शासकमा मानसिक र व्यावहारिक परिवर्तनको अपेक्षा



वि.सं. २००७ सालदेखिको झन्डै आठ दशक लामो जनप्रतीक्षामा पनि राजनीतिक, प्रशासनिक र आमूल वैचारिक परिवर्तन आउन नसकेको कुरा आज पनि अनुभूत हुँदै गरेको कुरा हो । यस लामो कालखण्डका धेरैजना पाका नागरिकले अनुभूत गरे कि हाम्रो पालामा शासकको व्यवहार र मानसिकता परिवर्तन हुन नसके तापनि हाम्रा सन्तानको पालामा पक्कै परिवर्तन हुनेछ । तथापि उनीहरु बाँचेका कालखण्डमा अपेक्षित परिवर्तन नभएरै बित्यो । तर उनीहरुका छोराछोरी, नातिनातिना हुँदै गएर पनातिका पुस्ता चल्दै गरेको कालखण्डमा समेत सोचे वा चाहेनुसारको परिवर्तन आउन सकेको छैन । यो एउटा दुःखद र अनपेक्षित अनि मानसिक अलमलको अवस्थामा बाँच्दै छौँ आज हामी पनि ।

प्राविधिक शिक्षा हासिल गरेको एउटा युवक जो स्वदेशमै बसेर पनि आफ्नो जीविकोपार्जनका लागि आवश्यक पर्ने सम्पत्ति कुनै गैरकानुनी काम नगरेरै वा कानुनले गर्नु भनेर अनुमति दिएकै काम गरेर जीविकोपार्जन गर्न सक्ने अवस्थाको छ। ऊ र उसका परिवारका सदस्य बिरामी पर्दा औषधोपचार गराउन समथ्र्यवान हुन्छ। आफ्ना सन्तानलाई उचितरुपमै शिक्षादीक्षा दिलाउन सक्ने अवस्थामा हुन्छ । एक वर्षमा उसको कमाइ आठदेखि दश लाखको छ । व्ययभारको लागि आवश्यक पर्ने सम्पत्ति खर्च गरेर पनि केही सम्पत्ति बचत गर्न सक्ने अवस्थामा छ ऊ। यतिको आर्थिक अवस्था मजबुत भएको युवकको मानसिकता स्वदेश त्यागेर विदेशमा पस्ने रहन पुग्छ। यसको खास कारण के हो भने उसलाई सम्पत्ति नपुगेर, भोकले मर्नै आँटेको अवस्थाको सामना गर्न परेर पनि होइन, छोराछारी पढाउन नसकेर पनि होइन, ऊ विदेशिन खोज्नुको प्रमुख कारण सरकारका हरेक क्षेत्रमा हुने गरेका ढिलासुस्ती, नातावाद, कृपावाद, काम गरिदिएबापतको चियाखर्चजस्ता कुराले युवाको मानसिकताका तन्तुभर दिक्दारीको अवस्था सिर्जना गरिदिन्छ। जुन दिक्दारीका कारण उसको मानसिक इच्छाशक्ति क्रमशः निरुत्साहित बन्दै जान्छ। ऊभित्रका प्रतिभा उत्साही बन्दै जानुको साटो सिथिल बन्दै जान्छन्। यो कारणले गर्दा युवाभित्रको मानसिक र वैचारिक दिक्दारीले गर्दा प्रतिभा प्रस्फुटनमा सघाउ पुग्नुको साटो क्रमशः तुषारापात हुन थाल्छ। उसको दिक्दारीपन केही शान्त भएपछि ऊ पुनः प्रयासमा लागे पनि पुरानै अवरोधक तत्वहरु सक्रिय बनेर उसको दिमागलाई डस्न खोज्छन् । अब कसरी स्वतन्त्र बनेर प्रस्फुटन गर्ने होला ? भन्ने सोच युवकको दिमागभित्रका तन्तुमा अडिएपछि स्वतन्त्र भएर आफ्नो प्रतिभा प्रस्फुटन गराउने दृढताका साथ विदेश जानेतिरको प्रक्रियामा लाग्छ । आजका हरेक नेपाली युवाको समस्याको जड नै यही हो भन्दा फरक पर्नेछैन । हाम्रो देशको प्रशासनले आम नेपाली युवाका ती विपरीत इच्छा वा चाहनालाई कति र कसरी बुझेको हुन्छ वा बुझेको हुँदैन र व्यवहार परिवर्तन गर्न पनि चाहँदैन ।

आफ्नै छिमेकी र संसारका गरिब भनिएका देशहरुले छोटो अवधिमै अथाह उन्नति गरेर संसारलाई चकित बनाइरहेका कुरा थाहा भएरै पनि थाहा नपाएको जस्तो गरेर पहिलेदेखि जसरी चलेको छ, त्यसै रवैयाले चल्न खोज्ने प्रशासनले हरेकजसो नेपाली युवाको मानसिकतामा घोर नकारात्मक भावना थोपरिदिएको छ । यसरी थोपरिएको वा लादिएको मानसिकताले एकथोपा पनि सकारात्मक पक्षमा लाग्न सघाउँदैन र मानसिक सकारात्मकताको भावना उत्पन्न हुनबाट रोकेको हुन्छ । यसै नकारात्मक भावनाको बडौलीबाट कसरी मुक्ति पाउने ? भन्ने सोचले समस्याग्रस्त बनेको युवक वैदेशिक रोजगारीको परिकल्पनामा डुब्न थाल्छ र ऊ विदेश जानको लागि हतारिन थाल्छ ।

