रष्टाचार, अकुत सम्पत्ति तथा पीआर प्रकरणमा दोषी देखिएर मुद्दा दायर गरिएका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलले आईटी क्षेत्रमा व्यापक भ्रष्टाचार गरी झण्डै पाँच अर्ब रुपियाँ आर्जन गरेको हुनसक्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारीहरूले अनुमान गरेका छन् ।

विगत केही महिनादेखि अख्तियारको हिरासतमा रहँदै आएका विकलमाथि अनुसन्धान गर्न अख्तियारका अधिकारीहरूलाई ठूलो मिहिनेत गर्नु परेको र विकलको अकुत सम्पत्ति पत्ता लगाउन समेत निकै कठिन परिरहेको अख्तियार स्रोतले जानकारी दिएको छ। अख्तियारका अनुसन्धान अधिकृतसँग विकलले पछिल्लो समयमा केही आक्रोशसमेत पोख्दै आएका छन्।

अख्तियारका एक अनुसन्धान अधिकृतले विकलको भनाइ उद्धृत गर्दै नेपाल समाचारपत्रसँग भने– ‘मेरो भित्री गुदी त तपाईंहरूले के पत्ता लगाउन सक्नुहोला, जेहोस् बाहिर बोक्रा बोक्रा चाहिँ पत्ता लगाउनुभयो।’

एक अनुसन्धान अधिकृतका अनुसार विकलसँग रहेको सम्पत्तिको मुस्किलले २० प्रतिशत मात्रै पत्ता लगाउन सकिएको छ। विकलकै भनाइलाई आधार मान्ने हो भने पनि उनीसँग स्वदेश र विदेशमा गरेर झण्डै ५ अर्ब जतिको सम्पत्ति रहेको सहजै अनुमान लगाउन सकिन्छ अख्तियारका ती अनुसन्धान अधिकृतले भनाइ छ।

विकलले अमेरिका तथा सिंगापुरका विभिन्न सहरमा ठूलो परिमाणको रकम परिचालन गरेको हुनसक्ने आशंका गरिएको छ। अख्तियारले बुधबार मात्रै विकलले ६२ करोड १९ लाख १८ हजार ६ सय ८४ रुपियाँ गैरकानुनी रूपमा आर्जन गरेको ठहर गर्दै अकुत सम्पत्तिमा मुद्दा दायर गरेको थियो । त्यसरी अकुत सम्पत्ति आर्जन गरेकोमध्ये झण्डै २९ करोड रुपियाँ सिंगापुर र अमेरिकाका बैंकहरूमा राखिएको फेला परेको थियो ।

सिंगापुरस्थित युनाइटेड ओभरसिज बैंक र अमेरिकाको बैंक अफ अमेरिकाको खातामा रहेको २८ करोड ९५ लाख ७५ हजार ६ सय ८९ रुपियाँ विकलले कमिसनबापत बुझेको समेत अख्तियारले जनाएको छ। यसका साथै विकलको विभिन्न ठाउँमा करोडौं मूल्यका घरजग्गाहरूसमेत रहेको अख्तियारले जनाएको छ।

अख्तियारका अनुसार विकलले हुण्डीमार्फत् ठूलो परिमाणको रकम अमेरिका तथा सिंगापुर पु¥याएको भए पनि सो रकम पत्ता लगाउन निकै कठिन देखिएको छ। हुण्डीमार्फत् विकलले अर्बौं रुपियाँ विदेश पुर्‍याएको हुन सक्ने अख्तियारका अनुसन्धान अधिकृतले बताएका छन्। विकलमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले समेत छानबिन गर्दै आइरहेको छ।

अख्तियारले विकलले गैरकानुनी रूपमा आर्जन गरेको अन्य रकमको समेत खोजी जारी राखिएको जनाएको छ। विकलले श्रीमती एलिना बस्नेतको नाममा अमेरिकामा ६ करोड ५ लाख ३३ हजार मूल्यको घर खरिद गर्नुका साथै अन्य केही व्यक्तिको नाममा समेत विदेशमा घर खरिद गरेको र अर्बौं रुपियाँ अन्य केही व्यक्तिको नाममा राखेको हुनसक्ने भएकाले त्यस्ता व्यक्तिको बारेमा समेत खोजतलास थालिएको अख्तियारले जनाएको छ।

विकलसँग निकट सम्वन्ध राख्दै आएका अन्य साथीहरूलाई समेत अख्तियारले निगरानी गर्दै उनीहरूको खाता तथा सम्पत्तिको समेत खोजी गर्न थालेको स्रोतले जानकारी दिएको छ।

अख्तियार स्रोतका अनुसार प्रविधिमा समेत निकै निपूर्ण रहेका विकलले अनुसन्धानका क्रममा कैयौं पटक अख्तियारको कम्प्युटरमा राखिएका विकलसम्बन्धी रेकर्डहरू समेत ह्याक गराइदिएको जिकिर गर्दै अख्तियारका एक अधिकारीले भने– ‘त्यसैले पनि शुरूमा केही समय त हाम्रा अनुसन्धान अधिकृतलाई विकलसँग बयान लिन र उनको विरुद्धको छानबिनलाई अघि बढाउन तथा प्रमाण संकलन गर्न निकै कठिन भयो र निकै समय पनि लाग्यो। ’

यसअघि अख्तियारले विकल पौडेलविरुद्ध झुटा विवरण पेस गरी सरकारी पदमा पुगेको र सुरक्षण मुद्रण केन्द्रमा अनावश्यक सामान खरिद गरेको आरोपमा दायर गरेको थप दुई मुद्दा विशेष अदालतमा विचाराधीन छन्।

प्रतिक्रिया दिनुहोस्