सहकारी मार्फत महिला व्यावसायिक बन्दै



स्याङ्जा ।

स्याङ्जाको अर्जुनचौपारीमा रहेको ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी संस्था मार्फत महिलाहरु व्यावसायिक बन्दै गएका छन् । सहकारीले पशुपालन र कृषिमा लगानी बृद्धि गरेपछि महिला व्यावसायिक बन्दै गएका हुन् ।

सहकारीले पशुपालनमा ८ करोड र कृषिमा ९ करोड सहित समग्रमा २६ करोडको लगानी गरेको छ । सहकारी मार्फत १ सय घरपरिवारले ४ हजार बाख्रपालन, ५० घरपरिवारले ५ सय भैसीपालन र १० घरपरिावरले १ सय ५० वटा बंगुरपालन गर्दै आएका छन् । पशुपालन र कृषि पेशा गर्नेमा ९० प्रतिशत महिला आबद्ध छन् ।

लगानीको कुल हिस्सा मध्ये ९० प्रतिशत पशुपालन र कृषि क्षेत्रमा लगानी गरेको सहकारीका अध्यक्ष बोधनारयण रेग्मीले बताउनुभयो । पशुपालन र कृषितर्फको कुल लगानीमा १० प्रतिशत पुरुष र ९० प्रतिशत महिलाहरु व्यावसायिक बन्दै गएको अध्यक्ष रेग्मीले बताउनुभयो ।

महिलाहरु व्यावसायिक बन्दै जाँदा पालिका दुध र मासुमा आत्मनिर्भर बन्दै गएको उहाँले दावी गर्नुभयो । उत्पादित दुध, मासु र तरकारीको स्थानीय बजारमै खपत हुने गरेको छ । ग्रामीण बजारमा खपत हुन नसक्ने वस्तुलाई छिमेकी पालिका पुतलीबजार, भीरकोट, वालिङ र पोखरामा लगेर बिक्री वितरण गरिएको छ । उत्पादनमा जोडिएका व्यावसायिक महिलाहरुको आर्थिक अवस्थामा समेत परिवर्तन आएको महिलाहरुको भनाई छ ।

महिलाहरुले बाख्रापालनबाट खसिबोकासँगै पाठापाठीको बिक्री गरी राम्रो आम्दानी लिन सफल भएका छन् । उनीहरुले मासुका लागि खसिबोका र नयाँ समूहमा आबद्ध सदस्यलाई पाठापाठी बिक्री गर्दै आएका छन् । भैसीपालनमा आबद्ध महिलाले त दिनमै १५ सयदेखि २ हजारसम्म आम्दानी लिने गरेका छन् ।

बंगुरपालनमा आबद्ध महिलाहरु पनि आम्दानीबाट प्रफुल्ल देखिन्छन् । सहकारीले म्यादी बिमा, पशु बिमा, उन्नत जातको बिउबिजन वितरण र पशु स्वास्थ्य कार्यकर्ता मार्फत पशु हेरचाहको सेवा प्रवाह गर्दै आएको छ । सहकारीमा २ सय ५ समूहमा आबद्ध झण्डै ४५ सय सदस्यलाई सहकारी शिक्षा तथा वित्तिय साक्षरता प्रदन गरेको छ ।

सदस्यहरुको आर्थिक र सामाजिक स्तरमा बढ्वा दिन सहकारीकै लगानीमा म्यादी बिमा र पशु बिमा गरेको सहकारीका प्रबन्धक शालिग्राम काफ्लेले बताउनुभयो । “मौसम तथा बेमौसमी तरकारी, फलफुल खेतीका लागि उन्नत जातको बिउबिजन दिने गरेका छौं ।”

प्रबन्धक काफ्लेले भन्नुभयो, “पशु स्वास्थ्यको हेरचाह र उपचार पद्धतिमा सदस्यको क्षमता अभिबृद्धिमा ध्यान दिएका छौं ।” संस्थाले भण्डै ३ करोडको लगानीमा १८ कोठे तीन तलाको व्यावसायिक भवन समेत बनाएको छ । भवनमा बहुउद्देश्यीय ब्यापारिक प्रयोजन र कार्यालय संचालन गरिएको छ ।

पालिकाका ६ वटा वडा मध्ये ५ वटा वडामा प्रत्यक्ष सेवा प्रबाह गर्दै आएको सहकारीले जनाएको छ । महिलाहरु व्यावसायिक बन्दै जाँदा घरपरिवारमा हुने खर्च कटौती र बचतमा टेवा पुग्ने गरेको पुरुष सदस्यहरुको अनुभव छ ।

घरपरिवार बालबच्चमा हुने खर्चमा मितव्यायी हुने र फजुल खर्च नहुने भएपछि आम्दानीमा समेत बढ्दोत्तरी आएको उनीहरुले बताए । पुरुषको तुलनामा महिलाबाट हुने आम्दानी टिकाउ भएको उनीहरुको भोगााई छ ।

प्रतिक्रिया दिनुहोस्