गायनमा रमाउँदै रामचन्द्र



काठमाडौं ।

चरी रुखमा साँच्चै साथ दिन्छौ र सुख दुःखमाजस्ता दर्जनौँ  गीतका गायक रामचन्द्र चन्द आफ्नो स्वरका कारण दर्शकको मनमा बस्न सफल गायक छन्।

मदाने गाउँपालिका १ अग्लुङ गुल्मीका चन्द स्कुलदेखि नै गीत गाउन रुचि राख्थे। त्यसै कारण उनले विद्यालयका कार्यक्रमदेखि गाउँका उकाली ओरालीलाई कला प्रस्तुति गर्ने माध्यम बनाए। लोकगीत संगीतमा नै अघि बढ्ने र यसमा थप अध्ययन गर्ने सोचले २०५८ सालमा राजधानी आएका चन्दले दुई दशकभन्दा बढी समय लोकगीत संगीतमा बिताएका छन्।

‘गीत संगीतमा रुचि भएकाले संगीत नै पढ्छु भनेर काठमाडौं आएको थिएँ। तर, त्योबेला ललितकला कयाम्पसमा संगीत विषयमा २५ कोटामात्र थियो। कोटा फूल भएकाले पढ्न पाइन। प्रतिभा मुभिजमा विवेक भट्टराईसंग संगीत र लोकबाजा संग्रहालयमा सुशील गौतमका साथ सारंगीबादन सिकेर सुर तालको ज्ञान लिएपछि गीत रेकर्डिङ सुरु गरेँ,’ चन्दले सुनाए।

२०६३ सालमा माया सारै छ बोलको पहिलो लोकदोहोरी गीत बजारमा ल्याएका उनको त्यसपछि चरी रुखमा बोलको गीत ल्याए। जुन लोकप्रिय भयो भने चन्दको चिनारी पनि फराकिलो भयो। त्यसपछि भीरमा रुँदै छु, अबदेखि एक्लै हुम्ला म, गुल्मीको शान,  आमा, अँध्यारो,  फूल फुल्यो केसरी, मेची महाकाली मौरीजस्तै आमा, अँध्यारो, यो मायामा रुन नपरोस, खाली सिउँदो भरम नभन, सानु तिम्रो बाटो हेरम्ला, सोरी पिलिज सोरी, बाँसुरीको धुन, आइयो रोधी,लुकी लुकी भेट्न आएको, सक्छौ भने भुल्दै भुल्दै जानु, तीन फुर्के डोरी, मेरो बाबा खै, सहारालगायत दर्जनौँ गीतमा स्वर दिएका छन्।

कला क्षेत्रलाई सुधार्न र माथि उठाउन कलाकारहरू आफैँमा जिम्मेवार बन्नुपर्छ भन्ने उनी अहिले साधनालाई बिर्सिएर कलाविहीनहरू अगाडि आएको अवस्था देख्छन्। समय फेरिएसँगै गीत संगीतका स्रोता पनि फेरिएकाले सोहीअनुरुप गीत संगीत निर्माण हुँदा स्तरीय गीत संगीत सिर्जनामा ह्रास आएको रामचन्द्रको अनुभव छ।

‘पहिले अडियोको क्यासेट चक्का थियो निश्चित कम्पनीले लगानी गर्ने र अडियोबाटै आम्दानी हुन्थ्यो। पछिल्लो समय दर्शक स्रोतासँगै गीत संगीतको ट्रेन्ड पनि परिवर्तन भएको छ। अहिलेका दर्शकमा जुन भाइरल भयो त्यही सुन्ने, अव्यावहारिक चिजलाई प्राथमिकतामा राख्ने र टाइटल हेरेर के रहेछ त भनेर खोलेर हेर्ने चलन छ,’ उनी भन्छन्।

पाँच वर्षयता संगीत संयोजक पनि गरिरहेका उनी थप्छन्, ‘गायन भनेको पस्किएर दिएको खाना जस्तो हो। तर, संगीत संयोजन भनेको सुरुवाती चरणदेखि सबै संयोजन गर्दैगर्दै आउनुपर्ने भएकाले त्योभित्र डुब्दै जाँदा आनन्द महसुस हुन्छ। तर, झन्झटिलो छ।’

गीत संगीतको क्षेत्रमा अगाडि बढ्दै जाँदा उनले विन्ध्यवासिनी म्युजिक अवार्ड, हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०७८, विशाल राष्ट्रिय लुम्बिनी लोकदोहोरी अवार्ड २०७९, नूर गंगा स्थापित लोक गायन पुरस्कार २०७६, दशैं तिहार फेस्टिभल म्युजिक अवार्ड दसकौ गायक सम्मान २०८०, राष्ट्रिय विशाल मुभिज वर्ष लोकगायक सम्मान २०८० लगायत अवार्ड र सम्मान पाएका छन्।

प्रतिक्रिया दिनुहोस्