विदेश गएपछि भरसक स्वदेश फर्कनु नपरे हुन्थ्यो, फर्कनुपरे पनि केही थोरै समय पाहुनाका रुपमा बसेर उतै फर्कने मानसिकतामा आम नेपाली युवावर्ग रहेका हुन्छन् । नेपालप्रतिको आम युवावर्गको धारणा नकारात्मक हुन जानुको पछाडि केवल युवावर्गको एक्लो मानसिकताले मात्र काम गरेको नभई शासकको मानसिकताबाट उब्जा भएको र उसको दिक्दारी लाग्दो व्यवहारले मुख्य कारकको भूमिका खेलेको पाइन्छ ।

विगतको माओवादीको एक दशक लामो युद्धले जबरजस्ती केही परिवर्तन ल्याउने र शासकको मानसिक नकारात्मकताको स्थानमा सकारात्मकताको भावना ल्याउने अनि सकारात्मक मानसिकताबाट उत्पादन हुने व्यवहारमा समेत सकारात्मकता ल्याउने प्रयास भएको भए तापनि स्वस्फूर्तरुपमा आएको मानसिक सकारात्मकताजस्तो लादिएको वा जबरजस्तको मानसिकता नहुने रहेछ भन्ने कुरा आज पुष्टि भएको छ । संसार परिवर्तनको लागि भूमिगत भएर युद्ध लडेका भनिएका माओवादीको स्वयं नेतृत्ववर्गको नै सकारात्मक मानसिक परिवर्तन भएको रहेनछ। दशबर्से युद्ध भनेको केवल संसारलाई ढाँटेर आफूले मात्र लुटेर खाने युद्ध पो रहेछ। अहिले सत्ताका हर्ताकर्ता बनेका माओवादी नेता स्वयंले आफूलाई सकारात्मक मानसिकतामा ढाल्न सकेका भए देश र विश्वमै समेत केही सकारात्मक र उदाहरणीय कर्म गरेर देखाउन सक्ने थिए होलान् । जालझेल र नकारात्मक भावनाले चलेको शासन केवल तासको घरजस्तै कच्चा हुन्छ । शासन कच्चा भएपछि आम जनमानसमा असन्तुष्टिको भावना बढेर जान्छ । असन्तुष्टिको भावनाले भरिएको मानवले सकारात्मक कामभन्दा अधिक नकारात्मक काम गर्न थाल्छ ।

हाम्रा तीन पुस्ताअगाडिका अग्रजहरुले तत्कालीन शासन र शासकप्रतिको भावना सकारात्मक राखेर सकारात्मक कर्म गर्दै शासकलाई सघाउँथे । आम जनताको यो सकारात्मक सघाउले सरकारलाई सकारात्मक काम गर्ने हौसला मिलेको हुन्थ्यो । यसै सकारात्मक हौसलाले गर्दा शासकले आम मानवको भलाइको काम गर्ने साहस राख्दथ्यो । तर हाम्रो देशमा राणाशासन र शासकप्रतिको आम जनताको नकारात्मक भएको धारणालाई कोही पनि शासकले सकारात्मक बनाउने बाटोमा उभिन सकेर शासन चलाउन सकेको पाइएन । यो नै इतिहासको पानामा लेखिएको राजनीतिक भूलमध्येको सबैभन्दा ठूलो र खराब परिणाम आउने खालको थियो ।

आजको पुस्ताका नेपाली जनताले निकै व्यग्रताका सात पर्खेर बसेको कुरो भनेको अब त पक्कै सुशासन आएरै छोड्ला, हामीले कुनै सरकारी काम गराउन जाँदा त्यहाँ काम गर्ने तरिका प्रभावकारी होस्, कसैले पनि कुनै प्रकारका पीडा भोग्नु नपरोस्, प्रशासकलाई आफ्नो व्यक्तिगत जीवनको तुलनामा समग्र देशको चिन्ता र माया रहोस् भन्नेजस्ता सकारात्मक भावना आम नेपाली जनताका वास्तविक भावना रहेका छन्। यिनै स्वच्छ भावनाको धरातलमा शासन र शासकका मानसिक एवं व्यावहारिक परिवर्तनको अपेक्षासमेत गरिएको हुन्छ।

