सिरोहिया पक्राउ प्रकरण : निजी क्षेत्रमा पनि चौतर्फी विरोध

196
Shares

काठमाडौं ।

सञ्चार उद्यमी कैलाश सिरोहिया पक्राउप्रति नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

तीनवटै संगठनले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै कानुनविपरीत काम गरेको प्रमाणित भएमा जोकोही पनि कारबाहीको भागिदार हुनुपर्ने तर, कुनै पनि विषयमा उजुरी परेकै भरमा पक्राउ नै गरिहाल्ने र थुन्नेजस्ता कार्यले सकारात्मक सन्देश नजाने भन्दै चिन्ता व्यक्त गरेको छ।

विज्ञप्तिमा उद्यमी व्यवसायी तथा लगानीकर्ताको मनोबल थप घट्नेतर्फ ध्यानाकर्षण गराउँदै उजुरी पर्दैमा वा आरोप लाग्दैमा थुन्ने नभई सुनुवाइको मौका दिनुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराइएको छ।

उजुरीकै भरमा उद्यमी, व्यवसायी वा जो कोहीलाई थुनिहाल्ने नभएर राज्यले उनीहरूका कुरा सुनिदिनुपर्ने निजी क्षेत्रको आग्रह छ। थुनेपछि मात्रै सुन्ने प्रवृत्तिले समग्र क्षेत्रमा नकारात्मक असर पर्ने भएकाले आवश्यक परे अग्रिम जमानत लिने र आरोप प्रमाणित भएपछि मात्रै कानुनी कारबाहीको प्रक्रिया अघि बढाउनेतर्फ राज्य अगाडि बढ्न निजी क्षेत्रको सुझाव छ।

‘मुलुक अहिले आर्थिक संकटको अवस्थाबाट माथि उठी सकेको छैन। अर्थतन्त्र सुधारका लागि सरकार र निजी क्षेत्रको संयुक्त प्रयासबाट भर्खरै लगानी सम्मेलन सम्पन्न भएको छ। नेपालमा अनुकुल वातावरण रहेकाले लगानी गर्न स्वदेश तथा विदेशका सबै लगानीकर्तालाई आग्रह पनि गरिएको छ। यही अवस्थामा कहीँकतैबाट व्यावसायिक वातावरण खल्बलिन दिनुहुँदैन भन्ने हाम्रो सुझाव रहन्छ, विज्ञप्तिमा उल्लेख छ।

कुनै पनि व्यवसायीको मानमर्दन गरेर तथा उनीहरूलाई हतोत्साही गरेर लगानीको वातावरण बन्न नसक्ने भन्दै विज्ञप्तिमा भनिएको छ– ‘अहिले देशभित्रका सानादेखि ठूला व्यवसायीलाई प्रोत्साहन तथा हौसलाको आवश्यकता छ। उद्योगी व्यवसायी एवं लगानीकर्तालाई सरकारले अभिभावकत्व प्रदान गर्नुपर्दछ । देशभित्र व्यावसायिक वातावरण खल्बलाउने काम कहीँकतैबाट पनि नहोस्।’