शासन र शासकका मानसिक सकारात्मक परिवर्तन भन्नाले शासकले आफूलाई आम जनताको मालिक नठानेर सेवक ठान्नुको भावना विकास गर्नुपर्ने हुन्छ । जनता मालिक भन्नुको अर्थ शासकलाई शासन गर्ने स्थानसम्म लैजान आम जनताको मतको भूमिका रहेको हुन्छ । तर हामीकहाँ आफूलाई मतदान गरेर उच्च स्थानमा आसीन गराउने आम जनता नोकर र माथिको स्थानमा पुग्ने व्यक्ति हाकिमको रुपमा पुजिने एउटा नराम्रो परम्परा बस्दै जान थालेको छ । शासकभित्रको क्षमतालाई व्यावहारिकरुपमा उतारेर सकारात्मकरुपमा देखाउन सकेका खण्डमा मात्र शासक सफल शासक बन्छ । असफल शासक त केवल बकवास मात्र गर्ने हो । शासक आम जनताको अभिभावक पनि हो । आपतकालमा परेर चिच्याइरहेको सन्तानरुपी जनतालाई शासकले उसका दुःख र पीडा मुक्त बनाइदिने प्रयास गर्नुको साटो प्रशासनको बल लगाएर दमन गरी आफू ढुक्क परेर आनन्दका साथ बस्छ भने त्यो शासकलाई आम जनताले कर तिरेर पाल्नुपर्ने किन ?

मुखले सुशासनको दुहाइ दिने तर कर्मले कुनै एउटा सिन्कोसमेत भाँच्न नसक्ने वा नचाहने शासकलाई शासनको भार दिएर मात्र के गर्नु ? हामीकहाँ अहिले पनि संसद्को कार्यवाही अगाडि बढ्न नदिएर संसद् अवरुद्ध पार्ने काम जारी रहेको छ । शासनको पक्षमा रहेकाले हसुरेका र आफूले खान नपाएको झोकमा संसद् अवरुद्ध गर्दा पनि सबै सांसदहरुको भत्ता पाक्ने क्रम जारी रहने भयो । यता आम जनताले पनि विनाकामको स्याबासी दिने र पाउने भए । तर जनता र देशका लागि फाइदाजनक कुनै काम भएन । किन यस्तो हुन्छ भने, शासक अनि प्रतिपक्ष दुवै जनता र देशको भलाइको खातिर चुनाव जितेर त्यहाँ गएका हुँदै होइनन् । उनीहरु त्यहाँ केवल जागिर पकाउन र भत्ता पचाउने कालो मन अनि सुकिलो र सिँगारिएको अनुहार लिएर गएका छन् । त्यहाँ छिरेका धेरैजसो विदेशीका दलाल पनि छन् । उनीहरुका पेसानुसारका काममध्ये कोही दलालीमा व्यस्त रहन्छन् र सफल बन्दै मक्ख पर्छन् ।

संसद्मा छिरेका सबैजसो नेताको मानसमा नकारात्मक भाव रहेकै हुन्छ भन्दा अलि बढी बोलेको ठहर्ला, तथापि वास्तविकताचाहिँ त्यही नै हो । सर्वप्रथम त कुनै पनि राजनीतिक दल खोल्नुको पछाडि देशको सेवाको भावना एक प्रतिशत मात्रै पनि घुसेर होइन कि अनेक थरीका षड्यन्त्रको जालो बुनेर कसरी फैलाउने अनि आम जनतालाई कसरी लुट्ने भन्ने मुख्य बुँदामाथि छलफल गरी एउटा मानसिक वा सांकेतिक दस्तावेज तयार पारेर खेल खेल्न अनि हार्न वा जित्न थालिने खेल नै हो राजनीति । राजनीतिमा एउटा असफल भएर आफू असफल हुनुका वास्तविक कारण लुकाएर वनावटी कारण निर्माण गर्दै, अर्कालाई आरोप लगाउँदै, बाहिरिँदै गर्नेहरुका रोदन र क्रन्दनको घना रुझान सुन्न पाइन्छ।

संसार बदल्छु भनेर डुक्रने अनि असफल भएपछि निरीह बनेर रुनेहरुले गरेको राजनीति अनि तिनैले चलाएको सत्ताको बहुरुपी नाटकको अभिनय देख्दादेख्दै र विश्वास नलाग्दा नलाग्दै पनि मन अड्याउने कुनै भर पर्दो स्थान नभएपछि तिनै असफल शासकतिर हेरेर सकारात्मक मानस र व्यवहारको अपेक्षा गर्नुबाहेकको अर्को विकल्प के होला र ? अझै पनि पूरै आशा मारेर बस्नुको साटो सकारात्मक मानस र सोच अनि कर्मका आम नेपाली जनताले हाम्रा शासक मानसिकरुपमा सकारात्मक भाव राख्ने अनि निःस्वार्थ भावका भएर देश र आम नेपाली जनतालाई सुशासनको अनुभूति गराउन सके हुने थियो भन्ने भावना राखेका छन्। आम जनताका यी पवित्र भावनालाई कदर गरेर जनअपेक्षित शासन चलाउन सक्नु सफल नेता वा नेतृत्व उत्पादन हुन सक्नु हो । सफल नेतृत्वले मात्रै देशलाई सफलताको बाटोमा हिँडाउन सक्छ, असफलले कदापि सक्दैन ।

प्रतिक्रिया दिनुहोस्